म देख्छु,
म देख्छु कालो बादल मण्डराइरहेको,
पश्चिमबाट कोही आइरहेको,
न मानवझैँ देखिन्छ त्यो न पशु,
हर पाइलामा बिचल्ली मच्चाइरहेको ।
म सुन्छु,
म सुन्छु यता गुहार्दै छन् ईश्वर,
रोई कराई पुकार्दै छन् ईश्वर,
ऊ त्यही ईश्वरको खोल ओढी आउँदै छ,
सबलाई दङ्ग पार्दै निल्दै छ,
स्वतन्त्रताको लाहा छापी संस्कार बिथोल्दै छ,
आ–आफ्नैबीच लडाउँदै छ ।
म सोच्छु,
अनि म सोच्छु खेर यो त हुनै थियो,
कलि जो शिरमा विराजमान थियो,
परिवर्तनको नियम के सही के गलत ?
अन्धकारले उज्यालो जो ढाकेको थियो,
अब विध्वंस मच्चाउँदै आउनेछ न्याय,
बेहोस दुनियाँ ब्युँझिनेछ,
भविष्यको भूत वर्तमानमा बिलाउनेछ ।
प्रकाशित मिति : १० पुस २०७८, शनिबार १० : १४ बजे
प्रतिक्रिया