खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

बाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढिपहिरोका कारण देशभर पु-याएको क्षतिबारे सातवटै प्रदेशका मन्त्री तथा सचिवसँग छलफल गर्नुभएको छ ।

मन्त्री खड्काले आज सातै प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र सचिवसँग ‘भर्चुअल बैठक’ गरी बाढीपहिरोले पु¥याएको क्षतिको अवस्था र अब गर्नुपर्ने कामका बारेमा जानकारी लिनुभएको हो । बैठकमा मन्त्री खड्काले देशभर परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा अर्बौं रुपैयाँको क्षति पुगेको भन्दै यसलाई पुनःनिर्माणका लागि तीनवटै सरकार सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

“हामीले अहिले स्वास्थ्य उपचार, खानेपानी, विद्युत्को उपलब्धता र फूल खेल्न लागेको खेतीलाई सिँचाइको अस्थायी व्यवस्था गर्नुपर्नेछ, यसका लागि स्थानीय तहसँग समन्वय गरेर सबै प्रदेश लाग्नुहोस्, केन्द्र सरकारबाट हुने सहयोग तपाईंहरुलाई हुन्छ,” उहाँले भन्नुभयो ।

मन्त्री खड्काले छरिएर रहेको बजेटलाई एक ठाउँमा राखेर खर्च गर्नसमेत सबै प्रदेश सरकारलाई आग्रह गर्नुभयो । उहाँले दुई ठूला पार्टी मिलेर मजबुद सरकार बनेकाले जनतालाई अनुभूति हुने खालको काम गर्नुपर्ने बताउनुभयो । खर्च गर्न नसकेको बजेटलाई रकमान्तरण गरेर आयोजना सम्पन्न गर्न लाग्नुपर्ने उहाँको भनाइ थियो ।

बैठकमा ऊर्जा सचिव सुरेश आचार्यले बाढीपहिरोका कारण नयाँ आयोजना सम्पन्न गर्न कठिनाइ भइरहेको भन्दै पुराना आयोजना पुनः निर्माण र सकिन लागेका आयोजनालाई सम्पन्न गर्न सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले अर्थ मन्त्रालयले भर्खरै विपद् व्यवस्थापनका लागि रु पाँच अर्ब बजेट निकासा गरेको भन्दै उक्त बजेटले तत्कालै नगरी नहुने समस्यालाई समाधान गर्न सरकार लाग्ने बताउनुभयो ।

बैठकमा कोशी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एकराज कार्कीले यही असोज १० देखि १२ गतेसम्म आएको बाढीले कोशी प्रदेशको सिँचाइ र तटबन्धनमा रु ९७ करोड ६४ लाख क्षति पु¥याएको बताउनुभयो । मधेस प्रदेशका मन्त्री शेषनारायण यादवले ठूला नदीमा आएको बाढीका कारण मधेस प्रदेशमा सिँचाइ र तटबन्धनतर्फ रु ७४ करोड ९५ लाखको क्षति पुगेको बताउनुभयो ।

बागमती प्रदेशका मन्त्री श्याम खड्काले उक्त बाढीपहिरोबाट बागमती प्रदेशमा सिँचाइ र तटबन्धनतर्फ रु एक अर्ब ९७ करोड क्षति पुगेको बताउनुभयो । गण्डकी प्रदेशका मन्त्री फणिन्द्र देवकोटाले तीन दिनको वर्षाले आएको बाढीपहिरोले गण्डकी प्रदेशको सिँचाइ र तटबन्धनतर्फ रु २३ करोड ६८ लाखको क्षति पुगेको उल्लेख गर्नुभयो ।

लुम्बिनी प्रदेशका मन्त्री सीता शर्माले बाढीपहिरोले लुम्बिनी प्रदेशका १२ जिल्लामा रु ४४ करोड ६६ लाखको क्षति पुगेको बताउनुभयो । यस्तै, कर्णाली प्रदेशका मन्त्री विजया बुढाले यस वर्ष कर्णालीभित्र बाढीपहिरोका कारण सिँचाइ र तटबन्धनको क्षेत्रमा रु ३३ करोड १३ लाख बराबरको क्षति पुगेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशका मन्त्री सुरेन्द्रबहादुर पालले सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोका कारण रु ४७ करोडको क्षति पुगेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १० : ३५ बजे