बाढीको स्थितिमा सुधार

‘ज्येष्ठ नागरिकका समस्या बुझिदिनुस्’

बागलुङ । ज्ञान, सीप र अनुभवका खानी ज्येष्ठ नागरिकको सम्मानजनक जीवनयापनमा राज्य सहयोगी बन्नुपर्ने आवाज उठेको छ । प्रथम ज्येष्ठ नागरिक राष्ट्रिय दिवसका अवसरमा यहाँ आयोजित समारोहमा बोल्ने वक्ताले अहिले पनि ज्येष्ठ नागरिकका हकअधिकार कुण्ठित भइरहेको बताएका हुन् । 

ज्येष्ठ नागरिकका पक्षमा राज्यले ल्याएका ऐन, कानून पनि प्रभावकारी नभएकामा उनीहरुको गुनासो छ । ज्येष्ठ नागरिक जिल्ला सङ्घका आजीवन सदस्य चयनकुमारी श्रेष्ठले राज्य, समाज र परिवारले ज्येष्ठ नागरिकका समस्या बुझिदिन आग्रह गर्नुभयो ।

“देउता समान ज्येष्ठ नागरिक परिवारबाट एक्लिँदै गएका छन्, राज्यले प्रदान गर्ने सेवा, सुविधा, छुट र आरक्षण पनि सहीरुपमा कार्यान्वयन हुन सकेको छैन”, सङ्घद्वारा आयोजित समारोहमा उहाँले भन्नुभयो । श्रेष्ठले ज्येष्ठ नागरिकले अस्पतालमा समेत लाममा उभिएर सेवा लिनुपर्ने स्थिति रहेको दुःखेसो पोख्नुभयो ।

नेपाल सरकारका पूर्वकर्मचारी ७५ वर्षीय बुद्धिबहादुर केसीले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि मासिक भत्ता दिइए पनि त्यो प्राप्त गर्ने प्रक्रिया भने ज्येष्ठ नागरिकमैत्री नभएको बताउनुभयो । “भत्ता बुझ्न लठ्ठी र अरुको सहायताले बैंक धाउनुपर्ने बाध्यता छ, ज्येष्ठ नागरिक कति त हस्ताक्षर गर्न पनि नजान्ने हुनुहुन्छ, उपयुक्त नीति र विधि बनाएर उहाँलाई घरघरै भत्ता पु¥याइदिने व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

स्थानीय तहहरुले त्यसको प्रबन्धका लागि पहल लिनुपर्ने केसीको सुझाव छ । उमेर, मानसिक, शारीरिक आदि कारण बुढ्यौली अवस्था संवेदनशील हुने भएकाले ज्येष्ठ नागरिकको जीवनयापनका लागि उचिव वातावरण चाहिने उहाँको भनाइ छ ।

“जीवनको उत्तरार्धमा चाहिने भनेको आनन्द र शान्ति हो, हाम्रा ज्येष्ठ नागरिकका लागि त्यसैअनुसार वातावरण बनाइदिनुपर्छ”, केसीले भन्नुभयो । ज्येष्ठ नागरिकमा पनि एकल पुरुष र एकल महिलाको अवस्था झनै कष्टपूर्ण हुने गरेको उहाँले बताउनुभयो ।

बुढ्यौली उमेरमा खुसीसाथ स्वस्थ, सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउनु ज्येष्ठ नागरिकको अधिकार भएको सङ्घका उपाध्यक्ष चिरञ्जीवी श्रेष्ठले बताउनुभयो । कानूनमा धेरै कुरा लेखिएको भए पनि त्यो त्यसमै सीमित भएको उहाँको गुनासो छ ।
    
सरकारले २०६३ मा ज्येष्ठ नागरिक ऐन र २०६५ मा नियमावली बनाई ज्येष्ठ नागरिकका हक सुरक्षित गरेको छ । सङ्घले ऐनको व्यावहारिक कार्यान्वयनका लागि राज्यलाई रचनात्मक दबाब दिँदै आएको छ । ऐनमा ज्येष्ठ नागरिकले राज्य र सार्वजनिक सेवा क्षेत्रमा पाउने सेवा, सुविधा र छुटको सुनिश्चितता गरेको छ । सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको व्यवस्था भए पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन ।

औषधोपचारमा छुट दिने भनिए पनि सबै अस्पतालमा त्यो कार्यान्वयनमा छैन । अस्पतालमा ज्येष्ठ नागरिकका लागि छुट्टै श्ययाकोसमेत व्यवस्था गर्नुपर्ने ऐनमा उल्लेख छ । ६० वर्ष पुगेपछि मानिस ज्येष्ठमा पर्ने हुँदा त्यही बेलादेखि नै सामाजिक सुरक्षा भत्ता दिनुपर्ने माग गर्दै आएका छन् ।

अहिले ७० वर्ष नाघेकाले मात्र सामाजिक सुरक्षा भत्ता पाउँछन् । ज्येष्ठ नागरिकको सामाजिक, सांस्कृतिक, आर्थिक अवस्थामा सुधार ल्याउन विद्यमान ऐन, कानूनको परिपालनासँगै समाजका सबैपक्ष जिम्मेवार बन्नुपर्ने सामाजिक विकास कार्यालयका प्रमुख डम्बर जिसीले बताउनुभयो ।

उहाँले ज्येष्ठ नागरिकको सबालमा राज्य संवेदनशील रहेको उल्लेख गर्नुभयो । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले ज्येष्ठ अवस्था मानिसको विशेष अवस्था भएकाले सोहीअनुसारको खानपान, आहारविहार र स्याहारसुसार चाहिने बताउनुभयो ।

उहाँले सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमालगायतका कार्यक्रममार्फत सरकारले ज्येष्ठ नागरिकको हित प्रवद्र्धनमा टेवा पु¥याइरहेको बताउनुभयो । छुट, आरक्षणलगायतका सेवा, सुविधाबाट ज्येष्ठ नागरिकलाई बञ्चित गर्न नहुने उहाँको भनाइ छ । नगरले ज्येष्ठ नागरिक लक्षित कार्यक्रम ल्याएर माग सम्बोधन गर्ने प्रयास गरिरहेको नगरप्रमुख पौडेलले बताउनुभयो ।

सङ्घका अध्यक्ष लालचन्द्र राजभण्डारीले जिल्लाका १० वटै स्थानीय तहमा सङ्गठन विस्तारको योजना रहेको सुनाउनुभयो । उहाँले यसअघि ज्येष्ठ नागरिकलाई लठ्ठी प्रदान गर्ने, उपचारमा सहयोग, तालिमलगायत कार्यक्रम गरिएको बताउनुभयो । सङ्घले यस वर्ष ज्येष्ठ नागरिकलाई झोला, टर्च लाइट र छाता प्रदान गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १ : ३१ बजे