‘एउटै नाउरको सिकार गर्न २३ लाख’

समाजवादको अभियानमा युवाको भूमिका 

नेपाल संसारकै उत्कृष्ट मुलुक हो । भूगोल, प्राकृतिक र सांस्कृतिक हिसाबले विविधतायुक्त छ । कतिपय प्रकृति र संस्कृति प्रेमीहरूले त नेपाललाई ‘स्वर्गको परी’ पनि भन्ने गरेको पाइन्छ । यहाँको विविधता र सौन्दर्यबारे कतिले कविता लेखे, कतिले कथा । यसैको वर्णनमा कतिले दर्जनौँ पुरस्कार पनि प्राप्त गरे । भूगोलका हिसाबले यति सानो मुलुकमा प्रत्येक ३० मिनेटको  फरकमा फरक हावा पानी पाइन्छ । यहाँ अति गर्मी समथर छ । न धेरै गर्मी, न बढी जाडो ठाउँ मध्य पहाडी भाग छ । अति जाडो हिमाली क्षेत्र छ र संसारको सबैभन्दा उँचाइको ठाउँ सगरमाथा यहीँ छ । यो हामीले प्रकृतिबाट पाएको अपार बरदान हो ।

यो देश संसारकै पुराना देशहरूमध्ये एक हो । यो कहिल्यै कसैको उपनिवेश भएन । एउटा गीत छ, ‘यो जन्मदा कयौँ प्रहार आए, साम्राज्य दुई हारे, हारेन सान हाम्रो !’ हाम्रा पुर्खाको सुझबुझ, पौरख र बलिदानबाट खडा भएको, सामाज्यवादीहरूसँग नझुकेको, एक स्वाभिमानी देश हो । यो जन्मदा कतिपय देशहरूको जन्म पनि भएको थिएन । 

यहाँ भाषा विज्ञान र औजारहरूको विकास हुँदा आज विकसित भनिएका देशहरू हाम्रो देशभन्दा कयौँ गुणा पछाडि थिए । हामीले कृषि युग र औजारहरूको विकास गरिरहँदा संसारका कतिपय ठाउँहरूको जनजीवन जङ्गली युगको अवस्थामा थिए । हाम्रो देशले राज्यको स्वरूप प्राप्त गरिरहँदा कतिपय ठाउँमा कविला राज्यको व्यवस्था मात्र थियो । हाम्रा ठाउँमा कतिपय युग अनुसारको आविष्कार भइरहँदा संसारका अहिले अस्तित्वमा रहेका मुलुकहरू ढुङ्गे युगमा नै रहेका थिए । 

यस्तो गौरवशाली पृष्ठभूमिमा भएको हाम्रो देश आज किन यो अवस्थामा छ ? हामीभन्दा कम विकसित मुलुकहरू आज संसारका विकसित र सम्पन्न मुलुक भएका छन् । हामीले सहयोग गरेका मुलुकहरू आज हामीलाई सहयोग गर्ने ठाउँमा पुगेका छन् । हामीबाट सिकेर गएका देशहरू आज हामीलाई नै सिकाउने ठाउँमा पुगेका छन् । आज प्रत्येक नेपालीले गम्भीरतापूर्वक विगतको समीक्षा गर्नु पर्ने भएको छ । 

मौलिक संस्कृतिको धनी देश आज परसंस्कृति अनुकरणको प्रकोपबाट ग्रसित हुन पुगेको छ । नेपालको सामाजिक सांस्कृतिक क्षेत्रलाई नेपालको मौलिकतामा फर्काउनु पर्ने दायित्व हामीमा छ । विकासशील मुलुकमा परसंस्कृति अनुकरणको प्रकोप ज्यादा हुन्छ । त्यसमा पनि यसको प्रभाव युवाहरूमा बढी हुन्ने भन्ने कुरा अध्ययनहरूबाट पुष्टि भएको छ । 

आगामी समयमा हामी यो मुलुकलाई संविधानमा व्यवस्था गरेजस्तो संसारको उत्कृष्ट समाजवादी मुलुक कसरी बनाउन सक्दछौँ ? यो बहसको विषय बनेको छ । यस उद्देश्यमाथि हामीले गम्भीरतापूर्वक समीक्षा गर्दै आगामी बाटो तय गर्नु पर्ने ठाउँमा इतिहासले हामीलाई पुर्‍याएको छ । इतिहासले सुम्पेको यो महान् अभिभारालाई पूरा गर्ने शक्ति भनेको युवा शक्ति नै हो । अहिले नेपालमा आश्रितभन्दा उत्पादक जनशक्ति बढी छ । 

जनसङ्ख्याको झन्डै ४०% भन्दा बढी जनसङ्ख्या उत्पादक शक्तिको रूपमा रहेको छ । यस्तो अवस्था हुनु कुनै पनि देशका लागि आफैमा सकारात्मक सूचक हो । यस्तो अवस्था हुनु देशलाई अगाडि बढाउन जनशक्तिको कमी छैन भन्ने सङ्केत हो । 

यस जनशक्तिलाई व्यवस्थित रूपमा अगाडि बढाउन सक्ने हो भने अन्य मुलुकले आयात गरेझैँ हामीले जनशक्ति आयात गर्नु पर्ने अवस्था छैन । यो शक्तिलाई रोजगारी दिन नसक्दा बेरोजगारीको कारण लाखौँ लाख युवा जनशक्ति बाहिरिएको छ । बेरोजगारी हाम्रो प्रमुख समस्या हो । जननेता मदन भण्डारी भन्नुहुन्थ्यो, ‘बेरोजगार मान्छेभित्र ध्वंसात्मक प्रवृत्ति र राजनैतिक अराजकता रहेको हुन्छ ।’ त्यस कारण बेला बेलामा हाम्रो समाजमा अराजकताका सङ्केतहरू देखिने गरेका छन् । यस समस्याको समाधान गर्ने साधन असल र स्थिर राजनीति नै हो ।

नेपालमा लामो समय लोकतन्त्र प्राप्तिको सङ्घर्षमा लाग्नुपर्‍यो । करिब ७० वर्षको हाम्रो समय अधिकार प्राप्तिको लडाइँमा नै बित्यो । यो बेला कतिपय मुलुकहरूले आर्थिक र प्रविधिको क्षेत्रमा छलाङ मारे । तर हामी नेपाली जनतालाई राज्यको शासन व्यवस्था र राज्यका शासकको विरुद्धमा लडाइँ लड्न प¥यो । हामीले करिब एक शताब्दीको समय अधिकार प्राप्तिको सङ्घर्षमा बितायौँ ।  लामो लडाइँको उपज जनताले चाहेको जस्तो संविधान बनायौँ । राजनीतिक व्यवस्थाको परिवर्तन भएको छ । विकास र स्थायित्वको वाधक, सामन्तवादको नाइके, जनताको अधिकारको मुख्य वाधक शक्ति राजतन्त्र फाल्यौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा जनताको शासन ल्यायौँ । 

अबको हाम्रो अभिभारा भनेको यो मुलुकलाई कसरी समृद्ध बनाउन सकिन्छ ? समाजवाद कसरी प्राप्त गर्न सकिन्छ ? कस्तो खालको समाजवादको मोडल तयार गर्ने ? राष्ट्रिय पुँजीको विकास कसरी गर्ने ? सामन्तवादका अवशेषहरूलाई कसरी समाप्त पार्दै लैजाने ? जनताका आधारभूत समस्यालाई कसरी समाधान गर्ने ? राज्यलाई कसरी बलियो बनाउने ? हुर्कँदै गरेको दलाल पुँजीवादलाई कसरी समाप्त पार्ने ?  जनतालाई राज्यप्रति थप उत्तरदायी कसरी बनाउने ? दक्ष जनशक्तिको उत्पादनमा कसरी जोड दिने ? रोजगारीको प्रत्याभूत कसरी गर्ने ? रोजगारीका लागि विदेशहीन युवाहरूको दरलाई कसरी न्यूनीकरण गर्दै समाप्त पार्ने ? जनतामा झाँगिएको नकारात्मक सोचलाई कसरी सकारात्मक बनाउने ? आदि प्रश्नहरू हाम्रासामु चुनौतीका रूपमा उपस्थित छन् । 

आज व्यवस्था परिवर्तनपछि पनि प्रश्नै प्रश्नले घेरिएका छौँ । सुन्दर यात्राको अगाडि प्रश्नका पहाड छन् । यिनै प्रश्नमा नै हाम्रो सर्वाङ्गीण उन्नतिको अवसर छ । यी प्रश्नहरूको सही समाधान खोज्नु आजको आवश्यकता हो । देशले असल शासन खोजिरहेको छ । जनताले हामीसँग आशा गरिरहेका छन् । जनताको यस्तो आशाको परिपूर्ति सुदृढ राजनीतिबाट मात्र सम्भव छ । राजनीति भनेको सबै नीतिहरूको मूल नीति भएको हुँदा राजनीतिक क्षेत्रलाई थप सुदृढ, अनुशासित, जिम्मेवार, संवेदनशील बनाउन आवश्यक छ । अनि मात्र भन्न सक्नेछौँ, ‘हामीले चाहेको सुन्दर समाजवादको यात्रामा हामीले पाइला चालिसकेका छौँ ।’

समाजवादको बाटो त्यति सजिलो छैन । यो आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको लामो रेस हो । यसमा नथाकीकन लाग्नु पर्ने छ  । यो अभियान लामो र चुनौतीपूर्ण छ र यो युवाहरूको सक्रियताबाट सहज र सम्भव छ । 

युवा कुनै समयमा हुने, कुनै समयमा नहुने भन्ने हुँदैन । यो क्रमिक रूपमा जेनेरेशन टु जेनेरेसन चल्ने प्रक्रिया हो । युवा समाजको उत्पत्तिदेखि नै हिजो पनि थिए, आज पनि छन् भोलि पनि रहिरहन्छन् । युवाहरू ऊर्जाशील र सृजनशील हुन्छन्, हुने अपेक्षा गरिन्छ । युवामा संवेग बढी हुन्छ । यही संवेगलाई सिर्जनामा बदलियो भने समाज परिवर्तन गर्ने संवाहक शक्ति बन्दछ, जसरी सङ्कलित पानीलाईलाई टर्वाइनमा लगाउँदा करेन्ट उत्पादन हुन्छ । 

मुलुक र समाजलाई नेतृत्व गर्ने वर्ग हो युवा । नेपालमा पनि विभिन्न आन्दोलन र विचारहरूको नेतृत्व युवाहरूले गरेको देखिन्छ । नेपालको एकीकरणको सन्दर्भ होस् वा अङ्ग्रेजसँगको लडाइँ, राणा शासन विरुद्धको सङ्घर्ष होस् वा अन्य पराक्रमका सन्दर्भ होस्, युवाहरूबाट नै विजय र सफलता प्राप्त भएको देखिन्छ । यसका अनेकौँ उदाहरण छन् । विभिन्न ऐतिहासिक आन्दोलनहरूमा नेपाली युवाहरूले आफूलाई समर्पित गरेको पाउँछौँ । 

२०२८ सालमा पूर्वी नेपालको झापामा सुरु भएको सशस्त्र सङ्घर्षका योद्धाहरू सबै युवा थिए । शोषण—उत्पीडन र सामाजिक विभेद, विकृति, विसङ्गति विरुद्ध वर्गीय रूपमा विकसित भएको त्यो सङ्घर्ष सामाजिक न्याय र शोषित पीडितहरूको मुक्तिका लागि युवाहरूको वर्गीय लडाइँ थियो ।  जमिनदारहरू किसानहरूले उत्पादन गरेको वस्तु किसानलाई खान लाउन नराखी बुझाउनु पर्ने सम्मको अवस्था थियो । यो हदैसम्म शोषण थियो । यसका विरुद्ध किसानको हितका लागि, किसानहरूको संलग्नतामा यो आन्दोलन अघि बढाइएको थियो । 

यसरी नेपालमा सामन्तका विरुद्धमा वर्गीय सङ्घर्ष भएको थियो । यो सङ्घर्ष, जसलाई झापा सङ्घर्ष अथवा झापा विद्रोह भनेर बुझिन्छ । यस अभियानको नेतृत्व विचारको हिसाबले कम्युनिष्टले गरेका थिए । आन्दोलन क्रमिक रूपमा रूपान्तरण हुँदै आयो । यसरी मानिसले मानिसलाई मारेर मात्र समस्याको दीर्घकालीन समाधान हुँदैन भन्ने चेतनाको विकास पनि त्यसै क्रममा भयो । 

फलतः निरङ्कुश राजतन्त्रको अन्त्य र प्रजातन्त्र प्राप्तिका लागि शान्तिपूर्ण आन्दोलनको विकास भयो । परिवर्तन जनताको जागृत चेतनाको भरमा नै सम्भव छ । शान्तिपूर्ण जनक्रान्तिको माध्यमबाट परिवर्तन सम्भव छ भन्ने मान्यताको पुष्ट्याइँ २०४६ सालको आन्दोलनको सफलताले गर्‍यो । 

मुलुकका सामु समस्या र चुनौती धेरै छन् । तर, अवसर र सम्भावना पनि उत्तिकै छन् । आज पाका देखिएका नेताहरूले विगतमा आफ्नो युवा उमेरमा गरेका जागरण, सङ्घर्ष, त्याग र बलिदानबाट आजका युवाले पनि सिक्नु समाज रूपान्तरणमा लाग्नु आजका युवाहरूको अभिभारा हो । 

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ८ : ५२ बजे