महिला-पुरुष प्रतिद्वन्द्वी कि कर्तव्यमुखी आमा ?

हामी कस्तो बनेका छौँ भने फरक भन्नासाथ सानो—ठुलो, उँच—नीच खोजिहाल्ने । फरक हुनु भनेको ठुलो—सानो हुनु हो र ? होइन नि ! हामी फरक भएर पनि समान हौँ भन्ने दृष्टिको विकास गर्न आवश्यक छ । उस्तै—उस्तै मात्र समान मानिने हो भने फरकसँग त सधैँ समानताका लागि लडाइँ नै गरिरहनुपर्ला । लडाइँ गरिरहनुपर्ने अवस्थाले हामी कहाँ पुगौँला, त्यो पनि अझ आफ्नै घरभित्र ! 

हामीले कहिल्यै सोचेका छौँ, हामीले जसलाई महिला, नारी, स्त्री, आइमाई आदि भनेर उनीहरूका अधिकारबारे बहस गरिरहेका छौँ तीमध्ये कुनै हाम्री आमा हुन् । अधिकारका हिसाबले नसोच्दा महिलाका बारेमा सोच्दा हामीले यसतर्फ ध्यान दिएका छौँ ? अधिकारमुखी धारणाबाट होइन, कर्तव्यमुखी कोणबाट कहिल्यै सोचेका छौँ ? प्राकृतिक हिसाबले महिला र पुरुष बीचमा रहेको विशेषता हो । तर, हामीले यसैलाई कमजोरी खोज्ने औजार बनाएका छौँ । प्राकृतिक विशेषतालाई बिर्सेर फरक खालको भूमिका निर्धारण गरेर लैङ्गिक विभेद अवलम्बन गरिरहेका छौँ । अर्थात्, प्राकृतिक विशेषताका आधारमा गरिनुपर्ने सम्मानको ठाउँमा कमजोर, असक्षम, आरक्षणमा मात्र उभिन सक्ने बनाइदिएका छौँ । 

के अब पनि महिलाको काम भनेको खाना पकाउने, बच्चा हुर्काउने घरायसी काम गर्ने मात्रै हो त ? के उनीहरूको भूमिका घरभित्र मात्र सीमित राख्नपर्ने हो ? आर्थिक क्रियाकलाप र सामाजिक काम महिलाहरूबाट हुनसक्छ भन्ने विषयमा अझै पनि हामीले बहस नै गरिरहनुपर्ने हो ? 

आवश्यक पर्दा आफ्ना शत्रुहरूका विरुद्ध युद्धमा अघि सारिएका, स्तुति, प्रार्थना र प्रशंसा गरिएका आमाहरूलाई लडाइँ सकिएपछि नाक—कान छेड्ने, हात—गोडामा समेत विभिन्न धातुका गहना लगाइदिएर सुविधा सम्पन्न पार्दै अधिकार तथा सामाजिक भूमिकामा शून्य स्थितिमा पुर्‍याइएको हो । आमाहरूलाई देवीका रूपमा पूजा—प्रशंसा गर्ने तर शासन—शक्तिबाट पृथक् र सामर्थ्यमा लगाम लगाउने काम भएको हो । 

महिलाप्रतिको विभेद देख्दा आश्चर्य लाग्दछ । महिलाहरूले घरको काम गर्ने र पुरुषले बाहिरको काम गर्ने गरी गरिएको कार्य विभाजन साह्रै राम्रो विषय थियो । त्यतिबेला महिलाहरूको दुःख देखेर सहमतिमा गरिएको त्यो कार्य विभाजनबाट नै एकनिष्ठ विवाह प्रथाको विकासको एउटा महत्त्वपूर्ण प्रस्थान बिन्दु हो । 

समाजको विकासको अध्ययन गर्दा कुनै समय आमाहरूको सत्ता सञ्चालनमा मुख्य भूमिका रहेको पाइन्छ । इतिहासको त्यस कालखण्डमा मानिसहरू झुण्डमा बस्दथे । यस्तो झुण्ड वा समूहलाई कबिला भन्ने गरिएको पाइन्छ । कबिलाहरू समूहमा बस्ने र सामूहिक रूपमा जीविकोपार्जन गर्दथे । मानिसहरूका बीचमा खासै लडाइँ—झगडा हुँदैनथ्यो । प्राकृतिक विपत्ति आइलाग्दा सबै मिलेर समूहको रक्षा गर्दथे । 

महिलाहरू सुत्केरी हुने, सुत्केरी हुँदा कमजोर हुने हुँदा महिलाहरू प्रायः बासस्थानमा रहेर समूह व्यवस्थापनको काम गर्दथे । पुरुषहरू सिकार गर्ने, कन्दमूल र फलफूलको खोजी गर्ने, दाउरा—मुढाको व्यवस्था गर्ने गर्दथे । समूहको बसोबासको सम्पूर्ण हेरचाह गर्ने हुँदा त्यतिबेला महिलाकै नेतृत्वमा सबै समूहहरू चल्ने गर्दथे । निजी परिवारको संरचना र विवाह पद्धतिको विकास भई नसकेको कारण आमाकै नामबाट सन्तानको परिचय बन्दथ्यो । यसैले आमाकै नाममा वंश चल्दथ्यो र गोत्र निर्धारण हुन्थ्यो । वंश र गोत्रका प्रमुख हुने भएकोले समूहमा महिला सम्मानित हुन्थे । त्यसैले यस्तो व्यवस्था भएको समाजलाई समाजशास्त्रहरूले मातृसत्तात्मक समाज भनेका छन् ।

यस्तो समय निकै लामो रह्यो । खासमा महिलाहरू समेत शिकार, कन्दमूल, फलफूल, दाउरा—मुढा खोज्न हिँड्ने अवस्था महिलाहरूको हितमा नरहेको अवस्था थियो । विवाह संस्था÷पद्धतिको विकास नभइसकेको हुँदा शारीरिक÷यौन आवश्यकताको पूर्ति स्वैच्छिक थियो । खुल्ला यौन सम्बन्धका कारण बाबुको ठेगान हुँदैनथ्यो । यसले सन्तानको सुरक्षा तथा पालन—पोषणको जिम्मेवारी पुरुषमा रहँदैथ्यो । कार्य विभाजनको अभावमा जुनसुकै—जस्तोसुकै अवस्थामा पनि आफै खोजेर खानुपर्ने र आफ्नो सन्तानको सुरक्षा तथा पालन—पोषणमा आमाको जिम्मेवारी प्राकृतिक जस्तै बन्यो । लामो समयको अन्तरालमा यसले आमाको स्वास्थ्य, सुत्केरी अवस्थाको हेरचाह, सन्तानको लालन—पालन, पोषण र सुरक्षामा नकारात्मक असर रहेको चेतनाको ढोका खुल्यो । यही पृष्ठभूमिले विवाह संस्थाको उदय भयो, एकनिष्ठ विवाह पद्धति प्रारम्भ भयो । 

यस पद्धतिको विकासले आमा (महिला)को अवस्थामा सुधार ल्यायो । मातृ शिशु सुरक्षाको जिम्मेवारी पुरुषमा सर्‍यो । आमाले शिशु र बासस्थानमा व्यवस्थापन गर्ने र बाबु(पुरुष)ले आहार व्यवस्था गर्ने गरी परिवार व्यवस्थापनको, पारिवारिक संरचनाको जग बसेको देखिन्छ । विवाह संस्थाको विकास र पारिवारिक दायित्वमा महिला—पुरुष बीचको कार्य विभाजन यति सहज र प्राकृतिक देखिन्छ । 

समय बित्दै गयो । एक पति, एक पत्नी व्यवस्थामा समूह अभ्यस्त हुँदै थिए । तर पनि मानिसहरू समूहमा नै मिलेर बसेका हुन्थे । समय क्रममा वासस्थानको छनोट, शिकारको क्षेत्र आदि विषयमा समूह—समूहका बीचमा लडाइँ—झगडा हुन थाल्यो । यही मिलेर बसेको समूहमा सङ्ख्या र समूह पनि बढ्दै गयो । समूहको व्यवस्थापन भारी हुँदै गयो । समूह अनुशासन कमजोर हुँदै गयो । यस्तै यस्तै कारणहरूले लडाइँ—झगडा झाँगिँदै गयो । लडाइँ जो—जसका बीचमा भए पनि हार—जित हुनु स्वाभाविक हो । कसैले जिते, अर्काले हारे । संक्षिप्तमा भन्दा जित्नेहरू मालिक र हार्नेहरू दास बने । स्वाभाविक प्राकृतिक कार्य विभाजनका कारण लडाइँमा सहभागिता र नेतृत्व पुरुषको हुन्थ्यो । 

यी सबै बुझिसकेका मालिकहरू शक्तिशाली भइसकेका थिए । समाजका शक्तिशालीहरू सिङ्गो समाजमाथि पुरुषहरू घरका महिलामाथि प्रभाव जमाउँथे । दास युगमा महिलाहरूलाई नियन्त्रण गर्न प्रयोग गरिएका सामानहरूलाई गहनाको रूपमा विकसित गरियो । पुरुषको प्रभाव र वर्चस्वले महिलाहरूको सृजनशीलता तथा क्षमतालाई बिलासितामा परिणत गरिदियो । यसरी महिलाहरू आजबाट होइन, दास युग प्रारम्भ हुनु पूर्वदेखि  नै उत्पीडन सहँदै र भोग्दै आएका छन् ।

यही दास युगमा जितेका र हारेका दुवै पक्षको लडाइँको नेतृत्व र लडाइँमा सहभागिता पुरुष नै रहे । लडाइँको नेतृत्व र सहभागिता राखेका पुरुषहरू नै घरमा पनि मालिक बने र महिलाहरूलाई घरायसी काममा सीमित गरियो । लडाइँमा सहभागी भई जितेका पुरुषहरूले परिवारमा आफ्नो वर्चस्व कायम गर्न र आफ्नै नामबाट वंश निर्धारण गरी समाजमा समेत वर्चस्व स्थापित गरे । इतिहासको त्यसै कालखण्डदेखि महिलाहरूलाई अधिकार र भूमिकामा कमजोर बनाउँदै सुविधा र शृङ्गारमा सीमित पारिँदै आयो । 

यद्यपि, महिलाहरू आफू कमजोर थिएनन् । गर्भधारण गर्ने र सन्तान जन्माउने, सन्तानलाई स्तनपान गराउने, लालन—पालन, सुरक्षा र सम्भार गर्ने भूमिकाको जिम्मेवारी स्वीकार गरेका आमा/महिलाहरूलाई सामाजिक रूपमा  भूमिकाविहीन बनाउने काम भएको हो । 

के अब पनि महिलाको काम भनेको खाना पकाउने, बच्चा हुर्काउने घरायसी काम गर्ने मात्रै हो त ? के उनीहरूको भूमिका घरभित्र मात्र सीमित राख्नपर्ने हो ? आर्थिक क्रियाकलाप र सामाजिक काम महिलाहरूबाट हुनसक्छ भन्ने विषयमा अझै पनि हामीले बहस नै गरिरहनुपर्ने हो ? 

आवश्यक पर्दा आफ्ना शत्रुहरूका विरुद्ध युद्धमा अघि सारिएका, स्तुति, प्रार्थना र प्रशंसा गरिएका आमाहरूलाई लडाइँ सकिएपछि नाक—कान छेड्ने, हात—गोडामा समेत विभिन्न धातुका गहना लगाइदिएर सुविधा सम्पन्न पार्दै अधिकार तथा सामाजिक भूमिकामा शून्य स्थितिमा पुर्‍याइएको हो । आमाहरूलाई देवीका रूपमा पूजा—प्रशंसा गर्ने तर शासन—शक्तिबाट पृथक् र सामर्थ्यमा लगाम लगाउने काम भएको हो । दास युगको विकाससँगै मातृसत्तालाई क्षीण बनाइयो, पुरुष वर्चस्व बिस्तार गरियो । सत्ताले नै मानिसलाई बलियो र कमजोर बनाउन सक्दछ भन्ने कुराको बलियो उदाहरण यही हो । 

त्यसपछिको समय ती जितेकाहरूले हार—जितको अनुभव लिइसकेको, विभिन्न कला—कौशलहरू सिकिसकेको, शाम, दाम, दण्ड, भेदको माध्यमबाट शासन शक्ति हासिल गर्न जानेको र मारण, मोहन, विद्वेष, वशीकरण, स्तम्भन, उच्चाटन (जसलाई षडयन्त्र भनिन्छ) अपनाएर प्रभावशाली हुन सकेको स्पष्ट छ । यो शक्तिशालीले नै शक्तिको प्रयोग गर्दछ र थप शक्तिशाली बनिरहन्छ भन्ने विषयको गतिलो उदाहरण हो ।

यहीँबाट सुरु भएको सृष्टिका मान्यता, ईश्वर, देवदेवीहरूका शक्तिका सबै कल्पित प्रपञ्च आफैमा निरूपित गरेर कमजोरहरूलाई झन् कमजोर बनाउँदै, उनीहरूलाई परजन्मको आस देखाएर आफूmहरू सुखका स्वर्गमा रमाउने वर्ग हामीले देख्दै आएका छौँ । हुँदा हुँदा उनीहरूले मानव, प्रकृति र जीव कल्याणको अर्थ राख्ने वेद, पुराण, उपनिषद्, ज्योतिष आदि तथा प्रकृतिसम्मत संस्कृति र धर्मलाई समेत आफूmहरूकै स्वार्थको पक्षमा अर्थ लगाए, तदनुसारकै प्रथा बसाए, परम्परा चलाए । यिनै प्रथा—परम्पराका स्वार्थी व्याख्याका कारण कमजोरलाई थप कमजोर बनाइरहने सामाजिक व्यवस्थाको अवशेष अनेकौँ प्रकारका विभेदका रूपमा हालसम्म रहिरहेको छ । 

पछिल्लो राजनीतिक परिवर्तनले औपचारिक रूपमा सबैलाई सकारात्मक सम्बोधन गरेको छ, तथापि सामाजिक परम्पराका बन्धनहरूले महिलाहरूलाई लैङ्गिक र दलितहरूलाई जातीय रूपमा बाँधिरहेको अवस्था छ । संविधानले नै व्यवस्था गरेको विषयलाई समेत कसैले कसैलाई दिएको जस्तो व्यवहार हुँदै आएको छ । यस्तो बन्धनका अनेकौँ आयामहरू छन् । 

हामी कस्तो बनेका छौँ भने फरक भन्नासाथ सानो—ठुलो, उँच—नीच खोजिहाल्ने । फरक हुनु भनेको ठुलो—सानो हुनु हो र ? होइन नि ! हामी फरक भएर पनि समान हौँ भन्ने दृष्टिको विकास गर्न आवश्यक छ ।

आर्थिक वर्गका हिसाबले गरिबहरू र सामाजिक हिसाबले महिलाहरू उत्पिडत छन् । एउटै घर—सम्पत्तिमा महिलाहरू गरिब/श्रमिक र पुरुषहरू धनी/मालिक रहेको अवस्था छ । महिलाहरूको श्रमको मूल्य नहुनु, सम्पत्तिमा स्वामित्व नहुनु, आफैले जन्माएको सन्तानमा वंशको अधिकार नहुनु, परिवारमा नेतृत्वदायी भूमिका नहुनु, सामाजिक उत्तरदायित्व र जिम्मेवारी नहुनु जस्ता कारणले महिला र पुरुष बीचमा विभेदको बज्ररेखा विद्यमान छ । यस्तो अवस्थाले कोख र काखको आश्रयमा हुर्केका सन्तानका नजरमा समेत आमाहरू महत्त्वहीन देखिएका छन् । यो अवसर, फाइदा र न्याय प्राप्तिमा विभेदको अवस्था हो । यस्तो भेदभावले निराशा, कुण्ठा र असफलतातर्फ लैजान्छ । समाजको अग्रगतिको लागि विभेदको अन्त्य आवश्यक छ । विभेद अन्याय हो । अन्याय रहेसम्म समाज समृद्ध हुन सक्दैन । 

मानव भएको बराबरीका आधारमा महिला हक—अधिकारको विषय सम्बोधित हुँदै गर्दा पनि आमाको विशेषता र योगदान यही रूपमा माथि उठ्न सकेको छैन । महिला हक—अधिकारका विषय आफ्ना ठाउँमा सही छन्, तर आमाको योगदान र उत्कर्षको विषय कम महत्त्वको छ र? हरेक सन्तानले आमाको योगदान र उत्कर्ष, सिङ्गो समाजले सम्पूर्ण महिलाहरूको समानताको सम्मान गर्न आवश्यक छ । भनिन्छ, नकारात्मक विभेदले मानिसहरूमा हीन भाव उत्पन्न गराउँछ । यसले मानिसको अघि बढ्ने जाँगर शिथिल पारिदिन्छ । कमजोर पारिएको मनोविज्ञान र जाँगर मारिएको समाज समृद्ध समाज हुन सक्दैन । 

सामाजिक अग्रगमन, हिंसारहित समन्यायिक समाज स्थापना गर्न आमा उत्कर्ष आवश्यक छ । एउटा सन्तानले महिलालाई महिलाको रूपमा मात्र नभई आमाको रूपमा उनका योगदान, भूमिका र जिम्मेवारीको महत्त्वलाई बुझ्न सक्नुपर्दछ । यसका लागि आमाहरू समेत आत्मोत्कर्षका लागि तयार हुनुपर्दछ ।  ​​​​​​​

(लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)  

 

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १२ : ११ बजे