‘विनाशकारी’ मिल्टन आँधी फ्लोरिडातर्फ नजिकिँदै

टाम्पा (अमेरिका), ‘विनाशकारी’ आँधी मिल्टन बुधबार आँधी प्रभावित फ्लोरिडा राज्य नजिक आइपुग्दै गर्दा अमेरिकी अधिकारीहरूले बासिन्दाहरूलाई भाग्न वा मृत्युको जोखिम मोल्न आग्रह गरेका छन् ।

राष्ट्रपति जो बाइडेनले यो श्रेणी ५ को आँधी शताब्दीमा राज्यमा आइपररेको सबैभन्दा भीषण प्राकृतिक विपत्ति हुनसक्ने चेतावनी दिनुभयो ।

धेरै सातामा दोस्रो ठूलो मिल्टन फ्लोरिडाको पश्चिमी सामुद्रिक तटतर्फ बढ्दै गर्दा मानिसहरू घरहरू बन्द गर्न र भाग्न हतारिएका छन् ।

“यो जीवन र मृत्युको कुरा हो, अतिशयोक्ति होइन”, आदेश पाएकाहरूलाई अहिले नै खाली गर्न आग्रह गर्दै बाइडेनले मङ्गलबार ह्वाइट हाउसबाट भन्नुभयो ।

बुधबार बिहान (०९ः०० जिएमटी) सम्म मिल्टन टाम्पाको चार सय ८५ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो र राष्ट्रिय आँधी केन्द्र (एनएचसी) का अनुसार यसले दुई सय ६० किलोमिटर प्रतिघन्टाको अधिकतम निरन्तर हावा उत्पन्न गरिरहेको थियो ।

“मिल्टन विनाशकारी श्रेणी ५ को आँधीका रूपमा रहेको छ”, आँधी बुधाबार राति फ्लोरिडाको खाडी तटमा आउने भविष्यवाणी गर्दै एनएचसीले भनेको छ, “यो फ्लोरिडाका पश्चिम–मध्य तटमा पुग्दा अत्यन्तै खतरनाक आँधीका रूपमा रहने अपेक्षा गरिएको छ ।”

टाम्पा सहरका मेयर जेन क्यास्टरले बासिन्दाहरूलाई चेतावनी दिँदै भन्नुभयो, “यदि तपाईँ खाली गर्नुपर्ने क्षेत्रहरूमध्ये एकमा बस्न रोज्नुहुन्छ भने तपाईँ मर्नुहुनेछ ।”

पत्रकार सम्मेलनमा गभर्नर रोन डेस्यान्टिसले एकपछि अर्को खतरामा परेका सहरहरूको सूची पढ्नुभयो । “मूलतः फ्लोरिडाको सम्पूर्ण प्रायद्वीप भाग कुनै न कुनै प्रकारको निगरानी वा चेतावनीअन्तर्गत छ”, उहाँले भन्नुभयो ।

वायुसेवाहरूले टाम्पा, अर्लान्डो, फोर्ट मायर्स र सारासोटाबाट अतिरिक्त उडानहरू थपेका छन् । राजमार्गहरूमा ट्राफिक जाम भएका थिए भने पेट्रोल पम्पहरूमा इन्धन सकिएको थियो ।

आँधी विशेषज्ञ माइकल लोरीले करिब ३० लाख बासिन्दा भएको टाम्पा क्षेत्रमा मिल्टनको आँधीको वृद्धि ‘दुई साताअघि हेलेन आँधीको समयमा देखिएको आँधीको वृद्धिको स्तरलाई दोब्बर बनाउन सक्छ’ भनी चेतावनी दिनुभयो । हेलेन आँधीले ठूलो बाढी ल्याएको थियो ।

नोभेम्बर ५ मा हुने राष्ट्रपति निर्वाचनअघि आँधी राहत प्रयासहरू राजनीतिक युद्धभूमिका रूपमा देखिँदा बाइडेनले सङ्घीय प्रतिक्रियाको निरीक्षण गर्न जर्मनी र अङ्गोलाको प्रमुख भ्रमण स्थगित गर्नुभयो ।

राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले हेलेन आँधीपछिको आपत्कालीन प्रतिक्रियाबारे निराशाको फाइदा उठाउनुभएको छ । उहाँले विपद् रकम आप्रवासीहरूमा खर्च गरिएको झुटो दाबी गर्दै गलत सूचना फैलाएर यसलाई बढावा दिनुभएको छ ।

बाइडेनले ट्रम्पको टिप्पणीलाई ‘गैर–अमेरिकी’ भनेर आलोचना गर्नुभयो भने उपराष्ट्रपति कमला ह्यारिसले सङ्घीय प्रतिक्रियामा गलत सूचनाको खतराबारे चेतावनी दिनुभयो ।

“यो घटिया छ, के तपाईँलाई अरु मानिसको कष्टप्रति कुनै सहानुभूति छैन ? यदि तपाईँ नेता बन्न चाहनुहुन्छ भने के तपाईँको उद्देश्यको कुनै बुझाइ छैन”, ह्यारिसले लेट–नाइट टक शो होस्ट स्टिफेन कोलबर्टसँगको अन्तरवार्तामा ट्रम्पलाई चुनौती दिँदै भन्नुभयो ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ९ : ३८ बजे