बाढीको स्थितिमा सुधार

 येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदै छन् । 

आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । 

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिनुभयो । 

उहाँले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीन वटै दिवसका रूपमा मनाउने गरेका छन् । 

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उहाँले सुनाउनुभयो । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउने थालेको हो ।

दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । यस वर्ष भने सबैलाई सार्वजनिक बिदा दिइएको छ । 

हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । तेह्र हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । 

महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा क्रिसमस महोत्सव, २०७८ आयोजना गरिएको छ । कार्यक्रममा सरकारका प्रतिनिधि तथा मानव अधिकारवादीलगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताउनुभयो ।

पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेष गरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ । 

गत वर्ष कोरोना महामारीका कारण क्रिसमसमा चहलपहल कम भएको थियो । यस वर्ष भने पर्यटक आउने क्रम सुरु भएकाले पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ ।

 

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ७ : १८ बजे