जननेता मदन भण्डारीको हीरक जयन्ती–२०८३ मनाउन तयारीमा जुटौँ

महासचिव मदन भण्डारीको निधन भएपछि नेकपा(एमाले) ले भन्यो—उहाँको चितवन दासढुङ्गामा भएको रहस्यमय जीप दुर्घटनामा परी २०५० साल जेठ ३ गते निधन भएको थियो । उहाँ यस्तो पहिलो नेपाली हुनुभएको छ, जसको मृत्युमा सबैभन्दा बढी मान्छेले देशभरि नै असीम पीडाबोध र शोकाकुल भई प्रेम र श्रद्धाका बलिन्द्र अश्रुधाराले आफ्ना हृदयका श्रद्धा–सुमन चढाए । जननेताले नेपाली जनताको मन जित्न कति सक्नु भएको रहेछ भन्ने कुरा उक्त निचोडबाट स्पष्ट हुन्छ ।

यस्ता युगपुरुष विचारकको बहुआयामिक व्यक्तित्व समाजमा थप स्थापित गर्न र जनताको बहुदलीय जनवाद (जबज) को प्रचारप्रसार गरी जनस्तरमा समेत विस्तारित गर्न मदन भण्डारी फाउण्डेशन बिगत पच्चीस वर्ष (वि. सं.२०५६–२०८१) देखि देशैभर क्रियाशील छ । यही सन्दर्भमा आजभन्दा १३ दिन पहिले २०८१ साल असोज ५ गते फाउण्डेशनको केन्द्रले काठमाडौँ उपत्यकामा भव्य कार्यक्रमसहित आफ्नो स्थापना दिवस मनायो र त्यस अवसरमा आफ्ना क्रियाकलापलाई भविष्यमा थप तीब्रता दिने संकल्पलाई दाहो¥यायो । यस कार्यक्रमका प्रमुख अतिथि पूर्वराष्ट्रपति तथा फाउण्डेशनका संस्थापक एवं पूर्व अध्यक्ष श्रीमती विद्यादेवी भण्डारीले आगामी वि.सं.२०८३ सालमा जननेताको हीरक जयन्ती मनाउन आव्हान गर्नुभएको छ । अब यस समसामयिक आग्रहको मर्म र महत्वलाई आत्मसात गर्दै योजना बनाउनु जबज र जननेताका अनुयायीहरूको गहन जिम्मेवारी हुन आएको छ ।

सन् १९९० मा तत्कालीन सोभियत संघ र पूर्वी युरोपका विभिन्न मुलुकहरूमा सोभियत मोडेलेको समाजवादले गम्भीर धक्का खाएपछि विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा धकेलियो । नेपाली कम्युनिष्ट आन्दोलनको समीक्षासहित विश्व समाजवादी प्रणाली कमजोर अवस्थामा पुगेको घटनाबाट गम्भीर शिक्षा लिनुपर्ने निष्कर्षमा पुगेर जननेताले नवीन सिद्धान्त जबज प्रतिपादन गर्नुभयो । उहाँको निष्कर्ष सहि ठहरियो र नेपाली कम्युनिष्ट आन्दोलन लोकप्रिय र विस्तारित बन्दै गयो । त्यति मात्र होइन जबजकै आलोकमा २०५१ सालमा नेकपा(एमाले) ले नेपालमा पहिलो कम्युनिष्ट सरकार बनायो र त्यसपछि पनि पटकपटक यस पार्टीले सरकार बनाउन सफल भएको छ र यसले देश र जनताको पक्षमा असल कामहरू गर्दै आएको छ । वामपन्थी आन्दोलनलाई लोकतान्त्रिकरण गरी ऐतिहासिक भूमिका निर्वाह गर्न सफल जननेता मदन भण्डारीको सबल नेतृत्व र उहाँद्वारा प्रतिपादित सिद्धान्त जबजलाई नै त्यो श्रेय जान्छ । त्यसैले नेपालको सन्दर्भमा माक्र्सवादको सिर्जनात्मक प्रयोग भइरहेको जबजको सुदृढीकरणमा ध्यान दिनसमेत अबको एक वर्षपछि जननेताको हीरक जयन्ती मनाउनु पर्दछ ।
देश र जनताको हित तथा उत्थानमा समर्पित फाउण्डेशनसँग मदन भण्डारी स्पोर्टस् एकेडेमी, मदन भण्डारी कला–साहित्य प्रतिष्ठान, मदन भण्डारी बौद्धिक मञ्च, मदन भण्डारी मेमोरियल कलेज तथा मदन भण्डारी मेमोरियल स्कुलजस्ता चिरपरिचित संस्थाहरू आबद्ध छन् । यस फाउण्डेशनले संगठन विस्तार तथा सुदृढीकरणको अभियान चलाउने, सैद्धान्तिक तथा वैचारिक क्षेत्रको काम गर्ने, समाज सुधार र कल्याणकारी कार्य गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा सुदृृढीकरण अभियान चलाउने, जबजको कार्यान्वयन गर्ने राजनीतिक पार्टीको पक्षमा जनमत तयार पार्ने, जननेताको नाममा स्थापित संरचनाहरूको लगत राखि तिनको संरक्षण गर्ने, प्रकाशन तथा प्रशारणको माध्यमबाट जननेताको व्यक्तित्वलाई थप उजागर गर्ने, प्राज्ञिक संस्था र विश्वविद्यालयसँग अध्ययन–अनुसन्धानमा सहकार्य गर्ने, थिङ्क ट्याङ्कको रूपमा कार्य गर्ने, समाजमा उल्लेख्य योगदान गर्ने व्यक्ति तथा संस्था पुरस्कृत गर्ने परिपाटीको विकास गर्ने आदि कार्यभार पूरा गर्दै आएको छ । यस किसिमका रचनात्मक कार्यबाट युवा, विद्यार्थी, महिला, खेलाडी, कलाकार तथा सर्जक, चिकित्सक तथा स्वास्थ्यकर्मी, इन्जिनियर, उत्पीडित समुदाय, बौद्धिक वर्ग, राजनीतिक दलका नेता तथा कार्यकर्ता, कुटनीतिज्ञ, श्रमिक, किसान आदिसँग फाउण्डेशन पुगिरहेको छ । फलस्वरूप फाउण्डेशनप्रति जनस्तरमा अपनत्वबोध समेत वृद्धि भइरहेको छ ।

यस परिवेशमा विश्वको सर्वोच्च शीखर सगरमाथा जस्तै अग्ला व्यक्तित्वका धनी महान नेता तथा नयाँ सिद्धान्तका प्रणेताको हीरक जयन्ती मनाएर उहाँका योगदानहरूलाई थप उजिल्याउनु सान्दर्भिक छ । वि. सं. २०७३ सालमा राज्यद्वारा मरणोपरान्त ‘नेपाल रत्न’ द्वारा विभूषित जननेतामा जनताको चाहना बुझ्ने, मुलुकको राजनीतिक अवस्थाको सहि विश्लेषण गर्न सक्ने र आमूल सामाजिक परिवर्तनको निम्ति युग सुहाउँदो सिद्धान्त प्रतिपादन गर्नसक्ने विलक्षण प्रतिभाको सम्मान गर्नु हाम्रो दायित्व हो ।
अहिले हाम्रो मुलुकसामू विगतमा सामन्ती राज्यसत्ताले लादेका विकृति, विसंगति, विभेदहरू जो अहिले पनि विभिन्न आवरणमा कायमै छन्, त्यसको अन्त्य गर्न लाग्नुपर्दछ । मुलुकमा रहेको दलाल पुँजीवादको शोषण उत्पीडनलाई समाप्त पारी राष्ट्रिय पुँजीको विकास र सुदृढीकरण गर्दै समाजवादको आधारशीला तयार गर्नु पर्दछ । संविधानले परिलक्षित गरेअनुसार समाजवादउन्मुख अर्थतन्त्र निर्माणका निम्ति सामाजिक न्याय र समानतामा आधारित सामाजिक आर्थिक कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ । राजनीतिक स्थायित्व, सुशासन र विकासको गतिलाई तीव्रता दिन आगामी २०८४ मा हुने आम निर्वाचनमा जबजलाई आत्मसात गरेको पार्टीलाई संसदमा एकल बहुमत हासिल गरेर सरकार बनाउनका लागि समेत जननेताको हीरक जयन्ती मनाउनु आवश्यक छ ।

जननेताको हीरक जयन्तीका सन्दर्भमा उहाँले कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा पु¥याउनु भएको योगदानलाई चीरस्थायी तुल्याउन विविध रचनात्मक कार्यक्रम सञ्चालन गर्नु पर्दछ । यसका लागि चाँडै फाउण्डेशनका सबै कमिटी तथा आबद्ध संस्थाहरूका बैठक तथा भेला बोलाएर हीरक जयन्तीको कार्यक्रम सफल पार्न मसिनो योजना बनाउनु पर्दछ । जयन्तीका अवसरमा उहाँद्वारा प्रतिपादित नवीन सिद्धान्त जबजका विविध आयामका बारेमा अन्तर्राष्ट्रिय सम्मेलन, राष्ट्रियस्तरमा कार्यशाला तथा विचार गोष्ठी, अन्तरसम्बाद, उहाँको योगदान झल्काउने प्रदर्शनी, वृत्तचित्र उत्पादन तथा स्मृति ग्रन्थ प्रकाशन, युवा लक्षित वैचारिक, साँस्कृतिक, खेलकुद जस्ता रचनात्मक कार्यक्रम गर्नुपर्दछ । जननेताको तस्वीर अङ्कित लकेट, क्याप, टिसर्ट, नोटबुक, झोला आदि उत्पादन एवं वितरण गरेर उहाँलाई सम्झिनु पर्दछ । उहाँको जन्मस्थानमा विशेष समारोह आयोजना गर्न ध्यान दिनु पर्दछ । यसैगरी तत्कालिन नेकपा(माले) र अहिलेको एमालेको २०४५ सालमा भएको ऐतिहासिक चौथो महाधिवेशन स्थल धनगढीमाई नगरपालिका वडा नं.१४, सर्रेअम्बास, सिराहामा राजनीतिक पर्यटन प्रवद्र्धनको निम्ति प्रयास गर्नुपर्दछ । यसै महाधिवेशनमा जननेताले जबजको जग बसाउनु भएको थियो । साथै, उहाँलाई यस महाधिवेशनले महासचवीय प्रणाली अन्तरगत पार्टीको महासचिवमा निर्वाचन गरेको थियो । राजनीतिक महत्व अँगालेको उक्त स्थानमा कार्यक्रम आयोजना गर्ने विषयमा नेकपा(एमाले) सँग आवश्यक समन्वय गर्नुपर्ने आवश्यकता समेत रहेको छ ।

बिगतमा मदन भण्डारी फाउण्डेशनको स्थापना, सक्रियता र लोकप्रियताका बारेमा भ्रम फैलाउने प्रयास पनि भएको हो । तर त्यो चालबाजी सफल हुन सकेन । बरु फाउण्डेशन मुलुकभर झ्याङ्गिदै गयो । यसबाट सम्बद्ध सबैले गहिरो शिक्षा लिनु पर्दछ । यसको उद्देश्य जननेताको स्मृतिलाई कालजयी बनाउन तथा जबजको रक्षा, प्रयोग र विकास गर्नका निम्ति नै भएको थियो, हो र छ । यसदेखि बाहेक अन्य कुराको भ्रम कसैलाई भए त्यसबाट मुक्त पार्न सहजीकरण गर्नुपर्दछ । यस संस्थाका उद्देश्य तथा लक्ष्यहरूलाई अझ उजागर पार्दै थप मजबुत पार्न मिहिनेत गर्नैपर्दछ । यदि कसैलाई आशंका भए यस संस्थामा आबद्ध भएर यसको बारेमा स्पष्ट हुन समेत अनुरोध छ । जननेताको हीरक जयन्ती मनाउने सन्दर्भमा यस्ता विषयमा ध्यान दिँदै रचनात्मक क्रियाकलापहरूलाई अझ घनिभूत र गुणस्तरीय बनाउनुपर्ने खाँचो भने रहेकै छ ।

यो फाउण्डेशन र पार्टीबीचको सम्बन्ध तथा यो फाउण्डेशनको सुदूर भविष्यको बारेमा जननेताका सहयात्रीसमेत रहनु भएका राजनेता केपी शर्मा ओलीको धारणाबाट समेत स्पष्ट हुन सकिन्छ । मदन भण्डारी फाउण्डेशनका संरक्षक समेत रहनु भएका वर्तमान प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष श्री केपी शर्मा ओली (मदन भण्डारी फाउण्डेशनका गौरवशाली पच्चीस वर्षहरु, २०८१ असोज ५, पृष्ठ ५०) भन्नुहुन्छ, ‘मेरो शेषपछि पनि मदन भण्डारी फाउण्डेशनलाई तलमाथि पर्न नसक्नेगरी किल्ला बनाएर छाड्ने मेरो उद्देश्य छ । यसलाई अलि परसम्मै संरक्षण गर्नेगरी मैले सङ्कल्प गरेको छु ।’ त्यसैले भन्न सकिन्छ कि यसको भविष्य उज्ज्वल छ र यो गौरवशाली सामाजिक वैचारिक संस्थाको रूपमा सदा सक्रियतापूर्वक चम्किरहनेछ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ८ : ५१ बजे