एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न अन्य दल सक्दैनन् : पृथ्वीसुब्बा गुरुङ

बुटवल । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेसँग कसैले वैचारिक प्रतिस्पर्धा गर्न नसक्ने बताउनु भएको छ । 

प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई मंगलबार लुम्बिनीमा सम्बोधन गर्दै उहाँले एमालेबाहेकका दल विचारविहीन रहेको टिप्पणी गर्नु भयो । 
उपमहासचिव गुरुङले एमालेको विचारसँग प्रतिस्पर्धा गर्ने तागत कसैसँग नरहेको दाबी गर्नु भयो। 

उहाँले कांग्रेस र माओवादी नीति, विचार र नेतृत्वमा कमजोर रहेको टिप्पणी गर्नुहुँदै विधिको कुरा गरेर पार्टी विभाजन गरेका माधव नेपाल सबैभन्दा बढी विधि मिच्ने नेताको रूपमा अग्रसर रहेको आरोप लगाउनुभयो । 

एमालेलाई दक्षिणपन्थी अवसरवादबाट जोगाउनु मुख्य चुनौती रहेको गुरुङको भनाइ छ । बैठकलाई सम्बोधन गर्दै एमाले नेता भानुभक्त ढकालले एमाले १०औँ महाधिवेशनपछि एकढिक्का भएर अगाडि बढेको बताउनुभयो ।

राष्ट्रिय सभाका एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले सत्ता स्वार्थमा बनेको पाँच दलीय गठबन्धन धेरै दिन नटिक्ने बताउनुभयो। 

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ४ : ३९ बजे