अहिलेको नेकपा एमाले “बा”को समानार्थी शब्द जस्तै छ । भनिन्छ, जब कुनै मुर्झाएको नेता कार्यकर्ता वा व्यक्ति केपी ओलीको नजिक पुग्छ उसमा पुरै उमङ्ग जोस र जाँगर पैदा हुन्छ । यस्तो लाग्छ ! जति सर्च गरे पनि केपी बाको दिमागको हार्डडिस्कमा हरेस र थकाइ भन्ने भेट्दै भेटिन्न र उहाँको शब्दकोशमा निराशा भन्ने शब्द नै छैन ! जननेता मदन भण्डारीले भन्नुभएको ‘राजनीतिमा थकाइ भन्ने शब्दावली नै हुँदैन’ भन्ने भाष्यका व्यावहारिक प्रयोक्ता हुनुहुन्छ उहाँ । उहिले हामीले देखेकै हो ! जब केपी बालाई पराजित गर्यौँ भनेर कोही कोही लद्दूहरूले चितवनमा पुगेर लड्डु खाए तर त्यसको केही दिनपछि तिनीहरूलाई त्यै लड्डुले छेरपाटी चल्यो र चित खाए । तर पराजित भनिएका केपी बाका ओठमा झनै विजयको मुस्कान चल्यो र आत्मविश्वासको जादु पनि ।
त्यसरी पनि नसकेपछि केपी बालाई बालकोट पुर्याउन भनेर केही सुपारी लिएका बडेबडे सिन्डिकेटधारी वकिलहरू, तिनैका इसारामा नाच्ने न्यायाधीशहरू, लड्डु खाएर छेरपाटी चलेका लद्दुहरू, गन्नै नसकिने जति र आ–आफ्ना पालामा लछारपाटो नलाएका भूतपूर्वहरू र भएजतिका जम्मै दलहरू मिलेर सेटिङ् गरी बा विरुद्ध परमादेश नामको गाईजात्रे आदेश जारी गर्न लगाए । त्यसले पनि बाको बाल बाँका गर्न सकेन । बालुवाटारमा बस्दाभन्दा बालकोटमा पुगेपछि केपी बाको ऊर्जा उहाँको नेतृत्वमा एमालेको शक्ति र साख अनि कार्यकर्तामा उत्साह दिन दुगुना रात चौगुना बढेको देख्ने क्रम चलिरह्यो । परमादेशको अलोकतान्त्रिक एवम् घृणित अस्त्र प्रयोग गर्न न्यायालयलाई धम्क्याउने केही वकिलहरू रुझेको बिरालो झैँ न्यायाधीश हटाउने न्याय माग्न बालकोटको बार्दलीमा पुगेको र ‘हजुरको दैलामा आएपछि पनि न्याय नपाए हामी कहाँ जानु भन्दै’ गिडगिडाएको विचित्र दृश्य पनि यिनै आँखाले देखिएकै हो र बाको साख र शक्तिले यिनको दिमाग चकराएकै हो ।
यथार्थ के हो भने, संविधान निर्माण र त्यसपछिको सेरोफेरोको दशकमा नेकपा एमाले मुलुककै आक्रामक हस्तक्षेपकारी र लोकप्रिय पार्टी बनाउने अभियन्ता पनि हुनुहुन्छ उहाँ । कार्यकर्ताका तहमा अत्यन्तै ऊर्जावान्, लगनशील र जागरूक पार्टीको नेतृत्वमा उहाँभन्दा पहिले जो जो थिए तिनमा त्यो स्तरको आँट र भिजन नहुँदा; चुनौतीसँग जुध्ने र चुनौती दिन आउनेलाई लल्कार्ने हिम्मत नहुँदा टाक्सिएको, खुम्चिएको र खुरुखुरु अरू पार्टीको पछिपछि लुरुलुरु हिँड्ने अनि लैङ्गिक पहिचान नखुलेको भनी उपहासको विषय बनाइएको दलको बागडोर केपी ओलीको हातमा परेपछि नेकपा एमाले बाघ बनेर गर्जन थालेकै हो । मुलुकका हरेक पार्टीहरू नेकपा एमाले र त्यसको सारथि केपी ओलीकै राजनीतिक रथका वरिपरि परिक्रमा गर्न थालेकै हुन् । अर्थात् केपी बालाई सधैँ राजनीतिको रिड् बाहिर राखेर रेस्लिङ खेल्नेहरू र जित्याँै भनेर फ्वाँफ्वाँ गर्नेहरू केपी ओली रिङ्भित्र पस्नासाथ तोवातोवा भएकै हुन् ।
खुनखराबा गरेर मुलुक कब्जा गर्छु भनेर एउटाको ढाडमा टेक्दै अर्काको टाउकामा प्रहार गरेँ भन्दै उट्पट्याङ राजनीति गर्नेहरूको राजनीतिको खेतीमा खडेरी परेका बेला बाले नै तिनलाई चालिस प्रतिशत चुनावी सिटको सिँचाइ गरी पुनः पराजयको मरुभूमिमा विजयको हरियो दुबो उमारिदिनुभएकै हो । बाको शक्ति र ताकतका बलमा चुनाव जितेर ती साइँदुवाहरू बा माथि नै जाइलागे र मुलुकमा जनताले पाँच वर्षसम्म वामपन्थी सरकार चलाउन दिएको जनादेशमा सिटका सम्पत्ति लुटेर पोको पार्दै परमादेश प्रभुका पाउमा चढाए र जनतामाथि सिधै नमकहरामी गरे । अहिले त्यही लुटेका सिटका सरसामान जोरजाम पारेर स–साना पार्टी बनाएर रूखमुनि ओत लागेका छन् र दुई चार वटा मन्त्रीको भिख मागेर र नियुक्तिका जुठा दुना टपरी चाटेर आगामी चुनावमा हुरीले नबढारियुन्जेल गुजारा चलाउने मेलोमेसो गर्दैछन् । बालाई लखेट्छु भनेर डुड्डाउनेहरू अहिले “उडाउने भो सपना सबै चुनावले … “ भन्ने रुन्चे प्यारोडी गीत गाएर बाटामा बटुको थापेर एक दुई वटा लाभका पदका सुका चाराना मागिरहेछन् ।
परमादेशको अलोकतान्त्रिक एवम् घृणित अस्त्र प्रयोग गर्न न्यायालयलाई धम्क्याउने केही वकिलहरू रुझेको बिरालो झैँ न्यायाधीश हटाउने न्याय माग्न बालकोटको बार्दलीमा पुगेको र ‘हजुरको दैलामा आएपछि पनि न्याय नपाए हामी कहाँ जानु भन्दै’ गिडगिडाएको विचित्र दृश्य पनि यिनै आँखाले देखिएकै हो र बाको साख र शक्तिले यिनको दिमाग चकराएकै हो ।
दुनियालाई थाहै छ ! अनेक प्रकारका घातीहरूले छानु लुछेको र डाँडा भाटा अलिअलि नोक्सान पुर्याएको नेकपा एमालेको घरलाई पुनरुद्धार गर्ने र धरहरा जस्तै उँचो बनाउने मिसनमा बा लाग्नुभएको छ र त्यसैका लागि नेकपा एमालेको नेतृत्व चयनमा अहिले सहमतिलाई प्राथमिकता दिइएको होला । पार्टीलाई धुलो टकटक्याएर उठ्नका लागि हालको परिस्थितिमा नभै नहुने यो सहमतिको सूत्र बाले नै तयार पार्नु भएको हो । यसलाई पार्टीको जीवनमा ऊर्जा ल्याउने गरी प्रयोग होस् भन्ने बाको मनसाय हुनुपर्छ, तर नेकपा एमालेमा सहमतिको यो सूत्रलाई साँच्चै केपी बाले चाहेझैँ र आम कार्यकर्ताले सोचे झैँ उहाँबाट विश्वासको लाइसेन्स प्राप्त पात्रहरूबाट अकलुषित र पार्टीको जीवनमा ऊर्जा ल्याउने गरी प्रयोग भइरहेको छ वा अबका जिल्ला र प्रदेश अधिवेशनमा त्यसरी प्रयोग होला कि नहोला भन्ने पिरलो पनि बढ्दो छ ?
खास कुरो चाहिँ एकाघरमा बसेका नयाँ पुराना सबैलाई इस्पातजस्तो दरिलो बनाएर लैजाने भन्नेमा बाको धोको नै होला । बाले व्याख्या गर्नुभएको सहमति र बाको फोटो बोकेर हिँडेकाहरूले प्रयोग गरेको सहमतिको बिचमा कतै नजानेर केही कमजोरी पो भएका छन् कि ? वा जानीजानी कतै त्यसको दुरुपयोग पो भइरहेको छ कि भनेर आशङ्का पैदा हुनु स्वाभाविकै हो ।
आफ्नो हुँदा खाँदाको सांसद र मन्त्री पद तिलाञ्जलि दिएर केपी ओलीको भिजन नेकपा एमालेको बहुदलीय जनवादको नीतिप्रति समर्पित समूहलाई र नेकपा कालमा जेजस्तोसुकै रवैया देखाए पनि नेकपा एमालेको मूलधारमा दश बुँदेको गोरेटोबाट आएको समूहलाई समेट्न सहमति अनिवार्य नै थियो । पार्टीको मूलधारमा घुलमिल र समाहित गर्न सहमतिबाहेक अर्को विकल्प थिएन पनि । अर्को कुरो महाधिवेशन होस् वा निर्वाचन त्यहाँ थोरै व्यक्ति नै प्रतिनिधि वा नेतृत्वमा चुनिने हुन् । चुनाव हुँदा हार्नेहरूले आफै चित्त बुझाउने स्थिति हुन्छ भने सहमतिमा चयन गर्दा चुनाव भए म जित्थेँ भन्ने भ्रम रहन्छ । यस्तो अवस्थामा छानिन वा चुनिन नसकेका त्यस्ता नेता वा कार्यकर्तामा ऊर्जा थप्न मातहतको माथिल्लो नेतृत्वको नेतृत्व कौशल र अभिभावकत्वको आवश्यकता पर्दछ । पार्टीमा जिम्मेवारीहरू बाँडिएका छन् र विभिन्न विभागहरू गठन भइसकेका छन् ती जिम्मावाल र विभागहरूले कुन कुन ठाउँमा केकस्तो असन्तुष्टि छ त्यसलाई तलबाटै मिलाउँदै लानु जरुरी छ ।
अहिले जसले जतिसुकै चुरीफुरी गरे पनि हाललाई ‘ठण्डा मतलब कोकाकोला’ भनेझैँ अहिलेलाई ‘एमाले मतलब “बा” हुनुहुन्छ भन्ने नै जनताले बुझेका छन्, किनकि बाको फोटो हेर्दा त्यहाँ बुढाबुढीले वृद्ध भत्ता देख्दा हुन् । भूपरिवेष्टितताको पीडाबाट पिल्सिएकी नेपाल आमाले त्यहाँ आफूमा भूजडितताको नयाँ बैँस थपिएको अनुभूति गर्दी हुन् । नाग ढुङ्गाको जामले सुरुङ मार्ग हेर्दै बालाई नै झलझली सम्झँदो हो । भत्केको धरहराले घरी ऐना हेर्दै र घरी बालकोट हेर्दै गरेर बाकै याद गर्दो हो ! बूढो दरबार स्कुलमा नयाँ जवानी चढेको र चाउरी परेकी रानी पोखरीमा नयाँ बैस चढेकोमा दुवैले एक अर्कालाई हेरेर पिरती गाँस्दै बासँग आशिष माग्न जाने सुर गर्दा हुन् । आफ्ना नाममा सङ्ग्रहालय बनाइएकामा महाकवि देवकोटाको आत्मा प्रसन्न भई बाकै बारेमा कुनै काव्य वा कविता रच्ने सुरसार गर्दा हुन् । लुटिएको जग्गा संविधानको लालपुर्जामा समावेश भएकामा नेपाल आमाले बामाथि नै भावी चुनावमा विजयको आशिष बर्साउने सुरसार गर्दै होलिन् । बालाई सम्झेर बाप्रति कृतज्ञता जनाउने यो मुलुकका यस्ता कैयौँ विकास र समृद्धिका अनगिन्ती उदाहरणहरूको सूचि निकै लामो छ ।
केपी ओलीमा अनन्त ऊर्जा छ; त्यो ऊर्जा नेकपा एमाले निर्माणमा र एमालेको विजयमा पुनः अर्कोपल्ट खनिँदो छ, त्यै भएर त बा गर्जँदा नारायणीका किनारमा जनैजनको भेल उर्लियो । पर्सा र कपिलवस्तुमा बा पुग्दा एमालेप्रति देखिएको जनलहरले बाका पैतालाले जहाँ टेके त्यही बाको जादु चलदोरहेछ भन्ने प्रमाणित नै भयो । एमालेको लोकप्रियताको धारलाई भुत्ते बनाउँछु भनेर कुर्लनेहरू आफै भुत्ते बने र नेपाली राजनीतिको म्याद गुज्रेको दबाई बनिसके ।
तर यता पनि सबै ठिकठाक छ भनेर कानमा तेल हालेर बस्न भएन । अरू दलबाट धुइरो लाएर धमाधम यताउति प्रवेश गरे भनेर खुसी त बनौँ नै ! तर आफ्ना पुरानाहरूको प्रतिरोधी क्षमता कमजोर बन्न नदेऔँ । सहमति गर्दा अन्यायको घाउ लागेको महसुस भएछ भने पनि बापछिको रोल क्रममा रहेकाहरूले मलमपट्टी लाइदिउन् । अनि त बाले बजाएको चुनावी नगरा र नर्सिंहाको तालमा नाच्न र चुनावी समरमा होमिन आम कार्यकर्ताको तँछाडमछाड हुनेछ अनि बाले नेतृत्व गरेको एमाले पार्टीको चुनावी बाकस भरिदिन आम जनता लामबद्ध हुने नै छन् र परमादेश माग्ने थाङ्नेहरूलाई जनादेशले तोरीको फूल देख्ने गरी गालामा पराजयको झाप्पु दिनेछ ।
प्रकाशित मिति : ११ पुस २०७८, आइतबार १० : २७ बजे
प्रतिक्रिया