‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कैदी फरार प्रकरण : कारागारका प्रमुख (जेलर) र सुरक्षार्थ खटाएका सबै प्रहरी जिल्ला तानिए

दाङ । दाङको घोराही कारागारबाट कैदी भागेपछि कारागारका प्रमुख (जेलर) र सुरक्षार्थ खटाएका सबै प्रहरी जिल्ला तानिएका छन् ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई उपचारका लागि भन्दै त्यहाँबाट निकालिएको र मिलेमतोमा भगाएको प्रहरीको निष्कर्षपछि कारागार प्रमुख र सुरक्षा प्रमुख तानिएका हुन् ।  

कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा प्रमुख, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरीसहित सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको दाङ प्रहरीले जनाएको छ । 

जेलर परियारको ठाउँमा तुलसीपुर कारागारका जेलर अमर वलीलाई जिम्मेवारी दिइएको छ भने सुरक्षा प्रमुखमा प्रहरी नायव निरीक्षक नन्दराम केसीको कमाण्डमा सात जना खटाइएको छ ।

छालाको उपचार गर्न भनी कारागारका नाइके कैदी परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले गत बुधवार दिउँसो लु३४प ४१० नम्बरको मोटरसाइकलमा लिएर गएका थिए । तर, उनीहरू अस्पताल नगई होटलमा पुगेको र त्यहीँबाट भागेका प्रहरीको भनाइ छ ।  

घटनामा संलग्न भएका प्रहरी जवानसहित अनुसन्धानका लागि कारागारका कार्यालय सहयोगी, दुई महिला र होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कैदी परियारले प्रहरी जवानलाई होटलको कोठामा थुनेर भागेको प्रहरी अनुसन्धानले देखाएको छ । भाग्न प्रयोग गरेको मोटरसाइकल लमही ६ बेलदमारको जङ्गलमा बिहीबार फेला परेको थियो । तर कैदी परियार भने अझै फेला परेका छैनन् । 

डिएसपी मुकुन्दप्रसाद रिजालको कमान्ड र सिआईविको टोलीले खोजी तथा अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ७ : ४१ बजे