बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर

गोरखा। प्राकृतिक सौन्र्दयता र वीरताको गाथाले मात्र होइन बारपाकको पहिचान यहाँको परम्परा र मौलिकतासँग पनि गाँसिएको थियो । जगदेखि छानोसम्म ढुङ्गा र काठले बनेका एकहजार तीन सय बढी एकै स्वरुपका घरहरु जोडिएर बनेकाले बारपाकको मौलिकता र छुट्टै चिनारी थियो ।

पूरै गाउँलाई एकै ठाउँबाट सजिलै दृश्यावलोकन गर्न सकिने बारपाकका प्रत्येक घरको आँगनमा एकै प्रकृतिका ढुङ्गा छापिएका हुन्थे । सबैका आँगनको पर्खाल एउटै स्वरुपका ढुङ्गाले उठाइएका हुन्थे । बारपाकमा घरको गारो उस्तै, घरको छाना कालो ढुङ्गाले छाएका थिए । तस्बिरमा हेर्दा कुनै कलाकारले कोरेको चित्र जस्तै देखिने बारपाक गाउँमा अहिले ढुङ्गाका घर देख्न मुस्किल पर्छ ।

विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले ढुङ्गाका अधिकांश घर एकै झट्कामा भत्काइदियो । घर भूकम्पले भत्काएपछि अधिकांशले परम्परागत शैलीको घर बनाउने कल्पनासम्म गरेनन् । ढुङ्गाले बनेका घर भुकम्प प्रतिरोधी हुँदैन भन्ने धेरैको मनमा प-यो ।

उनीहरुले कङ्क्रिटको प्रयोग गरेर आधुनिक घर बनाए । परम्परागत घर बलियो नहुने लागेकैले कङ्क्रिटको प्रयोग गरी घर बनाएको स्थानीय सुशीला घले बताउनुहुन्छ । ‘‘बारपाकको चिनारी दिने पुरानो शैलीका घर बनाएर बस्न मन नभएको होइन तर फेरि ठूलो भूकम्प आयो भने सुरक्षित नहुने रहेछ जस्तो लाग्यो । पुरानो घरको मौलिकतालाई सम्झिरहेका छौँ, तै पनि हामीसँग कुनै विकल्प भएन’’, उहाँ भन्नुहुन्छ ।

अहिले बनेका घर सुरक्षित भएपनि आधुनिक घरसँगै स्थानीय मौलिकता, सामाजिक, पारिवारिक सम्बन्ध कमजोर बनेको महसुस स्थानीयलाई छ । ‘‘भौगोलिक बनावटअनुसार स्थानीयस्तरमा पाइने सामग्रीबाट बनेको घर नै उपयुक्त हुने रहने छ भन्ने लाग्छ । आधुनिक घर चिसो हुँदा स्वास्थ्यमा असर परेको अनुभूति छ,’’ घलेले भन्नुभयो ।

भूकम्पको कहाली लाग्दो क्षति सम्झँदा कतिपयलाई त्यतिबेला अहिलेको जस्तो पक्की घर भइदिएको भए धेरैले ज्यान गुमाउनपर्ने थिएन की भन्ने लाग्छ । अर्का स्थानीयवासी सुकबहादुर गुरुङ भन्नुहुन्छ, ‘‘भूकम्पका बेला अहिले जस्तो पक्की घर भए धेरैको ज्यान बच्ने थियो कि । मौलिकताभन्दा सुरक्षित हुने घर नै राम्रो होला ।’’

भूकम्पपछि बारपाकमा निजी घर पुनःनिर्माण सकिएको छ । छिटपुट बाहेकले परम्परागत घर बनाएका छैनन् । थोरैले बनाए पनि ढुङ्गाको छानोको सट्टा टिनको छानो राखेका छन् । भूकम्पले बारपाकको मौलिकता र चिनारी खोसेको छ ।

पुरानो शैलीका घरमा अगाडि र पछाडि दुवैतर्फ आँगन थिए । भुइँ तल्लाको बीच भागमा अँगेना हुन्थे । अहिले बनेका सिमेन्टका घरमा चुल्हो कहाँ राख्ने भन्ने नै निश्चित छैन । परम्परागत घरलाई पनि भूकम्प प्रतिरोधी बनाउन सकिन्छ भन्ने बुझाउन नसक्दा बारपाकलाई पुरानै शैलीमा पुनःनिर्माण गर्न नसकिएको केही स्थानीयको मत छ ।

पुनःनिर्माणका क्रममा मौलिकता जोगाउने ठोस योजना नबन्दा समस्या भएको बारपाक सुलिकोट गाउँपालिका–१, का वडाध्यक्ष धनबहादुर घले बताउनुहुन्छ । ‘‘बाउबाजेले स्थापना गरेको पुरानो डिजाइनको घरहरु जोगाउन सकेनाँै । भूकम्पपछि परिवर्तनसँगै चल्नुपर्छ भन्ने धेरैको कुरा भयो । कतिपयले पुराना चिनारी जोगाउनुपर्छ नभनेका होइनन् तर पुनःनिर्माण गर्दा मौलिक चिनारी बचाउन सकिएन’’, उहाँले भन्नुभयो ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) सँगको समन्वयमा बारपाकलाई पुरानै शैलीमा फर्काउन प्रयास गरिएपनि सफल हुन सकेन । वडाध्यक्ष घले भन्नुहुन्छ, ‘‘बारपाकमा पुराना डिजाइनका घर कहीँ छैन् । अब बारपाक परम्परागत बारपाक रहेन । अब सार्वजनिक ठाउँमा संरचना निर्माण गर्दा पुरानै मोडलमा निर्माण गर्ने योजना छ ।’’

बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले ढुङ्गाको पुराना घर नबने पनि बारपाकको सुन्दरता नहराएको बताउनुभयो । ‘‘बारपाकले नयाँ स्वरुप र सुन्दरता पाएको छ, पुराना शैलीका घर नबने पनि पुनः निर्माणले यहाँको सौन्र्दयता बढाएको छ । थुप्रै पर्यटकीय आर्कषणले साँच्चै बारपाक सिँगारिएको छ’’, उहाँले भन्नुभयो ।

बारपाक लाहुरेहरुको गाउँ हो । दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रसको उपाधि प्राप्त गर्नुभएका गजे घलेको गाउँ भएकाले बारपाकको इतिहास गर्विलो छ । बुद्ध हिमालको काखमा समुद्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित बारपाकको कला, संस्कृति, परम्परागत रीतिरिवाज, वीरता र प्राकृतिक सौन्दर्यता विश्वसामु चिनाउन पहल गर्नुपर्नेमा स्थानीयको जोड छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ६ : ४१ बजे