बाढीको स्थितिमा सुधार

हुम्लामा बिहानैदेखि हिमपात, जनजीवन प्रभावित 

​​​​​​​सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा आज बिहानैबाट हिमपात भइरहेको छ । बिहानैदेखि हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण हिमपात भएको हो । 

आज केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मङ्गलवार र बुधवार सो प्रणालीले देशभर फैलिई सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले आँकलन गरेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम निकै घटेको छ । सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको छ ।

हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँमा चिसो बढेको छ ।

लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या परेको नाम्खा गाउँपालिकाको मुचुकाका स्थानीय लाप्का लामाले जानकारी दिनुभयो । 

उहाँका अनुसार मुचुमा अहिलेसम्म झण्डै दुई फिट हिउँ जमेको छ । हिमपातसँगै बढेको जाडोले हुम्लाको उत्तरी क्षेत्रमा पशु वस्तुलाई समेत घरमै घाँस हालेर राखिएको छ ।

हिमपातले दक्षिण क्षेत्रका किसान खुसी
लामो समयको खडेरीपश्चात् आज परेको हिमपातले जिल्लाको दक्षिण क्षेत्रका किसान भने खुसी भएका छन् ।

पानी नपरेकाले बारीमा छरेको गहुँ बाली उम्रन नसक्दा चिन्तामा रहेका अदानचुली, ताँजकोट, चंखेली र सर्केगाडका स्थानीय हिमपातसँगै खुसी भएका हुन् ।

हिउँसँगै परेको पानीले जिल्लाको दक्षिण भेगमा कृषक समेत राहत भएको अदानचुली ५ कर्गैका शिक्षक पृथ्वी शाहीले बताउनुभयो

 ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १० : ५० बजे