बढ्दै छ लैङ्गिक हिंसाका घटना

गलकोट । पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएका छन् । 

जिल्लामा यो वर्ष २३ महिला तथा बालबालिक लैङ्गिक हिंसामा परेका छन् । त्यस्तै ६० वटा मानव अधिकार उल्लङ्घनका घटनामध्ये २३  बलात्कार तथा बलात्कार प्रयासका मात्रै छन् । गत वर्षको तथ्याङ्कलाई हेर्ने हो भने बलात्कार तथा यौन हिंसाका मात्रै १२ घटना घटेका थिए । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० बागलुङले मानवअधिकार वर्ष पुस्तक २०२२ समावेश गर्नका लागि सङ्कलित तथ्याङ्क अनुसार यो वर्ष ६० वटा मानव अधिकारसम्बन्धी घटना घटेको र तीमध्ये २३ महिला बलात्कार तथा यौन हिंसामा परेको इन्सेक बागलुङका प्रतिनिधि सिर्जना पन्तले बताउनुभयो । उहाँका अनुसार घरेलु हिंसामासमेत २५ घटना भएको र तीमध्ये अधिकांश महिला रहेका छन् । उहाँले मानवअधिकार वर्ष पुस्तक २०२२ को लागि इन्सेक बागलुङले सन् २०२१ जनवरी देखि नोभेम्बरसम्म लेखन गरेका ६० वटा मानव अधिकारसम्बन्धी घटनामाथि छलफल गरिएको जानकारी दिनुभयो । 

इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्तका अनुसार राजनीतिक अधिकार, बालअधिकार, घरेलु हिंसा, अभद्र व्यवहार र हत्या प्रयासलगायतका मानव अधिकारसम्बन्धी घटना घटेको पाइएको छ । त्यस्तै राजनीतिक अधिकारका दुई, बालिका बलात्कार र बलात्कार प्रयाससम्बन्धी १५, घरेलु हिंसा २५,  बलात्कार ८, हत्या ४, बहुविवाह ३, अभद्र व्यवहार १ र हत्या प्रयासका २ गरी कूल ६० वटा घटना घटेको उहाँको भनाइ छ । गत आर्थिक वर्षमा ६६ मानवअधिकार उल्लङ्घनका घटना घटेका थिए । कोरोना भाइरस सङ्क्रमणका कारण मानव अधिकार उल्लङ्घनका घटना घटेपनि उजूरी नगर्दा यो सङ्ख्यामा कमी देखिएको बताइएको छ । 

“लैङ्गिक हिंसाका घटनाहरु पहिला पनि नभएका होइनन्”, नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठले ‘गोप्य रुपमा परामर्श तथा उपचारका कारण पीडितहरु खुल्न थालेका हुन् ।” उहाँका अनुसार बलात्कार, जबर्जस्ती विवाह, पितृसत्तात्मक सोच, मनोवैज्ञानिक असर तथा आफन्तलगायत कारण लैङ्गिक हिंसा हुँदै आएको पाइएको छ । तीन वर्षदेखि ९६ वर्षका उमेर समूहका महिला तथा पुरुष हिंसामा परेका छन् । तीमध्ये अधिकांश १४ देखि ५९ वर्ष उमेर समूहका रहेका छन् ।

महिला तथा पुरुषले भोगेका हिंसामध्ये तीन प्रतिशत मात्रै कानूनी प्रक्रियामा जाने गरेका छन् । लैङ्गिक हिंसामा पर्ने अधिकांश दलित तथा न्यून वर्गीय समुदायको रहेको उहाँको भनाइ छ । इन्सेकले दुरदराजमा लुकेर बसेका मानव अधिकार उल्लङ्घनका घटना बाहिर ल्याउनुपर्ने उहाँले बताउनुभयो ।  “कोरोनाकालमा थुप्रै मानव अधिकार उल्लङ्घनका घटना भएका छन्, कोरोनाले झनै मानव अधिकारको विषय डरलाग्दो अवस्था थियो, तर ती सबै घटना बाहिर आउन नसक्नु दुखद् हो” उहाँले भन्नुभयो, “मानव अधिकारको यथार्थ विवरण पस्किदै आएको इन्सेक वर्ष पुस्तकले सरोकारवालालाई झकझकाउँदै आएको छ ।”

बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बागलुङ जिल्ला मानव अधिकार उल्लङ्घनका विषयमा सेचत रहेको बताउनुभयो । महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाको अधिकारमा मात्रै सीमित नभएर समग्र मानवअधिकारको अवस्थाबारे नागरिक समाज सेचत रहनुपर्ने बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले राज्यपक्षबाट मानवअधिकार उल्लङ्घन हुन नदिन आफूहरु संवेदनशील रहेको भन्दै उहाँले पछिल्लो समय महिला अधिकारको नाममा झुट्टा मुद्दा दर्ता गर्न आउनेहरुको सङ्ख्यामा वृद्धि हुन थालेको बताउनुभयो ।  उहाँले गलत मुद्दा र झुटा पीडितको कारणले वास्तविक पीडितमाथि समुदायले हेर्ने नजरसमेत फरक देखिन थालेको भन्दै सरोकारवाला यसप्रति संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  १ : १६ बजे