अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्त्वपूर्ण : कार्यवाहक प्रधानमन्त्री

काठमाडौँ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार ४५औं विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्‍याइरहेको योगदानको प्रशंसा गर्नुभयो । तर उहाँले सन्तोषजनक अवस्था भने नरहेको भन्दै आगामी दिनमा पर्यटन क्षेत्रबाट हुने योगदान थप वृद्धि गर्न सरकारले आवश्यक सहजीकरण गर्ने पनि बताउनुभयो ।

‘‘पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याएको छ । कुल गार्हस्थ उत्पादनमा यो क्षेत्रबाट भइरहेको योगदान अझ कसरी बढाउन सकिन्छ ? त्यसतर्फ लाग्नुपर्ने आवश्यकता छ ।,’’ कार्यवाहक प्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘पर्यटन क्षेत्रमा काम गर्दा परेको अप्ठ्यारो पहिचान गरेर सरकारले हटाउँछ । सहज रुपमा व्यवसाय गर्नसक्ने अवस्था सरकारले बनाउनेछ ।’’

उहाँले नेपाल साहसिक पर्यटन, ट्रेकिङ, हिमाल आरोहण, स्काई ड्राइभिङका लागि आकर्षक गन्तव्य बन्दै गइरहेको भन्दै यसमा के गर्दा राम्रो हुन्छ त्यसमा लाग्नुपर्ने बताउनुभयो । पर्यटन क्षेत्रमा सक्रिय निजी क्षेत्रले आफ्नो व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था बनाउनका लागि सरकारले ध्यान दिने पनि उहाँले बताउनुभयो ।

अर्को फरक सन्दर्भमा शहरी विकास मन्त्रीसमेत रहनुभएका कार्यवाहक प्रधानमन्त्री सिंहले देशमा परिवारसँगै बसेर आर्थीक जीवन उकास्ने वातावरण बनाउन सरकार लागिरहेको बताउनुभयो । अस्थिरताका कारण देशमा समस्या देखिएकैले अहिले राजनीतिक स्थायित्वका लागि संसदका दुई ठुला दल मिलेर सरकार बनेको भन्दै उहाँले सरकार जनताको पक्षमा सशक्त रुपमा अघि बढ्ने बताउनुभयो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १ : ३६ बजे