विश्वका शक्ति राष्ट्रहरुले राखेको युद्धविराम प्रस्ताव इजरायलद्वारा अस्वीकार

काठमाडौं। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा सक्रिय हिजबुल्लाह सशस्त्र समूह विरुद्धको सैन्य कारवाही पूर्ण शक्तिका साथ जारी राख्न आफ्नो सेनालाई निर्देशन दिनुभएको छ ।

अमेरिका, बेलायत, इयु लगायतका केही शक्ति राष्ट्रहरुले अस्थायी युद्धविरामका लागि आव्हान गरे पनि इजरायलले त्यसलाई बेवास्ता गर्दै लडाई जारी राखेको छ ।

हिजो एकै दिनमा इजरायली सैन्य कारवाहीका कारण लेबनानमा ९२ जनाको मृत्यु भएको छ । गत सोमबार यता मात्रै इजरायली हमलामा परी ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

बेरुतको दक्षिणमा रहेको एउटा अपार्टमेन्ट भवनमा भएको हवाई हमलामा हिजबुल्लाहले आफ्नो ड्रोन युनिटका प्रमुख मोहम्मद सुरुर मारिएको पुष्टि गरेको छ ।

गत सोमबारदेखि लेबनानमा इजरायली हमला नाटकीय रुपमा वृद्धि भएपछि इजरायल र हिजबुल्लाहबीच सर्वत्र युद्धको त्रास बढेको छ ।

दुई मुलुक बीच बढेको शत्रुताले चिन्तित हुँदै अमेरिका, बेलायत र ईयू लगायत १२-बलिया शक्ति समूहले बुधबार इजरायल र हिजबुल्लाहबीच तीन हप्ताका लागि युद्धविराम प्रस्ताव गरेको थियो ।

तर इजरायलले त्यसको बेवास्ता गर्दै लडाईलाई निरन्तरता दिइरहेको छ । संयुक्त राष्ट्रका लागि इजरायली राजदूत ड्यानी ड्याननले आफ्नो देश विचारका लागि खुला रहेको बताएपछि यो प्रस्ताव सुरुमा आशाका साथ हेरिएको थियो । तर इजरायली राजनीतिज्ञहरूले युद्धविराम प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गरिसकेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ८ : ४५ बजे