अवरुद्ध यातायात सहज बनाउन निर्देशन

काठमाडौ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढि पहिरोका कारण अवरुद्ध यातायात जति सक्दो चाँडो सहज बनाउन निर्देशन दिनु भएको छ । सम्वद्ध निकायहरु विच समन्वय गरि सडक तथा यातायात क्षेत्र सहज बनाउन उहाँले निर्देशन दिनु भएको हो ।

अबिरल वर्षा पछि आएको बाढी र पहिरोका कारण विभिन्न राजमार्गमा क्षति पुर्याउनका साथै कतिपय पुल समेत बगाए पछि उत्पन्न परिस्थितिलाई ध्यान दिई सडक मर्मत तथा व्यवस्थापनमा जुट्न उहाँको निर्देशन छ । मौषमी प्रतिकुलताका कारण उत्पन्न भएको परिस्थितिमा सवै पक्षले सहकार्य र समन्वय गरि सहज स्थिति निर्माणमा जुट्नु पर्ने पनि उहाँले बताउनु भएको छ ।

यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले देशै भरि बाढी तथा पहिरोले क्षति गरेका स्थानको सडक यातायात सहज बनाउन सडक विभाग मार्फत उपकरण तथा जनशक्ति परिचालन गरिएको जानकारी दिनु भएको छ । पहिरो पन्छाई सडक सुचारु गर्न सकिने स्थानमा तुरुन्तै आवागमन सहज बनाउन मन्त्रालय तथा विभाग परिचालित भएको उहाँले जनाउनु भयो ।

यसैविच अबिरल वर्षा र बाढिका कारण २३ राजमार्गका ६४ स्थानमा सडक अवरुद्ध भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सुशिलबाबु ढकालले विज्ञप्ति जारै गर्दै राजमार्गका ति खण्डमा पहिरो जानका साथै अवरुद्ध भएका विभिन्न खण्डमा सडक खुलाउने प्रयास जारी रहेको जनाउनु भएको छ । मुग्लिन पोखरा सडक खण्ड तथा मलेखु मुग्लिन नारायढघाट सडक खण्डका पहिरो पन्छाई सडक सुचारु अवस्थामा राखिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ७ : ४८ बजे