बाढीको स्थितिमा सुधार

तीनै तहको निर्वाचन आवश्यक : अध्यक्ष ओली

वीरगञ्ज – पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब तत्कालै सरकारले तीन तहको निर्वाचन घोषणा गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले)को जिल्ला समिति पर्साले आज जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकारले तत्कालै तीनै तहको निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्ने औँल्याउनुभयो । 

उहाँले कृषिको आधुनिकीकरण र विद्युतीकरणको विकासले मात्र मुलुकको समृद्धि तथा विकास सम्भव भएकाले यसका लागि सरकारको ध्यान केन्द्रित हुनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले सामाजिक सुरक्षादेखि जनताको जीवनस्तर उकास्नका लागि नेकपा (एमाले)ले विगतमा विभिन्न कार्य गरेको दावी गर्नुभयो । 

जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि ओली पर्सा आउनुभएको हो । सो क्रममा ओलीले जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियालगायत कांग्रेस, माओवादी र मधेसवादी दलका सयौँ नेताकार्यकर्तालाई नेकपा (एमाले)मा प्रवेश गराई स्वागत गर्नुभएको थियो ।

मिया नेकपा माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । 

 

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ६ : ०३ बजे