सबै चाडपर्वहरू सम्बन्धित भूगोलको प्राकृतिक विशेषतासँगै त्यहाँको सामाजिक विकाससँग जोडिएका हुन्छन् । यस्ता चाडपर्वहरूमध्ये नेपाली समाजमा दसैँको विशिष्ट महत्व रहेको छ । नवदुर्गा पूजाको दसौं दिनलाई दसैं भनेर मनाइन्छ ।
नवदुर्गाको प्रारम्भ असोज शुक्ल पक्षको प्रतिपदादेखि हुने गर्दछ । प्रतिपदाको बिहान सिँगारिएकोे र सबै समुद्र र सरिताको जल मानेर भरिएको घडालाई पूजा कोठा या मन्दिरमा स्थापित गरिन्छ । यसलाई घटस्थापना भनिन्छ । पूर्णताको प्रतीक यस घडमा मूलतः नवदुर्गा र अन्य देवीदेवताको आवाहन गरी नौ दिन पूजा गरिन्छ । यो मान्यता हो, यो अध्यात्म हो । यसमा गहिरिँदा जीवन र जगतका अनेकौँ बिम्ब तरंगित हुन्छन् । यसै दिन बेलुकाको अस्ताचलमा देखिने चन्द्रमा हेरेपछि जमरा राखिन्छ ।
जानकारहरू ‘जमरा’ शब्द संस्कृतको ‘यवाङ्कुर’बाट बनेको बताउँछन्, यवाङ्कुर अर्थात् जौका आँकुरा वा टुसा भनिएको हो । नौ दिनसम्म पूजा गरिएको घडासँगै उमारिएको जमरा नै देवीको मुख्य प्रसादका रूपमा दसैँको टीकाको दिन शिर र कानमा सिउरिदिने प्रचलन छ । यस्तो चलन नेपाल र नेपालीहरूमा मात्र हुने गर्दछ । अन्य ‘हिन्दूहरू’मा यस्तो हुँदैन ।
नवदुर्गा पूजा र त्यससँग सम्बन्धित अन्य कर्मकाण्ड अन्यत्रका हिन्दूहरूमा र नेपालीहरूमा उस्तैउस्तै हुन्छ । सप्तमीको दिनलाई हामी फूलपाती भनेर मनाउने गर्दछौँ । पूmलपातीमा गरिने कार्य पनि अन्यत्र र नेपालमा फरक छ । यस दिन बिहान फल, पूmल, नयाँ फलेका सब्जी, उँखु आदि संकलन गर्न दुर्गा मन्दिर, दसैँघर, कोटघरबाट कुमार पुजारीहरू गाउँ–घर, बस्तीमा जान्छन् र त्यसरी संकलन गरिएका फल–पूmल आदि दुर्गा मन्दिर, दसैँघर, कोटघरमा लिएर जान्छन् । यी वस्तु त्यहाँ समर्पित गरिन्छ । यो सबैले बुझिन्छ, तर यसको अर्को पाटो पनि छ । माताको सत्तामा कोही भोको नरहून् भन्ने हिसाबले यस अवसरमा मातृसत्ताका ‘प्रहरीहरू’ घर घरमा निरीक्षण गर्दछन् र खेतीपाती, फलपूmल, सागसब्जी, अन्य अवस्थाबारे जानकारी राख्दछन् र ती विषयमा महामातालाई जानकारी गराउँछन् । यसको प्रक्रियाहरू हेर्दा—बुझ्दा मातृसत्ताको युगमा जीवन व्यवहारको समग्रता यही दसैँमा उनिएको देखिन्छ ।
अहिले पनि सरकारी—सार्वजनिक क्षेत्रमा त्रैमासिक र चौमासिक समीक्षा गरी प्रतिवेदन दिनेलिने गरिन्छ । र, वर्षमा एक पटक (आर्थिक वर्ष) वार्षिक समीक्षा, योजना, स्रोत बाँडफाँट गरिएजस्तै त्यस समयमा पनि यस्तो प्रावधान रहेको देखिन्छ । यसको प्रमाण हो, वर्षमा हुने चार पटक वसन्त, वर्षा, शरद र शिशिरमा हुने नवरात्री । वर्षा (साउन) र शिशिर(पुस)को नवरात्रलाई गोप्य मानिन्छ । वर्षा र शिशिरको तुलनामा वसन्त (चैत) को नवरात्र(चैतेदसैँ)मा अलि बढी र शरद ऋतु (असोज) मा पर्ने यस नवरात्रलाई वर्षको ठूलो नवरात्रको रूपमा वार्षिक महामहोत्सवको रूपमा मनाउने प्रचलन विद्यमान छ । समग्रमा नेपाली विशिष्ठतामा हेर्दा दसैँ कृषि जीवनसँग बढी सम्बन्धित देखिन्छ । नवधान्यको प्रयोग होस्, दूधगोरको प्रयोग होस्, फूल र फलको उपयोग होस्, पूmलपातीको प्रचलन होस् या अन्य, यस पर्वसँग कृषिको प्राधान्यता स्पष्ट हुन्छ ।
जीवन पनि युद्ध नै हो, संघर्ष नै हो । जीवनयुद्धका लागि नयाँनयाँ क्षेत्र, विधि, रणनीति अवलम्बन गरिएको हुन्छ । यात्रामा कोशेढुंगा जस्तै जीवनका पनि केशेढुंगा हुन्छन् । यो दसैँे आफैमा जीवन यात्राको वार्षिक कोशेढुंगा हो । जीवन युद्धका लागि शरीर महत्वपूर्ण छ । यस पर्वमा गरिने पूजापाठको प्रारम्भमा ‘न्यास’ गरिन्छ । न्यास भनेको स्थापना, सुनिश्चितता र विश्वास हो । शरीरप्रतिको विश्वासका लागि गरिने न्यास शरीर विज्ञान र सुरक्षा विज्ञान दुबै दृष्टिले महत्वपूर्ण छ । त्यसपछि भौतिक अवस्थाको महत्व हुन्छ । पाठ प्रारम्भ गर्नुपूर्व गरिने दिशा(दिङ्)न्यास, अङ्गुष्ठादि कर(हात)न्यास, हृदयादि अङ्गन्यास आदि शरीर विज्ञान महत्वपूर्ण छन् ।
अहिलेको चिकित्सा विज्ञानले के कति प्रगति गरेको छ र विषयविज्ञता प्राप्त गरेको छ, अज्ञात छैन । रक्षा विज्ञानको प्रगतिको विषय पनि थाहा पाउन सकिन्छ । मातृयुगमा सुरक्षा तथा स्वास्थ्य रक्षाका लागि गरिएको व्यवस्थाबारे कमैलाई थाहा होला । हरेक वर्ष मनाउने दसैँलाई र यसमा अन्तनिर्हित विषयलाई ध्यान दिने हो भने दसैँको महत्व अझ बढ्ने छ र हामी थप लाभान्वित हुन सकिने छ ।‘नव’ भनेको नौ हो र नयाँ पनि हो । समाजसँग जोडिएको हुनाले यसमा आउने परिवर्तन नै नयाँ हो । ‘नवदुर्गा’
भएर होला, सामाजिक संस्कृतिका ‘नव’—नयाँ नयाँ दृष्टिकोणका ‘दुर्ग’ (किल्लाहरू) पनि प्रकट हुने गरेका छन्, अर्थात् नयाँ नयाँ अन्याय अत्याचारका विरुद्ध नयाँ नयाँ शक्ति विकास भइरहेको छ । यी शक्ति राज्यको नीति, सामाजिक चिन्तन, संरचना र संस्कृतिमा विकसित भएका र भइरहेका छन् । नयाँ र थप नयाँ हुनु परिष्कार हुनु हो । संस्कृति भनेको परिष्कार हो, संस्कारको परिणति हो । नौ (९) को बारेमा बुझ्नुपर्ने अन्य धेरै कुरा छन् ।
शत्रुसँगको युद्ध होस् वा जीवन संघर्ष; संघर्ष बहुआयामिक हुन्छ । यी आयामका प्रतिनिधि देवीहरू नै नवदुर्गा हुन् । देवीहरूका नाम नै यिनका गुण, सामथ्र्य र विशेषता हो । तिनलाई यसरी वर्णन गरिएको छ :—
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी । तृतीयं चन्द्रघण्टेति कूष्माण्डे तु चतुर्थकम् । पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च । सप्तमं कालरात्रिश्च महागौरीति चाष्टमम् । नवमं सिद्धिदात्री च नवदुर्गा प्रकृर्तिताः अथात् शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री यी नै नवदुर्गाका रूपमा प्रसिद्ध छन् । फरकफरक नाम र फरकफरक स्वरूपका नौवटी देवीहरूलाई ‘नवदुर्गा’ भनेर पूजा गरिन्छ । यी सबैका नामको विशिष्ठ अर्थ रहेको छ । यी नामहरू देवीका फरक गुण, फरक विशेषता र फरक शक्तिका प्रतीक हुन् । यी विषयको अन्तर्वस्तु प्रतिको स्वीकारोक्ति र सम्मान नै पूजा हो । यिनीहरूप्रतिको सार्थक जिज्ञासा नै पाठ र कथाको अन्तर्वस्तु हो । तर, अहिले दसैँ मनाउनु भनेको मासु, मदिरा र मिष्ठान्नमा केन्द्रित अपव्यय र आडम्बर प्रदर्शन जस्तो मात्र देखिन्छ । नवदुर्गाको महिमाका दृष्टिले, सांस्कृतिक वैशिष्ठ्यका दृष्टिले दसैँको साह्रै ठूलो महत्व रहेको छ ।
मानिसहरू दसैँको इतिहास खोज्छन्, यसमा जातीय र नश्लीय संलग्ना खोज्दछन् । तर, के माथि वर्णन गरिएका प्रसंगहरू कुनै इतिहासको पुनरावृत्ति गर्न आवश्यक हो र ? के यसका अन्तर्वस्तुहरू कुनै जात र नश्लविशेषका लागि मात्र अनुकूल वा प्रतिकूल छन् र ? छैनन्, सबैका लागि र सधैका लागि उत्तिकै महत्वपूर्ण छन् ।
दस दिनको पर्व भएको र दशमीमा समापन हुने भएकोले दसैँ भनिएको हो । यसका दसै दिन उत्तिकै महत्वपूर्ण छन् । व्यवहारिक कारणहरूले दसै दिन सहभागी हुन नसकिने भएकोले समापनलाई बढी महत्व दिइएको अवश्य हो, दसैँलाई ‘दसौँ दिनको’ मात्र ठान्नु सही हुँदैन । संयोगले दशरथ पुत्र मर्यादा पुरुषेत्तम रामले लंका विजय गरी रावण वध गरेको दिन पनि यही भएको थाहा हुन्छ । यो एउटा संयोग हो । दसैँको एक मात्र विषय यो हुँदै होइन । शास्त्रमाथि विश्वास नगर्ने हो भने न राम, न नवदुर्गा ! तर, शास्त्रमाथि विश्वास गर्दा नवदुर्गाको प्रसंग सत्ययुको हो भने रामको जन्म र कर्मको समय त्रेतायुग हो । त्यसैले यस पर्वलाई रावण वधसँग मात्र जोडेर मनाउनु वा निष्कर्ष निकाल्नु तर्कसंगत देखिँदैन ।
यी देवी शक्तिशाली विजयी योध्दा थिइन् भन्ने जान्न र मनन् गर्नका लागि सातसय श्लोक भएको(सप्तशती, चण्डी) उनै देवीको महिमागानका रूपमा पाठ गरिन्छ, देवीशास्त्र (देवीभागवत)को कथा सुन्ने गरिन्छ । नारीशक्ति, मातृशक्तिको वर्णनसँग जोडिएको यस पर्वलाई अनेकौं बहानामा कमजोर पार्ने, बिथोल्ने, हाम्रो हो र होइनको वहस गरेर बिर्साउन प्रयत्न गरिनु हुँदैन, बरु नारीशक्तिको महिमासँग जोडिएको यो पर्वलाई महिला सशक्तीकरणको इतिहाससँग जोड्दै, थप सशक्तीकरणका लागि प्रेरणापर्वका रूपमा मनाउन सकिन्छ ।
केही मानिसहरूले रावण र रामको युद्धको सन्दर्भलाई नश्लीय युद्धको रूपमा व्याख्या गरी आर्य र अनार्य बीचको युद्ध भएको आर्य रामद्वारा अनार्य रावण मारिएको हुनाले अनार्य भनिनेहरूले दसैँ मान्न नहुने तर्क पनि अघि सार्न भ्याएका छन् । रावण ब्राह्मण थिए र राम क्षत्रिय ! युद्धका दुई पक्ष यिनै हुन् । के ब्राह्मण अनार्य र क्षत्रिय आर्य हुन मिल्छ र ? दुई राज्यका शासकहरूको बिचमा भएको युद्ध, फेरि युद्धको विषय पनि नितान्तै फरक भएको विषयलाई बुझ पचाएको कुरा कसरी सही मान्न सकिन्छ र ? यस्ता अनेकौँ विषय ध्यान दिन आवश्यक छ, भ्रममा रहनु हुँदैन ।
जहिले पनि युद्ध दुई शक्तिका बिचमा हुन्छ । त्यस्तो युद्धमा होमिएकाहरू कुन जातका मारिन्छन्, कुन जातकाले मार्छन् भन्ने कुरा सामान्य हो । जातीय युद्धमा मार्ने र मारिने जातको कुरा भिन्नै हो । चाहे देवीले गरेको युद्ध होस् वा रामले गरेको, यी युद्ध कुनै जातीय आधारमा भएका युद्ध होइनन् । त्यसैले यो दसैँलाई कुनै जातविशेषसँग जोड्न र छुट्याउन उचित देखिँदैन ।
दसैँलाई हामीले ‘बडादसैँ’ भन्दैआएका छौँ । ‘बडा’ भनेको ठूलो भनिएको हो । ठूलो महत्व र महिमाका हिसाबले हुन्छ । यसको स्वीकार्यताको हिसाबले हुन्छ । दसैँको सन्दर्भ र सामाजिक स्वरूप हेर्दा यसलाई बडा वा ठूलो भन्न सकिने त छँदैछ, आपूmभन्दा ठूला—बडासँग टिका–जमरा थापी आशिर्वाद लिने भएको हुनाले पनि यसलाई ‘बडा’सँग जोडिएको स्पष्ट हुन्छ । यसका अन्य आयामहरू पनि छन्, जो नेपाली समाजको विशिष्ठतासँग सम्बन्ध राख्दछन् । जतिबेला देवी र असुरहरूको युद्ध भएको थियो, जतिबेला राम—रावणको युद्ध भएको थियो, त्यतिबेला अहिले प्रचलनमा रहेका ‘धर्महरू’ थिए र ? थिएनन् । यी सबै कारणहरूले पनि यस पर्वलाई ‘हिन्दूहरूको’ भनेर सीमिति गर्न आवश्यक देखिँदैन । यो नेपालीहरूको साझा पर्व हो, नेपाली विशेषताको पर्व हो । यो विजया दशमी मात्र पनि होइन । यो ‘बडादसैँ’ हो । नेपाली समाजले दसैँलाई कुनै खास युद्धको विजय दिवसका रूपमा स्वीकार गरेको छैन भन्ने भन्ने विषयको चर्चा माथि नै गरिसकिएको छ ।
अन्यत्रका हिन्दूहरूमा हुँदै नभएको प्रचलन नेपाली समाज छ । नेपालमा यस अवसरमा परदेशबाट आफन्तहरू आउने, परिवारसँग मिलेर मिठोचोखो खाने, रमाउने, जेष्ठ—श्रेष्ठ बुढापाकाहरूलाई सम्मान गरी आशिर्वाद थाप्ने हो; साथै नवदुर्गाको पूजा गरी, कथा सुनी ज्ञान, भक्ति र योगको माध्यमबाट सार्थक जीवनको लागि पुनःताजगी प्राप्त गर्नु हो । नारीशक्तिको उच्च सम्मान र यसप्रतिको प्रतिबद्धता नवदुर्गाको पूजा हो । बुढापाका मान्यजनबाट प्राप्त हुने जीवनोपयोगी इतिहास आदिको र ज्ञान आशिर्वाद हो । कर्तव्यप्रतिको निष्ठा र समर्पण भक्ति हो । ज्ञान र निष्ठालाई कर्मसँग जोड्नु योग हो । देवीको नाममा आयोजित पर्वमा यति धेरै उपलब्धिको संगमको रूपमा मनाइने दसैँलाई ‘समस्त हिन्दूहरूको महान् चाड’ अझ ‘विजया दशमी’ मात्र भनेर हुँदैन; यसलाई अनेकौँ ठूल्ठूला विशेषता समेटिएको, ठूलो महत्व दिइएको ‘बडादसैँ’ मातृशक्तिको महिमा आत्मसात गरिएको ठूलो सामाजिक पर्व हो— बडादसैँ ।
राम—रावणको युद्ध र रामको विजयको महत्व छ, तर बडादसैँसँग यसको सम्बन्ध छैन । ‘सत्ययुग’ नवदुर्गाको विषयलाई ‘त्रेतायुग’को कथामा सीमित पार्नु युक्तिसङ्गत देखिँदैन । त्यसैले रावणवधको ‘विजया दशमी’ होइन, मातृशक्तिको विजयी परम्पराको ‘बडादसैँ’ अर्थपूर्ण छ ।
घनश्याम कोइराला, संस्कृति अध्येता तथा अभियन्ता ।
प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार ६ : ४७ बजे
प्रतिक्रिया