दसैँमा पर्यटन विभाग र बोर्डले सेवा सञ्चालन गर्ने

काठमाडौँ । बडादसैँमा पर्यटकको सेवालाई मध्यनजर गरी पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले सेवालाई निरन्तरता दिने भएको छ । दुवै निकायको अत्यावश्यक सेवा सञ्चालन हुने जनाएको हो ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार विजयादशमीको टीकाको दिन सार्वजनिक विदा परेकाले त्यसदिनबाहेक सबैदिन कार्यालय आधा समय खुल्नेछ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) सहयोग केन्द्र र पर्यटक सूचना केन्द्र सञ्चालन हुनेछ ।

विभागको अत्यावश्यक सेवाका रुपमा रहेको पर्वतारोहण अनुमतिलाई निरन्तरता दिइने विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पर्वतारोहणको सन् २०२४ को शरद् ऋतुको मध्य अवस्थामा चलिरहेकाले आरोहणको व्यस्त याममा दसैँमा आरोहण अनुमति, ‘ब्रिफिङ’ तथा ‘डिब्रिफिङ’ निरन्तर सञ्चालन हुने विभागले जनाएको छ । सार्वजनिक बिदाको दिनसमेत विभागको काम यथावत् रहने जनाइएको छ ।

दसैँलगायत महत्वपूर्ण चाडपर्वसँगै पर्यटकीय याम पनि भएकाले हाल पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ९ : २२ बजे