विद्यार्थीको सङ्ख्या बढ्नु र अङ्ग्रेजी भाषाको माध्यमबाट पढाइ हुनुलाई उपलब्धि ठान्ने मनोविज्ञानका कारणले एकातिर विद्यार्थीहरूको इतिहास र भावनालाई नजरअन्दाज गरिएको छ भने अर्कोतिर नागरिक विदेश पलायन बढाउन पनि सघाएको छ । यो खालको अभ्यासले शिक्षा व्यवस्था मात्र ध्वस्त बनाएको छैन, देश पनि ध्वस्त बनाउँदै छ । तर हामी सरोकारवालाहरूको ध्यान बिग्रँदो शिक्षा व्यवस्थातर्फ जान सकेको छैन ।
यदि शिक्षामा प्रयोग गरिने भाषाका कारणले सिकाइ उपलब्धि बढ्ने र विद्यार्थीहरूको विदेशिने दर घट्ने स्थिति बन्दैन भने हामीले खराब शिक्षा व्यवस्थामा लगानी गरिरहेका छौँ भनेर स्वीकार गर्नुपर्छ । आज अङ्ग्रेजी भाषाका माध्यमबाट पढाइ हुँदा विद्यालयहरूमा विद्यार्थी सङ्ख्या बढेको समाचार भोलि देशका लागि समस्या बन्न सक्दछ । त्यसको लक्षण अहिले नै देखिन थालेको छ ।
हाम्रो शिक्षा नीति मात्र होइन, दर्शन र उद्देश्यहरूमा नै त्रुटि छ । जसले गर्दा देशमा शिक्षित र साक्षरताको प्रतिशत बढ्दा पनि त्यसको अनुपातमा आर्थिक तथा सामाजिक प्रगति हुन सकेको छैन । शिक्षाले देशको परिस्थिति र नागरिकको मनस्थिति सधैँ सकारात्मक र रचनात्मक बनाउँदै उसलाई देशभित्रै सेवा तथा उत्पादनसँग जोड्न सक्नुपर्छ ।
यसका लागि विद्यार्थीको भावना, इच्छा र क्षमतालाई शिक्षा व्यवस्थाले उपयोग गर्न सक्नुपर्छ । तर नीतिगत त्रुटि र खराब शिक्षा व्यवस्थाका कारणले विद्यार्थीको भावना, इच्छा र क्षमतालाई प्रयोग गर्न सकेको छैन । त्यसैले त समृद्ध नेपाल, सुखी नेपाली बनाउने राष्ट्रिय सङ्कल्प नारामा मात्र सीमित हुन पुगेको छ ।
शिक्षाले हरेक नागरिकको पहिचान अर्थात् भाषा, संस्कृति, धर्म र राष्ट्रिय चिनारी जोगाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ । हामीले बुझ्नुपर्छ, नेपाल समृद्ध, नेपाली खुसी र सम्मानित बनाउने कुरा हामीले हाम्रो सामर्थ्य कुन माटोमा लगाउँछौँ भन्ने नीति, अभ्यास र संस्कृतिले निर्धारण गर्दछ । शिक्षालयहरूमा पढ्ने, लेख्ने माध्यम भाषाहरू विद्यार्थीहरूको इतिहास र भावनासँग जोडिएको हुनुपर्छ ।
यदि त्यो इतिहास र भावनालाई शिक्षामार्फत सम्वद्र्धन गरिएन भने विद्यार्थीलाई आफ्नोपन र देशसँग जोड्न शिक्षामा गरेको लगानीले कुनै सहयोग गर्दैन । अनि त उनीहरू परदेशिने मनोविज्ञानका साथ तयारीहरू गर्न थाल्दछन् । यसले एकातिर राज्य र अभिभावकको लगानी खेर गइरहेको छ भने अर्कातिर देशमा जनशक्तिको अभावले विकास निर्माणका कामहरू अपेक्षित रूपमा हुन सकेको छैन ।
व्यक्तिको भावना र बुझ्ने शक्तिले मिलेर काम गर्नका लागि शिक्षामा भाषाहरूको प्रयोग सन्तुलित रूपमा हुनुपर्छ । जब विद्यार्थीका भाषा तथा भावनाहरू शिक्षामा प्रयोग हुन थाल्दछन् । विद्यार्थीका क्षमताहरू स्वाभाविक गतिमा बढ्न थाल्छ । अनि उनीहरू देशभित्रै आफ्नो क्षमताहरू प्रयोग गर्न रमाउँछन् अर्थात् नागरिक पलायनको दर घट्दै जानेछ । पाउलो फेरे भन्छन्, “यदि कुनै पनि शिक्षित व्यक्तिले समाज रूपान्तरणमा सकारात्मक भूमिका खेल्न सक्दैन भने त्यो व्यक्ति साँचो अर्थमा शिक्षित हुनै सक्दैन ।” हाम्रो सन्दर्भमा यसलाई हेर्ने र बुझ्ने हो भने नेपालको शिक्षा व्यवस्थाले समाज रूपान्तरणमा सकारात्मक भूमिका खेल्ने नागरिक तयार गर्न नै सकेको छैन ।
विद्यार्थीको भाषासँग उसको भावना जोडिएको हुन्छ। यदि त्यो भावनालाई शिक्षामा प्रयोग गर्ने वातावरण बन्दैन भने उ देशसँग आत्मीय र भावनात्मक रूपमा जोडिन सक्दैन। अनि त उ परदेशीने र उतै पलायन हुने योजनाका साथ मानसिक रूपमा तयार हुन्छ । त्यसलाई हामीले गलत व्याख्या गरेर वैश्विक नागरिक बन्दैछ भन्दैछौं । जब कि ऊ सदाका लागि देशबाट पलायन हुँदैछ र उतैको अङ्गीकृत नागरिक बन्दैछ ।
हरेक बच्चामा असीम क्षमता हुन्छ । जब हामीले उनीहरूको सिकाइ यात्रालाई सहयोग गर्छौँ । हामी ती क्षमता र सम्भावनाहरूलाई प्रकट हुन दिन्छौँ । शिक्षामार्फत आवश्यक सीप र क्षमताहरू विकास गरेर उनीहरूले आफ्नो जीवन सफल बनाउँदै देशका लागि असल नागरिक पनि बन्छन् । यसका लागि शिक्षाको दर्शन, नीति र प्रणालीमा पुनरावलोकन गर्दै पूर्वी दर्शनको जगमा शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्नुपर्छ ।
विद्यालयमा मातृभाषा प्रयोग गरेको कारण देखाएर बालबालिकालाई दण्डित गर्न पाइँदैन र हुँदैन । किन भने हाम्रो संविधानले सबै बालबालिकाहरूलाई आफ्नै मातृभाषामा पढ्ने, लेख्ने मौलिक हक सुनिश्चित गरेको छ । फेरि मातृभाषाका माध्यमबाट शिक्षाको सुरुवात गर्दै थप भाषाका माध्यमबाट पठन—पाठन गर्ने अवसर पाएका बालबालिकाहरूको शैक्षिक उपलब्धि अन्य बालबालिकाहरूको भन्दा विशिष्ट पनि हुन्छ । यो यथार्थलाई मनन गरेर समावेशी भाषिक नीति बनाउँदै त्यसलाई व्यवस्थित र सन्तुलित रूपमा कार्यान्वयनमा लैजानुपर्दछ ।
भाषिक नीति र नयाँ शिक्षा व्यवस्था नबनुन्जेल निम्न उपायहरू अपनाएर मातृभाषालाई प्रयोग गर्न सकिन्छ :
- पाठ्यक्रममा जे जस्तो व्यवस्था भएता पनि पूर्व प्राथमिक तथा प्राथमिक तहको सुरुका कक्षाहरूमा शिक्षकले विद्यार्थीहरूको घरको भाषा अर्थात् मातृभाषा प्रयोग गरेर पठनपाठन नियमित गर्ने ।
- शिक्षकले विद्यार्थीहरूलाई घरको भाषा अर्थात् मातृभाषामा बोलचाल र प्रश्न गर्ने अवसर उपलब्ध गराउने ।
- प्राथमिक तहका विद्यार्थीहरूलाई मातृभाषाका माध्यमबाट पठन—पाठन गराउने व्यवस्था गर्ने ।
- शिक्षकले कक्षा कोठामा भएका भाषिक विविधतालाई प्रयोग गरेर बहुभाषिक कक्षा सञ्चालन गर्ने ।
- कक्षाकोठामा शिक्षकले विभिन्न भाषाका कथा, कविता र अन्य बाल साहित्यहरूलाई थप सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्ने ।
- सम्भव भएसम्म विद्यालयले भाषा पढाउने बेग्लै शिक्षकको व्यवस्था गर्ने ।
- स्थानीय भाषाको ज्ञान भएका व्यक्तिहरूको सहयोग लिएर शिक्षकले सन्दर्भ सामग्रीहरू तयार गरेर पढाउने ।
यति गर्दै गर्दा पनि विद्यालय तथा शिक्षकहरूले निम्न चुनौतीहरू सामना गर्नुपर्ने हुन सक्छ :
- विद्यार्थीको मातृभाषा प्रयोग गरेर पढाउन शिक्षकको क्षमता नपुग्ने अर्थात् शिक्षक बहुभाषिक हुन नसक्नु ।
- भाषिक विविधताभित्र भएका ज्ञान, विज्ञान र प्रज्ञान शिक्षकहरूमा नहुनु ।
- विद्यार्थीहरूमा पनि आफ्नो भाषालगायत अन्य भाषाहरू सिक्ने इच्छा विकास नहुनु ।
- राज्यले संवैधानिक व्यवस्थाबमोजिम बहुभाषिक शिक्षा लागू गर्ने तत्परता नदेखाउनु ।
- अभिभावकहरूले मातृभाषाको महत्त्व र आवश्यकतालाई नबुझेर बहुभाषिक शिक्षा लागू गर्न सहयोगी नहुनु ।
- य स्थानीय सरकारले बनाएको शिक्षा समितिमा निजी विद्यालय सञ्चालकहरूको बाहुल्य र प्रभाव कायम हुनु ।
भाषिक तथा सांस्कृतिक विविधता हाम्रो चुनौती होइन, क्षमता र अवसर हो । यो अवसरलाई हामीले व्यवस्थित रूपमा सक्दो बढी उपयोग गर्न सक्नुपर्छ । किनभने यसले विद्यार्थीहरूमा प्रज्ञा शक्तिको विकास र विस्तार, आलोचनात्मक सोच र बौद्धिक विकास गर्न सहयोग गर्छ । जसले गर्दा भविष्यमा ती विद्यार्थीहरूले कुनै मुद्दा तथा विषयहरूलाई गहन रूपमा अध्ययन र तुलनात्मक विश्लेषण गरेर सही निष्कर्षका साथ आफूलाई असल नागरिकका रूपमा परिचित गराउँछन् ।
अहिले अङ्ग्रेजी भाषाका माध्यमबाट पठन—पाठन गर्नुलाई उपलब्धि ठानेर प्रचार—प्रसार गर्नु भनेको म्याकुल्लेको शिक्षा नीति ठिक छ भनेर अङ्ग्रेजको दासत्व स्वीकार गर्नु हो । सबभन्दा ठुलो गुलामी भनेको मानसिक गुलामी हो । गोरो छाला भएकाले गरेका काम र अङ्ग्रेजी भाषामा बोलेका कुरा नै उत्कृष्ट मानेर अघि बढ्ने मनोविज्ञान दासता र गुलामीको उपज हो ।
यसर्थ सबैभन्दा पहिला हामीले हाम्रा ऐतिहासिक भाषा संस्कृत, नेपालभित्र साझा सम्पर्क भाषा नेपाली र मातृभाषाहरूलाई आवश्यकताका आधारमा शिक्षालयदेखि कार्यालयहरूमा प्रयोग सुनिश्चित गर्नुपर्छ । अनि मात्र थप अन्तर्राष्ट्रिय भाषाहरूलाई विषय शिक्षा वा माध्यम भाषाका रूपमा प्रयोग गर्नुपर्छ । यसले एकातिर राष्ट्रिय स्वाभिमान बलियो बनाउँछ भने अर्कातिर त्यो स्वाभिमानका साथ हामीलाई वैश्विक नागरिक बन्न सहयोग पुर्याउने छ ।
(लेखक भाषा, शिक्षा र विकास अभ्यासका क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।)
प्रकाशित मिति : १२ पुस २०७८, सोमबार ११ : ५२ बजे
प्रतिक्रिया