उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान

काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीहरुलाई नियुक्ति पत्र प्रदान गर्नुभएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोगका पदाधिकारीहरुलाई नियुक्ति पत्र प्रदान गर्दै निजी क्षेत्र, विज्ञहरु र सरोकारवालासँग छलफल गरी अर्थतन्त्रमा गुणात्मक सुधार ल्याउने सुझाव आयोगबाट प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले उक्त सुझावलाई सरकारले कार्यान्वयन गर्ने बताउनुभयो । आयोगका अध्यक्ष रामेश्वर खनालले सबै पक्षसँग परामर्श गरी सरकार, मन्त्री, सरोकारवाला र जनताले अपेक्षा गरेअनुसारको प्रतिवेदन तयार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आयोगका पदाधिकारीहरुले अर्थतन्त्रको समस्या, चुनौती पहिल्याइ ‘पोलिसी डिपार्चर’ गर्ने किसिमको प्रतिवेदन तयार पार्ने बताउनुभएको छ ।

गत सोमबार सरकारले अर्थतन्त्रमा सुधारका लागि सुझाव दिन खनालको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा डा रामप्रसाद ज्ञवाली, अर्थविद् डा विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा कल्पना खनाल रहनुभएको आयोग गठन गरेको थियो । आयोगको कार्यकाल छ महिनाको तोकिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ८ : ५२ बजे