खत्तिविज्जा : साध्य र साधनमाथि नीतिको प्रश्न

भारतीय लेखक पण्डित मोहनलाल महतोको ‘जातक कालीन भारतीय संस्कृति’ को सुरुतिर नै ‘खत्तिविज्जा’ उल्लेख छ । मैले कहिल्यै सामना गर्न नपरेको यो शब्दले मेरो गिदी नचिथोर्ने कुरै थिएन । धेरै समय यो शब्दलाई निचोरेर सार निकाल्ने प्रयास गरेँ । बाहिरतिर पनि बुताले भ्याएसम्म खोजेँ र केही बुझेँ कि झैँ लाग्यो, तर यो नै पूर्ण हो भन्ने दाबी मेरो छैन । खत्तिविज्जाको सामान्य अर्थ आफूलाई लाभ नभए पनि अरूलाई हानि गर्ने दाउपेच वा आन्तरिक प्रहार वा चोट भन्ने बुझिन्छ । 

महतोले यो शब्दको उल्लेख बुद्ध कालको बिन्दुमा उभिएर गरेका हुनाले यसको सन्दर्भ त्यतैतिर खोज्दा बढी समीचीन होला झैँ लाग्छ । तर, यसको प्रभाव मानव—मानवबीच द्वन्द्व सुरु भएदेखि नै सुरु भएको जस्तो देखिन्छ । 

आजभोलि पनि हाम्रो राजनीतिमा र हाम्रो समाजमा पनि यसको प्रभावलाई प्रष्टै देख्न सकिन्छ । फरक यतिमात्र हो कि यसलाई अचेल खत्तिविज्जाको नामले चिनिँदैन । यो शब्द पाली भाषाको प्रभावसँगै प्रचलनमा आयो र त्यसको भाषिक प्रभाव निस्तेज भएसँगै विस्मृतिमा विलय हुँदै गयो । शब्दको विलय भएर गए पनि खत्तिविज्जाको प्रयोग भने झनै बढेर गयो । यो सन्दर्भमा यहाँ व्यक्तिगत क्रियाकलापभन्दा राज्यसत्ताका एक—दुई घटनाहरूलाई उदाहरणका रूपमा समेट्ने जमर्को गरिएको छ ।  

लक्ष्य अथवा साध्य नीतिगत मूल्य अनुकूल छ, छैन भन्ने प्रश्न पहिलो प्रश्न हो । यदि साध्य उचित छ भने त्यसलाई कसरी प्राप्त गर्ने भन्ने प्रश्न त्यसैसँग जोडिएर आउने हो । यसै छिद्रलाई उपयोग गर्दै खतिविज्जा राजनीति र अन्य मानवीय व्यवहारमा समेत खेल्दो रहेछ भन्ने धेरै घटनाहरू प्राचीन कालदेखि आजसम्म घटित भई आएका छन् ।      

‘खत्तिविज्जा’ सत्ताको रणनीतिक विज्ञान हो भन्दा पनि फरक पर्ने देखिन्न । यसलाई लक्ष्य हासिल गर्न जस्तोसुकै प्रयास गर्न छुट दिने अवसरवादी विचार पनि भनिँदो रहेछ । पाली भाषाको यस शब्दलाई केलाउन नीति शास्त्रको सहारा लिन आवश्यक देखिन्छ । नीति शास्त्रमा शुभ—अशुभ, साध्य—साधनको सन्दर्भमा निकै निकै चर्चा पाइन्छ । 

असल उद्देश्य प्राप्तिका लागि असत् प्रयास गर्न उचित हो वा असल उद्देश्यका लागि प्रयास पनि उचित नै हुनुपर्दछ भन्ने बहसको तराजुबाट खत्तिविज्जालाई बुझ्न सजिलो हुनेछ । खत्तिविज्जाले उद्देश्य प्राप्तिका लागि जस्तोसुकै कर्म गर्न हुने कुराको खुला वकालत गर्दो रहेछ । यसरी हेर्दा यसको प्रयोग बुद्ध कालभन्दा धेरै अगाडिदेखि आज पर्यन्त हुँदै आएको रहेछ र सम्भवतः भविष्यमा पनि हुँदै रहने छ । ईसापूर्व चौथो शताब्दीमा चाणक्यले अर्थशास्त्र यही विचारको जगमा लेखेका छन् । उनी तत्कालीन शिक्षाको केन्द्र तक्षशिलामा आचार्य पनि थिए । पछिल्ला दिनहरूमा उनले मगधमा आएर खत्तिविज्जाको चरम प्रयोग गरे । नन्द वंशका राजा घनानन्दलाई सत्ता च्युत गरेर चन्द्र गुप्तलाई मगधको सत्तामा पुर्‍याउन उनले खत्तिविज्जा प्रयोग गरेका थिए । मगधमा नै उनको घातपूर्ण दुःखद अन्त्य भएको बताइन्छ ।

उद्देश्य र उद्देश्य प्राप्तिका निम्ति गरिने प्रयास दुवै शुभ हुनुपर्ने तथा उद्देश्य प्राप्तिका लागि गरिने प्रयास शुभ हुनु नपर्ने भन्ने मत प्राचीन कालदेखि नै पूर्वीय वैचारिक क्षेत्रमा छ भने आधुनिक पश्चिमेली जगत पनि यसबाट अछुतो छैन । मोहनलाल महतो परापूर्वकालका नारद, पिशुनाचार्य, उद्धव, वृहस्पति, शुक्राचार्य, भारद्वाज, कौणपदन्ताचार्य जस्ता आचार्यहरू पनि हत्या—हिंसा, धोकाधडी, फरेबको सहारा लिने गरेको उल्लेख गरेका छन् । स्वयं श्रीकृष्णले गीतामा पापलाई नाश गर्न हिंसाको उपयोग अनैतिक नहुने बताएका छन् । 

यसले राजनीतिलाई एउटै नैतिक सिद्धान्तमा होइन, अवसरवादी चरित्रको भन्ने आरोप लाग्ने गरेको देखिन्छ । कृष्णका समकालीन विदुरले भने राजनीतिमा देखिने यस्तो अवसरवादले बहुजन हितमा पार्ने नकारात्मक असरको मानकबाट जाँच्ने गरेको पनि पाइन्छ ।    

 बुद्ध खत्तिविज्जाको विरोधी थिए र पनि यसको प्रयोग उनको समकालका शक्तिशाली सत्ताहरूले गर्ने गरेका प्रशस्तै उदाहरणहरू भेटिन्छन् । उनको अष्टांगिकमार्गले साध्य र साधन दुवै शुभ हुन आवश्यक भएको देशना दिन्छ । उनले पेसा, विचार, कर्म सबै शुभ भए मात्र निर्वाण सम्भव हुने बताएका छन् । कुनै पनि परिस्थितिमा अरूलाई कष्ट पुर्‍याउने हिंस्रक प्रयास बुद्धलाई मान्य छैन । बुद्धका समकालीन निगण्ठ नाथपुत्र (जैन महावीर) पनि यो सवालमा बुद्धकै समकक्षमा उभिएका छन् ।

बुद्धको यो विचार राजनीतिमा उतार्ने प्रयास भारतमा गान्धीले गरे । उनले अङ्ग्रेज विरोधी स्वतन्त्रता सङ्ग्राममा अहिंसात्मक आन्दोलन गरे । त्यसबेला गान्धीको यस्तो तरिका मन नपराउने र हिंस्रक अङ्ग्रेजलाई हिंसात्मक प्रतिवाद गरेर नै परास्त गर्न सकिने धारणा भएका धेरै त्यागी युवा नेताहरू पनि थिए । तर, पनि अङ्ग्रेजलाई भारत छोड्न बाध्य पार्ने जस गान्धीले नै पाए ।

बुद्धलाई गुरु मान्ने हर्यकवंशका मगध सम्राट् बिम्बिसारलाई उनकै पुत्र अजातशत्रुले बन्दी बनाएर बन्दी गृहमा विना अन्न—पानी यातना दिई मृत्युवरण गर्न बाध्य पारेको थियो । उसो त अजातशत्रु देवदत्तको हितैषी भए पनि बुद्धप्रति आफूmलाई समर्पित देखाउने गर्दथ्यो । देवदत्त बौद्ध इतिहासका नकारात्मक पात्र मध्येको एक हो । अजातशत्रुको समयमा नै कुशीनारामा बुद्धको महापरिनिर्वाण (४८३ ई.पू) भएको थियो । बुद्धको अस्तु लिन अजातशत्रु सेना सहित कुशीनारा पुगेको थियो । अस्तु ल्याएर उसले राजगृहको पहाडमा स्थापित गरेको थियो । उसको बुद्धप्रतिको श्रद्धा आडम्बर मात्र थियो कि झैँ लाग्छ । वैशाली गणराज्यलाई आन्तरिक रूपले कमजोर पार्न अजातशत्रुले कुटील वर्षाकारलाई प्रयोग गरेर वैशालीको अस्तित्व नामेट पार्‍यो । लोकप्रियताको शिखरमा रहेका बुद्ध र महावीरको समकालमा खत्तिविज्जाका यस्ता घटनाहरू अहिले हेर्दा अपेक्षित जस्तो लाग्दैन । तर, तीतो यथार्थ थियो त्यो । अजातशत्रु आफै पनि खत्तिविज्जाको शिकार भयो । उसलाई पनि उसको पुत्र उदयभद्रले हत्या गरेर आफूलाई राजा घोषित गरेको थियो । यसरी हर्यकवंशलाई इतिहासमा पितृहन्ता कुल भनेर चिनिन्छ । 

त्यसै समयका कोशल देशका राजा प्रसेनजित मेदालुप गाउँमा बुद्धलाई भेट्ने उद्देश्य लिएर गएका बेला सत्तालोलुपताका कारण उनको छोरा विड्डव र मन्त्री दीर्घकरायणले अपदस्त गरे । त्यसबेला प्रसेनजितका सेनापति बन्धुल मल्ललाई दक्षिणतिर कुनै विद्रोह दबाउन पठाइएको थियो । त्यहीँ नै उनको हत्या भयो ।  प्रसेनजित शरणको याचना गर्न मगधका राजा अजातशत्रु कहाँ गए, तर भेट्न पाएनन् । नगरको मूल ढोकामा नै उनको देहान्त भयो । इतिहासमा देखिने यस्ता घटनाहरूले खत्तिविज्जाको अनुहारलाई छर्लङ्ग पार्न मद्दत गर्छ ।  

(लेखक साहित्य र इतिहासका अध्येता हुनुहुन्छ ।)

 

 

 

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  १० : ५१ बजे