एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न सक्दैन : अध्यक्ष ओली

दमक – नेकपा (एमाले) का अध्यक्ष  केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताउनुभएको छ । देशभरी एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने उहाँले उल्लेख गर्नुभयो । 

दमक नगरपालिका–३ स्थित निर्माणाधिन दमक भ्यूटावरको अवलोकन पछि आज यहाँ आयोजित सभामा अध्यक्ष ओलीले एमालेले गरेको कामलाई देखेर जनताले फेरि तीनै तहको निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिएर जिताउने बताउनुभयो । “एमालेलाई देशी, विदेशी शक्तिले सत्ताबाट हटाएको हो”, उहाँले भन्नुभयो, “अब जनताले बहुमत दिएर एमालेलाई फेरि सिंहदरबारमा पु¥याउँछन् ।” 

शनिबार गृह जिल्ला आउनुभएका अध्यक्ष ओली सोमबारसम्म दमकमा रहने बताइएको छ । झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अध्यक्ष ओलीले आइतबार र सोमबार आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । 
 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ७ : ५० बजे