आन्तरिक हवाई उडानमा अत्यधिक चाप

विपद् र चाड सँगै आएकाले हवाई चाप बढेको हो : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद् र चाड सँगै आएका कारण हवाई चाप बढेको बताउनुभएको छ। शुक्रबार त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक सङ्घको २३औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो ।

मन्त्री पाण्डेले भन्नुभयो, “विपद् र महान् चाडहरुसँगै आएका कारण हवाई चाप बढेको छ । यसलाई कसरी न्यायोचित बनाउने भनेर कुरामा हामी निरन्तर काम गरिरहेका छौं ।” मन्त्री पाण्डेले यात्रुहरुको सहजताका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको बताउनुभयो ।

उहाँले पर्यटनमन्त्रालय सम्बद्ध संस्कृति,पर्यटन र हवाई नीतिहरु परिमार्जनको क्रममा रहेको बताउँदै ऐन नीतिहरु बनाएर सुदृढीकरण गर्ने उद्घोष गर्नुभयो । मन्त्री पाण्डेले ट्रेड युनियन लगायतका सङ्घ, संस्थाहरुले सत्यतथ्य कुरा मात्रै पस्कनुपर्नेमा जोड दिनुभयो । मन्त्री पाण्डेले नेपालको हवाई आकाश सुरक्षित छ भन्ने सन्देश दिन अनुरोध गर्नुभएको छ ।

मन्त्री पाण्डेले आज नै त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थलमा यातायातसम्बद्ध पदाधिकारीसँग छलफल गर्नुभएको छ । साथै उहाँले त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थलको टावरको समेत अवलोकन गर्नुभएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  २ : ३५ बजे