यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

झापामा डुबेर बेपत्ता भएकामध्ये एक मृत फेला, दुईजना अझै बेपत्ता

भद्रपुर, झापा । अविरल वर्षाका कारण झापामा नदीमा डुबेर बेपत्ता भएकामध्ये एकजना मृत अवस्थामा फेला परेका छन् भने दुईजना अझै हराइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भारी वर्षका बीच शुक्रबार बेलुका गौरीगंज गाउँपालिका वडा नं. २ बागहाचौधरी र वडा नं. ४ को बेलडाँगी बीच सिमानामा रहेको किस्ने खोलाको पुलबाट हामफालेर बेपत्ता भएका केमालाल ताजुरियाको शव हिजो राति पुलको दक्षिणपट्टि काँसघारीमा अड्किएको अवस्थामा भेटिएको हो ।

यस्तै, शुक्रबार नै कचनकवल– १ चमारभित्तास्थित जमुना खोलामा बेपत्ता भएकी १४ वर्षीया निहारिका राजवंशी अझै भेटिएकी छैनन् । चमरभित्ताबाट झकुवा टोलतर्फ आउँदै गरेकी निहारिका जमुवा खोलाको कज्वेबाट बगेकी थिइन् । सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले खोजी गरिरहेको भए पनि अझै नभेटिएको प्रहरीले जनाएको छ । उनको खोजीका लागि छिमेकी भारतको स्थानीय सुरक्षा संयन्त्रसँग पनि समन्वय गरिएको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनु भयो ।

त्यस्तै शुक्रबार नै बेलुका गौरादहको  किस्ने खोलामा बेपत्ता भएका कमल गाउँपालिका– १ बस्ने ३५ वर्षीय टिकाराम चौधरी पनि अझै भेटिएका छैनन् । टोली खटिएर चौधरीको खोजी गरिए पनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ८ : ३८ बजे