राष्ट्रपति भवनमा घटस्थापना

हट्यो सात सय ७४ स्थानको पहिरो : यी हुन् खुल्न बाँकी मुख्य राजमार्ग

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गका आठ सय पाँच स्थानमा पहिरो गएकोमा सात सय ७४ स्थानको पहिरो हटाइएको बताएको छ।

मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सुचारु गरिएको जानकारी दिएको हो।

यस्तै, पाँच मुख्य राजमार्गका ३९ स्थानमा पहिरो हटाउने प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ। 

खुल्न बाँकी मुख्य राजमार्ग

अरनिको राजमार्गको लार्चा–कोदारी ५ किमी सडकखण्ड अझै सुचारु हुन सकेको छैन। यस क्षेत्रमा लिपिङ् पुल र लार्चाको बेलिब्रिज बगाएका कारण यातायात अवरुद्ध छ। लार्चामा ह्युम पाइप र लिपिङ्मा बेलीब्रिज जडान गरेरयातायात सञ्चालन गरिने छ।

बीपी राजमार्गको चाँकीडाँडा–कालढुंगा १८ किमी सडकखण्डमा करिब १२ किमी सडक पूर्णरुपमा बगेका कारण बिच–बिचमा सवारी साधनहरु रोकिएका छन्। यस क्षेत्रमा दुवै तर्फबाट पहिरो सफा गर्ने तथा रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्म सबै विकल्प प्रयोगरी अस्थायी रुपमा यातायात सञ्चालन गर्ने प्रयास जारी छ।

पुष्पलाल (मध्यपहाडी) राजमार्गको दोलालघाट–राकथुम ८० किमी सडकखण्डमा धेरै ठाउँमा पहिरो गएका कारण दुवै तर्फबाट पहिरो पन्छाउने कार्य भइरहेको छ। यो क्षेत्रमा बर्दिबासबाट बीपी राजमार्ग भएर आउने सवारी साधनलाई दोलालघाट हुँदै काठमाडौं प्रवेश गराइने बताइएको छ।

कान्ति राजपथको घपेली–बगुवा १३ किमी र बागमती पुलको दाँया–बाँया पहुँच मार्गमा मकवानपुर तथा ललितपुर दुवै तर्फबाट पहिरो सफाइ गर्ने कार्य जारी छ।

मेची राजमार्गको रमिते–फिदिम आठ किमी हेंवा पुलसहितको सहडमा पहिरो पन्छाउने तथा हेंवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिने योजना रहेको मन्त्रालयले जनाएको छ। 

क्षति भएका पुल 

यसैगरी, अरनिको राजमार्गतर्फ लिपिङ १७ मिटर, लार्चा ४५ मिटर क्षति भएको छ। बीपी राजमार्गतर्फ सुनकोशी–खैरेनीटार ५० मिटर, सुनकोशी–फोक्सिङ्टार ११० मिटर, सुनकोशी–खुर्कोट ५० मिटर क्षति भएको छ।

मेची राजमार्गतर्फ हेंवा खोला पुल ५० मिटर, कान्ति लोकपथमा बागमति पुल १५ मिटर, माईपोखरी–सन्दकपुर इलामको रातेखोला पुल ३५ मिटर र कान्ति राजपथको बागमती पुल ५० मिटरमा क्षति भएको छ।  

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ५ : ०८ बजे