काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेबाहेक देशमा कुनै वामपन्थी दल नभएको दाबी गर्नुभएको छ ।
नेकपा एमाले झापाले शनिवार बिर्तामोडमा आयोजना गरेको १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा उहाँले वामपन्थी सरकार ढालेर काँग्रेसको नेतृत्वमा सरकार बनाउने वामपन्थी हुन नसक्ने दाबी गर्नुभएको हो ।
अध्यक्ष ओलीले देश बनाउने नीति एमालेबाहेक अरू कसैसँग नभएको उल्लेख गर्दै एमालेले आफूलाई नै चिन्न आवश्यक भएको बताउनुभयो । उहाँले अनेकौँ समस्याको सामना गरेर नेकपा एमालेले देश विकासको अभियानलाई उचाइमा पुर्याएको दाबी पनि गर्नुभयो ।
चितवनमा सम्पन्न पार्टीको दशौँ महाधिवेशनबाट अध्यक्ष ओलीसहित जिल्लाबाट केन्द्रीय समितिमा निर्वाचित सदस्य, जिल्लाका विभिन्न कमिटीमा निर्वाचित १४६ लाई सो अवसरमा नेकपा एमाले झापाको तर्फबाट सम्मान गरिएको थियो ।
पार्टी अध्यक्ष ओलीलाई एमाले झापाका तर्फबाट अभिनन्दनसमेत गरिएको थियो ।
प्रकाशित मिति : ११ पुस २०७८, आइतबार ७ : ३३ बजे
प्रतिक्रिया