बाढीले कमला नहर सिँचाइ आयोजनामा क्षति

गोलबजार (सिरहा)। केही दिनअघि आएको बाढीले कमला नहर सिँचाइ आयोजनामा करिब रु सात करोड ५० लाख बराबरको भौतिक क्षति पु¥याएको कमला नहर सिँचाइ आयोजना कार्यालले जनाएको छ । नहर, ‘साइफन’ तथा सिँचाइको प्रमुख केन्द्रमा बालुवा पसेर क्षति पु¥याएको हो ।

आयोजना प्रमुख वीरेन्द्र यादवका अनुसार नहरको पूर्वी क्षेत्रको प्रणाली सिरहा, पश्चिमी क्षेत्रको प्रणाली तथा हर्दिनाथ सिँचाइ प्रणाली गरी रु साढे सात करोडबढीको भौतिक क्षति भएको प्रारम्भिक तथ्याङ्क सङ्कलन गरिएको छ ।

सिरहा र धनुषाको गरी कुल २७ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याइरहेको सो आयोजनाको क्षमता थप भई पछिल्लो समय ३८ हजार हेक्टर पुगेको थियो । अविरल वर्षासँगै आएको बाढीबाट क्षतिग्रस्त हँुदा सिँचाइमा समस्या भएको प्रमुख यादवले बताउनुभयो ।

कमला नहरसहित नहरसम्म पुग्ने ग्राभेल बाटोमा क्षति हुनुका साथै भौतिक संरचना नष्ट भएका अयोजना कार्यालयका सबइञ्जिनियर सुभाष यादवले बताउनुभयो । ती संरचना पुनःनिर्माण गर्न आर्थिक अभाव भएकाले सरोकार भएका निकायले सहयोग गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

कर्जनहा नगरपालिकाका ममता यादवले यसअघि कमला नहर यहाँका किसानका लागि वरदान जस्तै बनेको बताउनुभयो । यथाशीघ्र पुनःनिर्माण गरी किसानलाई सहज रुपमा सिँचाइको सुविधा पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

आयोजनाले धनुषाका चारनाथ, सबैला, सहिद, विदेह, कमला, हंसपुर नगरपालिका तथा औरही र जनकनन्दनी गाउँपालिकाका साथै सिरहातर्फ कर्जन्हा, मिर्चेया, कल्यानपुर, सिरहा र सुखिपुर नगरपालिका तथा विष्णुपुर र औरही गाउँपालिकामा सिँचाइ सुविधा पु¥याएको छ ।

विसं २०१७ मा तत्कालीन सिँचाइमन्त्री गणेशमान सिंहले उक्त आयोजना शिलान्यास गर्नुभएको थियो । आयोजनाले विसं २०४० देखि सिँचाइ सुविधा पु¥याउन थालेको हो ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ६ : ५४ बजे