यमनमा हुथी विद्रोहीको १५ केन्द्रमा अमेरिकाको मिसाइल आक्रमण

काठमाडौँ । अमेरिकी सेनाले यमनमा इरान समर्थित हुथी संगठनसँग जोडिएका १५ वटा लक्ष्यमा मिसाइल आक्रमण गरेको जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ‘आवागमनको स्वतन्त्रता सुनिश्चित गर्न’ हवाई जहाज र युद्धपोतबाट आक्रमण गरेको जनाएको छ ।

राजधानी साना लगायत यमनको मुख्य सहरमा धेरै विस्फोटको आवाज सुनिएको छ ।

नोभेम्बरदेखि, हुथी विद्रोहीहरूले रेड सागरमा झण्डै १०० जहाजमा आक्रमण गरी दुईवटा जहाज डुबेका छन् । विद्रोही समूहले गाजामा इजरायलको सैन्य कारबाहीको जवाफमा आक्रमण गरेको बताएको छ ।

मध्यपूर्वमा अमेरिकी सैन्य कारबाहीको अनुगमन गर्ने सेन्ट्रल कमाण्डले हतियार प्रणाली, उनीहरुको अड्डा र हुथीसँग सम्बन्धित अन्य लक्ष्यहरूलाई निशाना बनाइएको बताएको छ । हुथी समूहसँग सम्बन्धित सञ्चारमाध्यमले यमनको राजधानी साना र अन्य सहरलाई निशाना बनाएको बताएका छन् ।

सोमबार, हुथी समूहले यमनमा अमेरिकी निर्मित एमक्यू-९ रिपर ड्रोन खसालेको बताएको थियो। अमेरिकी सेनाले मानवरहित विमान हराएको स्वीकार गरेको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १० : २७ बजे