बाढीको स्थितिमा सुधार

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशन परिणत

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनको तयारी पूरा भएको छ ।  

माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलनका उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

देशव्यापी रूपमा कार्यकर्ता पङ्क्तिमा छाएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको माओवादीले जनाएको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा शनिवार साँझ बसेको स्थायी समितिको बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई आज बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने जनाइएको छ ।

स्थायी समितिको बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनप्रति जनआकर्षण एवं पार्टी पङ्क्तिमा पनि विशेष चासो बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरिएको जानकारी दिनुभएको थियो । 

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय भएसँगै यसलाई आठौँ महाधिवेशनको नाम दिइएको छ ।

महाधिवेशनले पार्टीको समग्र नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालसम्म विकल्प देखिएको छैन । हाल माओवादीको केन्द्रीय समिति १७९ सदस्यीय छ ।

महाधिवेशनमा २९९ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरिने जनाइएको छ । यसमा दलितको प्रतिनिधित्व ४५ जनाको हुनेछ । मुस्लिम १५, महिला ६७, युवा ४८ र अन्य खुला १२४ जना सदस्य रहने व्यवस्था गरिएको छ ।

माओवादीले प्रौढ, वयस्क र युवाको तीन तहको सम्मिश्रणलाई पार्टीको केन्द्रीय समिति निर्माण हुने जनाएको छ । पाकाको अनुभव, युवाको जोसलाई देश निर्माणमा अगाडि बढाउने नीति अख्तियार गरेको छ ।

माओवादीको विधानले युवालाई २० प्रतिशतको हिस्सा छुट्याएको छ । कूल ४० वर्ष र सोही आसपासको उमेर समूहका नेतालाई विशेष भूमिका दिने तयारी गरिएको छ ।

माओवादीको अन्तरिम विधान २०७८ को धारा १६(४) र धारा ३८(१–८) अनुसार महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिम पाँच प्रतिशत रहने गरी व्यवस्था गरिएको छ । यस पटक माओवादीले पुनः बहुपदीय प्रणालीको अवलम्बन गर्ने भएको छ ।

यस पटक माओवादीले पुनः बहुपदीय प्रणालीको अवलम्बन गर्ने भएको छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ११ : ३३ बजे