मधेसमा चाडपर्व लक्षित सुरक्षा योजनामा छ हजारभन्दा बढी प्रहरी परिचालन

महोत्तरी । चाडपर्वलाई सुरक्षित बनाउनका लागि मधेसमा पर्वलक्षित सुरक्षा योजनामा छ हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिने भएको छ ।

दसैँ, दीपावली (तिहार) र छठ पर्वसम्मको सुरक्षा योजना बनाएको नेपाल प्रहरीको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले यस अवधिमा छ हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन हुने जनाएको हो ।

चाडपर्वमा भीडभाड बढ्ने र मान्छेको व्यस्तताबीच चोरीतस्करी, सडकमा हुने सवारीको चाप, मठमन्दिरमा हुने भीड, कालोबजारी, जुवातास, पकेटमारी र मूर्ति विसर्जनलगायत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको मधेस प्रहरी कार्यालयका प्रमुख तथा नायब प्रहरी महानिरीक्षक लीलामणि आचार्यको भनाइ छ ।

यसैगरी, सुरक्षा योजनामा मेला उत्सव, सरकारी कार्यालय, बैङ्कहरुमा हुने भीड, यातायात सुरक्षा, लागुपदार्थ दुव्र्यसन तथा ओसारपसार तथा सांस्कृतिक कार्यक्रममा हुनसक्ने झडपसहितका क्षेत्र मधेस प्रहरीले चुनौतीका रुपमा पहिचान गरिएको छ ।

मधेस प्रहरी कार्यालयले चाडपर्व लक्षित गर्दै बनाएको योजना यही असोज १५ गतेदेखि सुरु भइसकेको छ । यो योजना छठ पर्वपछि कात्तिक २५ गतेसम्म रहने नायब प्रहरी महानिरीक्षक आचार्यले स्पष्ट पार्नुभयो ।

प्रदेशका आठवटै जिल्लामा पहिले कार्यरत जनशक्तिमा प्रतिजिल्ला एक हजार चार सय प्रहरी थपिएका मधेस प्रहरी कार्यालयले जनाएको छ । यसरी खटिने प्रहरीको सङ्ख्या छ हजार तीन सय ९४ हुने जनाइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  २ : ३८ बजे