नख्खु जेल ब्रेक र वामपन्थी आन्दोलन

नेपालको राजनीतिक इतिहासमा छुट्टै महत्त्व राख्ने चैत्र १२, २०३३ को नख्खु जेल ब्रेक भएको चार दशक पूरा भइसकेको छ । २०२८/२९ सालमा भएको झापा आन्दोलनको क्रममा सयौँ क्रान्तिकारीहरू गिरफ्तार भएका थिए । गिरफ्तारीको सिलसिलासँगै यातनाले शरीर जति नै गाले पनि शत्रुको जेलबाट सकेसम्म छिटो निस्केर जनताको बीचमा जानुपर्छ भन्ने सोच झापादेखि वीरगञ्ज र काठमाडौँ आउँदासम्म पनि जेल तोडेर बाहिर निस्कने उपायको खोजी सबैको दिमागमा कायमै रह्यो । 

२०३१ जेठमा नयाँ शिक्षाको विरोधमा माधव पौडेल, सुवास नेम्वाङ्ग, भीम रावल, राजेन्द्र पाण्डे लगायतका विद्यार्थी नेताहरूलाई गिरफ्तार गरी जेल चलान गरिएपछि झापाली क्रान्तिकारीहरूसँग जेलमा भेट भयो । त्यहीँ नै झापा विद्रोहको बारेमा बुझ्ने अवसर प्राप्त भयो । 

माधव पौडेल, प्रदीप नेपाल, गोपाल शाक्य र वीरबहादुर लामा लगायतका क्रान्तिकारीहरू ‘मुस्लो परिवार’को नामबाट सयौँ युवाहरूबीच क्रान्तिको सन्देश फैलाउँदै थिए । यही ‘मुस्लो परिवार’को नामबाट २०३३ सालको मे दिवसको सन्दर्भमा पर्चा छरेको काण्डमा यी चारै जनालाई गिरफ्तार गरियो । गिरफ्तार गरी वीरबहादुर लामालाई ५ वर्ष जेल, पाँच हजार जरिवाना र अरू तीन जनालाई १० वर्ष जेल र १० हजार जरिवाना तोकी फरक–फरक जेलमा राखियो । पछि जेल सार्ने क्रममा सबैलाई नख्खु पुर्‍याइयो । 

लामो जेल सजाय तोकिएका झापा आन्दोलनका अगुवा र यसका अनुयायी नेताहरू सरुवा हुने क्रममा नख्खुमा जम्मा हुन पुगेका थिए । यसरी २०३३ मङ्सिरसम्ममा चन्द्रप्रकाश (सिपी) मैनाली, वीरबहादुर लामा, माधव पौडेल, नारद वाग्ले, भीष्म धिमाल, जीवन मगर, प्रदीप नेपाल, नरेश खरेल, घनेन्द्र बस्नेत, खड्ग प्रसाद (केपी) शर्मा ओली, राधाकृष्ण (आरके) मैनाली, मोहनचन्द्र अधिकारी, कामेश्वर हलुवाई, राजेन राजवंशी, गोपाल शाक्य, धर्म घिमिरे, हर्क खड्का, अशोक न्यौपाने लगायतका राजबन्दीहरू नख्खु जेलमा एकै ठाउँ जम्मा भए । जेलमा पहिला नै पार्टी सङ्गठन बनाइएको थियो । झापादेखि नै जेल तोडेर बाहिर निस्कनुपर्छ भन्ने सोच बनेको थियो । 

यसै क्रममा फेरि पनि ‘नेपाली क्रान्तिको कामलाई अगाडि बढाउन कसरी बाहिर निस्कने’ भन्ने छलफल अगाडी बढ्यो । यही समयमा जेलभित्र रुद्र खरेलसँगको सामान्य भनाभनको निहुँमा केपी, आरके र मोहनचन्द्रलाई नख्खुबाट केन्द्रीय कारागार सारियो ।  अन्यका बीचमा छलफल जारी रह्यो । यस क्रममा तीन वटा विकल्प,
​​​​​​​१.गेटमा बसेको गार्डको हतियार कब्जा गरेर निस्कने, 
२.पर्खाल नाघेर निस्कने, 
३.सुरुङ खनेर निस्कने भन्ने विषयमा छलफल हुँदै जाँदा सबैभन्दा उपयुक्त र सुरक्षित उपाय सुरुङ खन्ने कुरामा सहमति भयो र फागुन १० गतेबाट सुरुङ खन्ने काम सुरु भयो । 

खन्ने, माटो व्यवस्थापन गर्ने, सूचना प्रवाह गर्ने, बत्ती व्यवस्थापन लगायतका प्राविधिक काम गर्ने, गीत र खेलका माध्यमबाट अरू बन्दी र प्रहरी प्रशासनको ध्यान अन्यत्रै भुलाउने लगायतका विषयमा कार्य विभाजन भयो । 

सुरुङ खन्ने क्रममा आइपरेका कयौँ व्यवधानहरूको सामूहिक रूपमा व्यवस्थापन गर्दै अन्ततः ३२ दिनको अनवरत प्रयत्नपछि चैत्र ११ गते करिब ६५ फिट लामो सुरुङ मार्ग तयार भयो । 

यसै बीचमा निस्कने समयमा बत्ती निभाउनेदेखि बाहिर निस्केपछि कहाँ र कसरी जाने भन्ने सम्मको योजना बनेको थियो । चैत्र १२ गते साँझमा झ्याप्प बत्ती निभ्यो । माधव, सिपी र वीरबहादुर सुरुङमा पस्नुभयो भने माधव पौडेल मात्र बाहिर निस्कन भ्याउनुभयो । पुनः बत्ती बल्यो । बत्ती योजना अनुसार नभएर हुरीका कारण गएको रहेछ । सबैको मन आत्तियो, ‘अब के गर्ने ?’ पुनः बत्तीको फ्युज उडाउने पटक–पटकको प्रयत्न सफल नभएपछि उज्यालोमा नै ज्यानको बाजी लगाएर निस्कने सोच बनाउँदै गर्दा नारद र अशोकको प्रयत्नमा ठुलो आवाजसहित ट्रान्सफर्मर नै पड्कियो । पन्ध्रै जना बन्दीहरूलाई बाहिर निस्कन सफलता मिल्यो । सम्भावित पुनः गिरफ्तारी र मृत्युसम्मको जोखिमबीच मन–मस्तिष्कमा क्रान्तिपछिको उज्यालो बोकेर वन जङ्गल, खोलानालाको हण्डर ठक्कर खाँदै २/३ दिन फर्पिङ वरपर उहाँहरूका दिन बिते । र, स–साना समूह बनाएर विभिन्न ठाउँमा जाने लक्ष्यसहितको यात्रा अगाडि बढ्यो । यस क्रममा घनेन्द्र, नरेश, नारद, भीष्म र धर्म विभिन्न ठाउँबाट पुनः गिरफ्तारी भयो । कामेश्वर सम्पर्कविहीन हुनुभयो । बाँकी ९ जना जनताको बीचमा पुगेर, जेल तोडेर प्राप्त गरेको नाफाको जिन्दगीलाई हत्केलामा राखेर निरंकुशताको विरुद्ध जनताको अधिकार प्राप्तिको अभियानमा जुटिरहनुभयो । 

नख्खु जेल ब्रेकको १३ वर्षपछि पञ्चायतको अन्त्य गर्दै बहुदलीय व्यवस्था पुनः स्थापित भयो । यसरी अगाडि बढ्ने क्रममा विकसित भएको नेकपा (एमाले) आज नेपाली वाम आन्दोलनको मूलधार र जनताको आशाको केन्द्रको रूपमा स्थापित हुन पुगेको छ ।

नेपालको राजनीतिक परिवर्तन र कम्युनिष्ट आन्दोलनलाई आजको अवस्थामा पुर्‍याउन यस नख्खु जेल ब्रेकको विशेष योगदानलाई नकार्न सकिँदैन । आन्दोलनको अग्रपङ्क्तिमा रहेर नेतृत्व गरिरहेका मुख्य नेताहरूको ठुलो समूह एकै पटक जेल तोडेर बाहिर आउनु र कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै अगाडि बढाउने क्रममा नेकपा (माले) दूरगामी महत्त्वको घटना हो । यसैको माध्यमबाट पञ्चायती निरङ्कुशता विरुद्ध जनतालाई सङ्गठित र परिचालन गर्ने काम अघि बढ्दै आयो । परिणामतः नख्खु जेल ब्रेकको १३ वर्षपछि पञ्चायतको अन्त्य गर्दै बहुदलीय व्यवस्था पुनः स्थापित भयो । यसरी अगाडि बढ्ने क्रममा विकसित भएको नेकपा (एमाले) आज नेपाली वाम आन्दोलनको मूलधार र जनताको आशाको केन्द्रको रूपमा स्थापित हुन पुगेको छ ।

जेल विद्रोहको सिकाइ
विगतमा भएका यी बहादुरीपूर्ण घटनाहरू सुन्दा र पढ्दा पनि अहिले जिउ सिरिङ्ग हुन्छ । आफलहरूलाई जीवन र मृत्युको दोसाँधमा राखेर वियतमा निरंशकुताको विरुद्ध यस किसिमका जोखिमपूर्ण कदम उठाएको आँट र साहस त्यतिखेरका क्रान्तिकारीहरूले नगरेका भए वा यो सम्भावित जीवन उत्सर्गसम्मको मानसिकता राखेर नेपाली क्रान्तिका पक्षमा नहोमिएको भए आज हामी हरेक नेपाली नागरिक लोकतान्त्रिक अधिकारसहित स्वाभिमानको शिरलाई उँचो राख्दै मुक्तिका गीत गुनगुनाउन पाउने थिएनौँ होला । यसका लागि आज हरेक नागरिकले ती मुक्ति योद्धाहरूलाई सलाम गर्न सक्नु ती  क्रान्तकारीहरुको योगदान प्रतिको सम्मान हो भन्ने अनुभूत गर्न सक्नुपर्दछ । 

नख्खु जेल विद्रोहको तयारीमा एक महिना लगाएर ६५ फिट लामो सुरुङ खन्दै गरेको अवस्थामा गोप्यता भङ्ग भएको भने सबै जनाको एउटै चिहान बन्न सक्थ्यो । पाँच जना आफ्नै सहयोद्धाहरूलाई सुखानीको जङ्गलमा लगेर मारिएको घटना उहाँहरू सबैको दिमागमा ताजै थियो । 

यदि सुरुङ खन्दै गर्दा प्रशासनले सुइँको मात्र पनि पाएको भए, यी योद्धाहरूको पनि त्यही अवस्था हुँदैन थियो भन्न सकिँदैन । त्यस्तो जोखिम थाहा हुँदाहुँदै पनि चार पर्खालभित्र वर्ग शत्रुको ‘बन्दी पाहुना’ भएर जीवन जिउनुभन्दा मुक्त आकाशको खोजी र आम नागरिकको आधारभूत अधिकार र स्वतन्त्रताको पक्षमा जीवन उत्सर्ग गर्नुमा मानव जीवनको सही अर्थ र अमूल्य सार्थकता हुन्छ भन्ने असीमित मानसिक उँचाइकासाथ क्रान्तिप्रतिको लगाव, विचारप्रतिको प्रतिबद्धता, सम्भावित जीवन उत्सर्गको साहस, जनताको स्वाभिमानप्रतिको समर्पणको भावनाबाट आजको पिँढीले थोरै मात्र पनि सिक्न सक्दा मुलुकको समृद्धि र जनताको स्वाभिमानलाई उँचो बनाउन सकिनेछ । 

आन्दोलनको विभिन्न चरण पार गर्दै आजसम्मको अवस्थामा आइपुग्दा हिजोको पिँढीले गरेको जस्तो जीवनलाई जोखिममा राखेर गरिने त्याग र समर्पणको जरुरी छैन । तर, अहिले जो जहाँ भए पनि मुलुकको राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिताको रक्षा र नागरिक अधिकारको सुनिश्चितता र सामाजिक न्यायसहितको समानतामा आधारित समाज निर्माणको महान् अभियानमा जेलनेल बेहोर्नेदेखि, भूमिगत जीवन जिउन, आफ्ना व्यक्तिगत र पारिवारिक सुख–सुविधा र अवसरहरूलाई त्याग्दै क्रान्तिका लागि होमिने हरेक व्यक्तिको योगदानप्रति गौरव अनुभूत गर्न सक्नु मात्र पनि इतिहास प्रतिको सम्मान हुनेछ ।  

आजको आवश्यकता फरक छ । हिजोका अग्रजहरूले निर्वाह गरेको भूमिकाबाट प्रेरणा लिँदै वर्तमानको माग अनुसार नेपालीले राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा निर्माण गरेको गौरवमय इतिहासको रक्षा गर्दै मुलुक निर्माणको पक्षमा इमानदार, पारदर्शी, समन्याय र सेवा भावका केही अंश मात्र पनि आजको पिँढीले सिक्न सके मुलुकले माग गरेको र आम नागरिकले आस गरेका कुराहरू प्राप्तिमा सहयोग पुग्नेछ । 

नयाँ पिँढीमा यो समर्पण, प्रतिबद्धता, अनुशासन, जीवन र जगतका पक्षमा सचेत नागरिकको हैसियतमा कर्तव्यनिष्ठताका केही मात्रामा यस किसिमको प्रेरणा प्रदान गर्न सक्यो भने यस प्रकाशनको सार्थकता रहने छ भन्ने अपेक्षासाथ ती सबै योद्धाहरूप्रति हार्दिक आभार र हृदयदेखि नै सलाम गर्न चाहन्छु । 

 

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ९ : ५० बजे