चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कमा शुक्रबार “चाड पर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान २०८१’’ को सुरुवात भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यले अभियानको उद्घाटन गर्नुभएको हो । उद्घाटन पश्चात कार्यक्रममा बोल्नुहुँदै प्रहरी अतिरीक्त महानिरीक्षक बज्राचार्यले सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरेर सुरक्षित पर्व मनाउन सकिने कुरामा जोड दिनुभयो ।

अभियानअन्तर्गत यात्रु सहायता कक्ष सञ्चालन, चालक परिचालक लक्षित स्वास्थ्य शिविर, लामो तथा छोटो दूरीका चालकहरुलाई सम्मान कार्यक्रम र No Voilation No Penalty  लेखिएका स्टिकर टासेर कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कानुन विपरीत कार्य गर्ने सबैलाई निर्ममता पूर्वक कारवाही गरिने बताउनुभयो । कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई दुई थान मोटरसाइकल हस्तान्तरण गर्नुभयो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराले चाड पर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना गरिएको र यात्रामा कुनै समस्या भएमा यात्रु सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले हामी सबै चालक एवम् सडक प्रयोगकर्ताले  सडक र सवारी नियम पालना गरे मात्र यात्रा सुरक्षित रहने र सडकमा ट्राफिक प्रहरीको परिश्रम हाम्रै लागि हो भन्ने मनन गर्दै ट्राफिक नियम र सडक अनुशासन पालना गर्न आग्रह समेत गर्नुभयो ।

यातायात व्यवस्था विभागका निर्देशक ईश्वरी दत्त पनेरुले सार्वजनिक यातायात क्षेत्रमा अनुशासनलाई मात्रै ध्यान दिन सके धेरैकुरामा सुधार आउने बताउनुभयो । कार्यक्रमकै अवसरमा सात जना उत्कृष्ठ चालक र दुई जना परिचालक बस होस्टेजहरुलाई समेत सम्मान गरीएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । कार्यक्रममा चालक, यातायात मजदुर, यातायात व्यवसायी,ल्होत्से बहुउद्देश्यीय प्रालि र नाडाका प्रमुखहरूले अभियान सफलताको शुभकामना व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा विभिन्न सरकारी, गैरसरकारी संघ संस्थाका प्रतिनिधीहरू तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ४ : १६ बजे