विश्वशान्ति र समृद्धिका लागि चुनौती बढ्दो: परराष्ट्र मन्त्री

कतार। परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले विश्वमा शान्ति र समृद्धिको प्राप्तिका लागि एसियाली क्षेत्र एवं विश्वमै चुनौती बढिरहेको बताउनुभएको छ ।

कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले पछिल्लो समय विश्वका विभिन्न क्षेत्रमा बढ्दो द्वन्द्व तथा भू‐राजनीतिक अवस्था लगायतका कारण शान्ति र समृद्धिको प्राप्ति जटिल बन्दै गएको धारणा राख्नुभयो ।

मन्त्री डा राणाले भन्नुभयो “लामो समयदेखिका द्वन्द्व, भू–राजनीतिक अवस्था, प्रतिद्वन्द्विता, आतङ्कवाद, प्राकृतिक प्रकोपजस्ता कारणहरू विश्वव्यापी शान्ति, सुरक्षा र समृद्धिका बाधक बनिरहेका छन् । अन्तर्राष्ट्रिय सङ्गठित अपराध अर्को यस्तै समस्या बनेको छ । एसियाली क्षेत्रमा पनि शान्ति र समृद्धिको प्राप्तिका लागि यस्तै धेरै समस्या छन् ।”

अहिलेको विश्वले बढ्दो ध्रुवीकरण र विभाजनको सामना गर्नु परिरहेको र एसियाली क्षेत्रमा समेत बढ्दो रूपमा देखिएको युद्ध र द्वन्द्वको अवस्था ठुलो चिन्ताको विषय भएको उहाँको भनाई थियो ।

मन्त्री डा राणाले भन्नुभयो “हामी अझै पनि सन् २०३० सम्म पूरा गर्नुपर्ने विश्वव्यापी दिगो विकासका लक्ष्यहरू पूरा गर्न सक्ने अवस्थामा देखिएका छैनौँ । ती लक्ष्यबाट हामी अझै धेरै टाढा छौँ । त्यसैले पनि हामी एसियाली देशहरू भोलिको पुस्ताको सुरक्षित भविष्यका लागि सहकार्य र एकताकासाथ काम गर्नुपर्ने अवस्था छ ।”

साथै जलवायु परिवर्तन अहिलेको विश्वको एक प्रमुख चुनौती बनिरहेकाले यसको समाधानका लागि तत्कालै प्रभावकारी कदमहरू चाल्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

जलवायु परिवर्तनको असरबाट विश्वका अतिकम विकसित, भूपरिवेष्टित, साना टापु राष्ट्रहरू लगायत बढी समस्यामा परिरहेकाले तिनको समस्या समाधानका लागि विश्वका विकसित देशहरूले ध्यान दिनुपर्ने र उनीहरूले यी देशहरूलाई गर्नुपर्ने प्रतिबद्धता बमोजिमको सहयोग उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

यी समस्याहरू हुँदाहुँदै पनि शान्तिपूर्ण र समृद्ध एसियाका लागि ‘एसिडी भिजन २०३०’ को मान्यता अनुसार अघि बढ्न एसियाली देशहरुसँग अवसर पनि रहेकाले यसका लागि सबैको एकता र सहकार्य आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “एसिया प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, परम्परागत ज्ञान र नवीन प्रविधिको धनी एवं युवा तथा गतिशील जनसङ्ख्या रहेको क्षेत्र भएकाले यसले विकास र समृद्धि हासिल गर्न अप्ठेरो छैन । सहकार्य र एकताका साथ भोलिको पुस्ताका लागि हामीले काम गर्नुपर्दछ ।”

नेपाल सदैव बहुपक्षीयता र क्षेत्रीय सहयोगको पक्षमा रही आएको र सन् २०१६ मा एसिडीमा आबद्ध भएदेखि नै यसका उद्देश्यहरू पूरा गर्ने पक्षमा उभिँदै आएको पनि उहाँले बताउनुभयो । भोलिका दिनमा पनि ‘एसिडी भिजन २०३०’ पूरा गर्न नेपाल सदैव एसिडीसँगै रहने उहाँले बताउनुभयो ।

साथै मन्त्री डा राणाले खेलकुदका माध्यमबाट सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नै एकता र सद्भाव कायम गर्न सहयोग पुगेको धारणा पनि राख्नुभयो ।

उहाँले भन्नुभयो “मानव सभ्यतासँगै विकास भएको खेलकुदले मानिसहरूबिच बढ्दो द्वन्द्वको अवस्थालाई रोक्न, तनाव कम गर्न र विभिन्न देशहरूका बिच मित्रताको वातावरणलाई प्रवर्धन गर्न सहयोग पुर्‍याएको छ ।”

खेलकुद कूटनीतिलाई एसिडीको तेस्रो सम्मेलनको ‘थिम’का रूपमा अघि सारेकामा यसको नेतृत्वलाई धन्यवाद दिँदै एसिडी समूहको उन्नतिका लागि खेल कूटनीतिले आगामी दिनमा थप सहयोग पुर्‍याउने मन्त्री डा राणाले बताउनुभयो ।

उहाँले भन्नुभयो “खेलकुदले कुनै पनि व्यक्तिको सामाजिक पहिचानको निर्माण गर्दछ । खेलका माध्यमबाट सामाजिक एकता र सद्भाव निर्माण हुने गरेको छ । त्यसैले एसियाली क्षेत्रको सामूहिक विकासका उद्देश्यहरू हासिल गर्नका लागि पनि खेलकुद कूटनीति अहिलेको एक सान्दर्भिक विषय हो ।”

मन्त्री डा राणाले खेलकुद कूटनीतिलाई अगाडि बढाउन महिला र अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता बढाउनुपर्ने, खेलकुदलाई सांस्कृतिक पहिचानको प्रवर्धन गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने तथा खेलाडीहरूलाई सद्भावना दूतका रूपमा नियुक्त गर्ने परिपाटीको विकास गर्नुपर्ने सुझाउनुभयो ।

त्यसै गरी द्वन्द्व प्रभावित क्षेत्रहरूमा शान्तिका लागि सघाउन खेलकुदका कार्यक्रमहरू आयोजना गर्नुपर्ने सुझाव पनि उहाँको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ६ : ४९ बजे