काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने हुनुभएको छ ।
आइतबार अपराह्न ३ः०० बजे उद्घाटन हुने माओवादीको आठौँ महाधिवेशनमा एमाले अध्यक्ष ओली सहभागी नहुने हुनुभएको हो ।
उहाँ पूर्वनिर्धारित विभिन्न कार्यक्रममा सहभागी हुन शनिवार गृह जिल्ला झापा पुग्नुभएको छ ।
झापामा रहनुभएका अध्यक्ष ओलीले आफू सकेसम्म उद्घाटन सत्रमा सहभागी हुने नसके महासचिव शङ्कर पोखरेलले सहभागिता जनाउने जानकारी दिनुभएको बताइएको छ ।
“माओवादीको महाधिवेशनमा अध्यक्षज्यू सहभागी हुनहुन्न,” अध्यक्ष ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईँले भन्नुभयो । शनिवार झापा जानुभएका अध्यक्ष ओलीले सोमबार वा मङ्गलवार मात्र काठमाडौँ फर्कने प्रेस सल्लाहकार बजगाईँले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्रको आज बिहान बसेको केन्द्रीय कमिटीको बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशनमा रूपान्तरण गरेपछि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई शुभकामना दिन आमन्त्रण गरिएको छ ।
प्रकाशित मिति : ११ पुस २०७८, आइतबार ११ : १८ बजे
प्रतिक्रिया