‘एउटै नाउरको सिकार गर्न २३ लाख’

मजदुर आन्दोलनभित्रका रूढिगत मान्यताहरू तोड्नु आवश्यक 

दुनियाँको मजदुर आन्दोलन, लगभग मजदुर वर्गको उत्पत्ति जतिकै पुरानो छ । तर पुँजीपति वर्गको अगुवाइमा भएका पुराना आन्दोलनहरू आधारभूत रूपमा नै भिन्न छन् । मार्क्सवादले मजदुर आन्दोलनको चरित्र, अन्तर्वस्तु र उद्देश्यमा नै आमूल परिवर्तन ल्याइदिएको छ । त्यसले वर्तमान युगलाई नेतृत्व प्रदान गर्ने औद्योगिक मजदुर वर्गको वर्गीय ऐतिहासिक अभिभारालाई प्रस्ट पारिदिएको छ । मार्क्सवादको मार्गदर्शनमा सञ्चालित मजदुर आन्दोलनका सकारात्मक अनुभवहरूबाट शिक्षा लिएर नै आज मार्क्सवाद लेनिनवादको सैद्धान्तिक पुष्टि र विकास पनि सम्भव भएको छ । त्यसकारण मजदुर आन्दोलनलाई बाटो देखाउने सिद्धान्त मार्क्सवाद—लेनिनवादबाहेक अरू हुन सक्दैन ।

तर हाम्रो देशको मजदुर आन्दोलनले अझ राम्ररी विकास गर्न सकेको छैन । वर्तमान युगको नेतृत्व गर्ने ऐतिहासिक उत्तरदायित्व र देशको क्रान्तिकारी आन्दोलनलाई हाँक्ने जिम्मेवारीको तुलनामा नेपाली मजदुर आन्दोलन केटाकेटी अवस्थामै  छ भन्न सकिन्छ । हाम्रो देशको मजदुर आन्दोलनले किन विकास गर्न सकेन ? यो किन अझै जवान र प्रौढ बन्न सकेन ? यसका कारणहरू के के हुन ? यी समस्याहरूका बारेमा प्रश्न उठाउनु र छलफल चलाउनु जरुरी भइसकेको छ । 

सर्वप्रथम, हाम्रो मजदुर आन्दोलन रुढीवादबाट मुक्त हुनु आवश्यक छ ।  अहिलेसम्मको आन्दोलनबाट रुढीवाद अलग्गिन सकेको छ भनी दाबी गर्न सकिन्न । मजदुर आन्दोलनभित्रको रुढीवाद भनेको के हो ? आफ्नो कार्यक्षेत्रका ठोस परिस्थितिको ठोस विश्लेषण नगरी वैदेशिक आन्दोलनका रूढ मान्यताहरूको यान्त्रिक अनुसरण गर्नुलाई नै आम रूपमा त्यस क्षेत्रको रुढीवाद भन्न सकिन्छ । 

मजदुर आन्दोलनका दीर्घकालीन ध्येय, उद्देश्यहरू र अधिकतम लक्ष्यहरू हरेक मुलुकमा उस्तै भए पनि औद्योगिक मुलुकका मजदुरहरूको आन्दोलन र वर्तमान अवस्थामा हाम्रो देशको मजदुर आन्दोलनको रूप र आधार, सम्पूर्ण रूपमा एउटै हुन सक्दैन । देशको औद्योगिक स्थिति, मजदुरहरूको स्थिति र अन्य समस्याहरूले स्वतः आन्दोलनमा राष्ट्रिय विशिष्टता ल्याइदिन्छन् । तर अहिलेसम्म मजदुर आन्दोलनका आफ्ना राष्ट्रिय विशिष्टताहरू आन्दोलनका रूप र क्षेत्रहरूबारे पर्याप्त अनुसन्धान भएको छैन । आन्दोलनले राष्ट्रिय विशिष्टतालाई उद्घाटित गर्न सकेको छैन । यस बारेमा विशेष नीतिहरूको निर्माण र सिर्जनात्मक प्रयोग भएको छैन । 

यद्यपि, मार्क्सवाद—लेनिनवादको मार्गदर्शनमा स्वतन्त्रतापूर्वक आन्दोलन सञ्चालन गर्ने र भविष्यको सुनिर्दिष्ट लक्ष्यतिर अघि बढ्ने आधारभूत कुराहरू नेपाली मजदुर आन्दोलनमा पनि समान छन् । तर समानताको पक्षलाई देखेर भिन्नतालाई बिर्सने हो भने आन्दोलनको निर्माण गर्न नै असम्भव हुनेछ र त्यस्तै आन्दोलनको भिन्नतालाई ध्यान दिएर समानतालाई बिर्सने हो भने पनि आन्दोलनलाई सही दिशामा अघि बढाउन सकिन्न । त्यसकारण यी कुराहरू बीचका फरक र अन्तरसम्बन्धलाई ठिक ढङ्गले बुझ्न र सञ्चालन गर्न जरुरी छ । 

विकसित पुँजीवादी मुलुकहरूको त कुरै छाडौँ, पछौटे नै भए पनि सबै खाले उद्योगधन्दाको एक हदसम्म प्रशस्त विकास र मजदुर सङ्ख्याको अधिकतम अनुपात भएको भारतजस्तो मुलुकको पनि जस्ताको तस्तै सिको गर्न सकिन्न । आम रूपमा भन्ने हो भने एक मुलुकको प्रयोग र अनुभवको कुनै अर्को मुलुकमा जस्ताको तस्तै सिको गर्नुहुँदैन । वास्तविकता यस्तो भए पनि हाम्रो मजदुर आन्दोलनमा आफ्नै राष्ट्रिय अनुभवहरूमाथि आधारित भएर शिक्षा लिँदै सिर्जनात्मक ढङ्गले बढ्नेभन्दा वैदेशिक अनुभवको रुढीवादी प्रयोग गर्ने चलन धेरै छ र सामाजिक आवश्यकता र प्रयोगका अरू कतिपय क्षेत्रमा जस्तै मजदुर आन्दोलनको क्षेत्रमा पनि यो प्रवृत्ति रहेको छ ।

मजदुर आन्दोलनलाई व्यापक र शक्तिशाली बनाउने  सम्बन्धमा  हाम्रो देशमा ध्यान दिनुपर्ने विशेष परिस्थिति र कुराहरू के के हुन त ? 

१. हाम्रो मुलुक औद्योगिक रूपमा अत्यन्त पछौटे अवस्थामा छ । देशमा औद्योगिक उत्पादन गर्ने आधुनिक पुँजीवादी उत्पादन प्रणालीको थालनी भएको पनि ५९ वर्षभन्दा बढी भएको छैन । देशभरिमा दुई लाखभन्दा बढी लगानी भएका उद्योगहरू १ हजार ६ सय ७२ भन्दा बढी छैनन् । राष्ट्रिय आम्दानीमा पनि औद्योगिक क्षेत्रको योगदान १०,१५ प्रतिशतभन्दा माथि चढ्न सकेको छैन । औद्योगिक उत्पादनमा विकास होइन, ह्रास नै आइरहेको छ । यही स्थितिले पनि उद्योगधन्दाको पछौटे स्थितिलाई स्वतः जाहेर गर्छ । 

२.देशभित्र स्थापित उद्योगहरू अधिकांश रूपमा कृषि उत्पादनमा आधारित छन् । यसबाहेक अन्य कतिपय काठ उद्योग, बिँडी—सिगरेट, मैदा, बिस्कुट, सुती कपडाजस्ता ठुलठुला उद्योगहरू पनि कृषि उत्पादनमा आधारित छन् । यसबाहेक सलाई, चिया, जुत्ता, मल, कृषि औजार र घिउ, तेल आदिजस्ता उद्योगहरू पनि कृषिसँग प्रत्यक्ष रूपमा गाँसिएका छन् । अहिलेसम्म हाम्रो मुलुकमा खनिज उत्पादनमा आधारित उद्योगहरू छँदै छैनन् वा अत्यन्त कम छन् । देशभित्र सिमेन्ट, फलाम, तामा, जस्ता, सिसा, कोबाल्ट, म्याग्नेसाइट, खरिढुंगा, फस्फोरस, चुनढुङ्गाजस्ता खनिज तत्त्वहरू प्रशस्त भएर पनि तिनीहरूलाई पर्याप्त उपयोग गर्ने न उद्योग छ न योजना नै ।  यसरी राष्ट्रिय उत्पादनको मुख्य उत्पादक शक्तिका हिसाबले मात्र होइन, माथि उल्लेख गरेजस्ता कृषि उत्पादनमा आधारित उद्योगहरू सञ्चालित गर्नका निम्ति कृषि क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको कुरा स्वतः बुझ्न सकिन्छ 

३.देशमा औद्योगिक उत्पादनको सुरुवात नै दलाल नोकरशाही पुँजीबाट भएको छ । त्यसकारण सुरुदेखि नै औद्योगिक, व्यापारिक क्षेत्रमा दलाल नोकरशाही पुँजीपति वर्गको प्रभुत्व छ । ठुला ठुला औद्योगिक कारोबारहरू तिनीहरूकै पुँजी र स्वामित्वमा छन् र तिनीहरूले अरू राष्ट्रिय पुँजीपति वर्गका उद्योग कारोबारहरूमाथि पनि दमन, उत्पीडन र नियन्त्रण कायम गरेका छन् । व्यापारिक क्षेत्रमा तिनीहरूले राष्ट्रिय बजार कब्जा गरेका छन् र एकाधिकार कायम गरेका छन् ।

४. कृषि उत्पादनमा आधारित उद्योगहरूका निम्ति कृषि क्षेत्रबाट कच्चा माल प्राप्त गर्नु अनिवार्य हुन्छ । त्यसकारण पुँजीपतिहरूले सस्तो मूल्यमा कृषि उत्पादन कब्जा गर्ने र त्यसका निम्ति किसानहरूको बीचमा अग्रिम ऋण लगानी गरी सूदखोर शोषण गर्ने तरिका समेत अपनाउँछन् । यसरी दलाल नोकरशाही पुँजीपतिहरूले मजदुरहरूको अतिरिक्त श्रमलाई मात्र होइन, किसानहरूको अतिरिक्त श्रमलाई समेत प्रत्यक्ष शोषण—उत्पीडन गरेका छन् । यसबाहेक औद्योगिक उत्पादनको दैनिक  उपभोगका मालहरू महँगो मूल्यमा बेचेर अरू आम जनसमुदाय, जसमा मजदुर र किसानहरू पनि पर्दछन्, माथि यिनीहरू शोषण उत्पीडन गर्दछन् । 

५. देशमा पुँजीवादको स्थिति कमजोर भएको हुनाले राष्ट्रिय पुँजीपति वर्गसमेत कृषि क्षेत्रसँग प्रत्यक्ष रूपमा  सम्बन्धित रहेको छ । त्यसै हुनाले पुँजीपतिहरूबाट माथि उल्लेख गरेजस्तो मजदुर र किसानहरूको शोषण खाली औद्योगिक क्षेत्रबाट पुँजीवादी ढङ्गले मात्र हुँदैन । नेपाली पुँजीपतिहरू गाउँमा सयौँ बिघा जमिनका मालिक पनि छन् । त्यसकारण उनीहरू गाउँले क्षेत्रमा जमिनको माध्यमबाट जमिनदारको हैसियतले सामन्ती शोषण पनि गर्दछन् । राष्ट्रिय पुँजीपति वर्गको आफ्नो खट्टामा उभिन सक्ने राजनीतिक, आर्थिक आधार बलियो नभएको हुनाले एकातिर तिनीहरू बाध्यतापूर्वक भए पनि साम्राज्यवादसँग सम्बन्ध जोडी राख्दछन् । त्यसको अगाडि घुँडा टेक्छन् र अर्कोतिर गाउँले क्षेत्रमा सामन्ती शोषण गर्न पनि संलग्न हुन्छन् तथा सामन्त वर्गसँग पनि मित्रतापूर्ण सम्बन्ध राख्दछन् । राष्ट्रिय पुँजीपति वर्ग सिद्धान्ततः साम्राज्यवाद, दलाल—नोकरशाही पुँजीवाद र सामन्तवादका विरुद्ध प्रगतिशील भूमिकामा देखा पर्न सक्ने भए पनि जनताको सङ्घर्षको दबाब नपरी तिनीहरू आफै प्रगतिशील भूमिकामा आउँदैनन् । हाम्रो देशको वर्तमान स्थितिमा राष्ट्रिय पुँजीपति वर्गले त्यस्तो कुनै प्रगतिशील भूमिका निभाएको छैन । उनीहरूले किसान र मजदुरको जागरण र आन्दोलनको विपक्षमा प्रतिक्रियावादी सत्तालाई नै सघाउँदै छन् । क्रान्तिकारी सङ्घर्ष शक्तिशाली ढङ्गले उठ्ने र त्यसले विजय प्राप्त गर्न सक्ने लक्षण प्रकट नहुन्जेल राष्ट्रिय पुँजीपति वर्गले प्रतिगामी भूमिका नै निर्वाह गर्नेछ । जनताका सङ्घर्षहरू प्रभावशाली नबनुन्जेल त्यो वर्गले बाध्यताकै कारण भए पनि न साम्राज्यवादसँगको सम्बन्ध तोड्न चाहन्छ, न त सामन्ती शोषणलाई बन्द गर्छ, न साम्राज्यवाद र सामन्तवादका विरुद्ध सङ्घर्षमा उत्रिन सक्छ, न त मजदुर किसानहरूको प्रसन्नता र आजादीको पक्षपोषण नै गर्ने गर्छ । हाम्रो जस्तो मुलुकमा पुँजीपति वर्गले अनिवार्य रूपमा यो कमजोरी बोकेका हुन्छ ।

६. देशको औद्योगिक मजदुर वर्गको सङ्ख्या सम्पूर्ण जनसङ्ख्याको एक प्रतिशतसम्म पनि छैन । औद्योगिक मजदुर लगभग ३६,२०६ जना छन् । त्यसमा पनि नेपाली मजदुरहरू ६,०६८ भन्दा बढ्ता छन् । पूर्वाञ्चलका औद्योगिक क्षेत्रहरूमा हेर्ने हो भने ३३९ जति उद्योगहरू छन् । त्यसमा १५,७९१ जति मजदुरहरू काम गर्छन् । त्यो सङ्ख्यामा ५,३६० अर्थात् ३५ प्रतिशत मजदुरहरू नेपाली छन् । त्यसभित्रका ठुलठुला उद्योगहरूलाई केलाउने हो भने विराटनगर जुट मिल्समा ४० प्रतिशत र रघुपति जूट मिल्समा ४५ प्रतिशत मजदुरहरू नेपाली छन् । अरू बिँडी, सलाई, चामल, चिनी, तेलका साना ठुला मिलहरूमा प्रत्येकमा ६ देखि ९ जनासम्म नेपाली मजदुरहरूले काम गर्छन् । यी नेपाली मजदुरहरू तलब र सुविधा बढाउने आर्थिक सङ्घर्षको पक्षमा भए पनि मजदुरीकै सुरक्षा, स्थायित्व र सुविधाको निम्ति पनि राजनीतिक र सामाजिक रूपमा बढ्ता अनुकूल कार्य परिस्थिति तयार  गर्ने राजनीतिक सङ्घर्षको पक्षमा खास चाख चासो राख्दैनन् ।

७. औद्योगिक क्षेत्रमा मजदुरी गरेर आफ्नो जीवन र परिवारको सम्पूर्ण रूपमा  गुजारा गर्ने र त्यसैमा भरोसा गर्ने नेपाली मजदुरहरूमा पनि धेरैजसो अस्थायी रूपमा, ५—१० वर्षको निम्ति आफ्नो टाउकोमा गृहस्थी चलाउने जिम्मा नआउन्जेलसम्म मात्र मजदुरी गर्नेहरू बढी छन् । व्यक्तिगत रूपमा कारखानामा काम गरिरहेका भए पनि पारिवारिक आर्थिक आधारको हिसाबले उनीहरू किसान नै छन् र किसान मनोवृत्तिको सङ्कीर्णताबाट मुक्त छैनन् । उनीहरूका लागि कारखानाको नोकरी, थप पेसा (साइड जब) भइरहेको छ । हाम्रो मुलुकमा मजदुरहरू सर्वहारामा रूपान्तरित हुन बाँकी नै छ । यसरी पुँजीपति वर्गको एउटा ठुलो हिस्सा गाउँको जमिनदार भएजस्तै मजदुरहरूको एउटा ठुलो हिस्सा पनि किसानकै रूपमा रहेको छ ।

८. मजदुर सर्वहारा वर्गको स्रोत स्वाभाविक रूपमा किसान समुदाय नै हो । यसबाहेक निम्न पुँजीपति वर्गका अन्य पेसाबाट पनि जनता मजदुर सर्वहारा वर्गको पङ्क्तिमा थपिन आइपुग्छन् । यस्तो पृष्ठभूमि र वास्तविकता भएको हुनाले मजदुर वर्गभित्र स्रोत र सांस्कृतिक परम्पराको रूपमा निम्न पुँजीवादी प्रवृत्तिहरू प्रशस्त पाइन्छन् र त्यसबाहेक प्रतिक्रियावादी व्यवस्थाको भ्रष्टता र सामाजिक विकृतिहरूले उनीहरूभित्र स्वाभाविक रूपमा कु असर गर्छ र उनीहरूलाई खराब बानी—बेहोरातर्फ प्रोत्साहित गर्छ । एकातिर कारखानाको कठोर श्रम र अस्वस्थकर वातावरणले ल्याउने शारीरिक तथा मानसिक थकावट र अर्कोतिर जाँड—रक्सी, जुवा—तास तथा रण्डीवाजीजस्ता विकृतिहरूले स्वाभाविक रूपमा मजदुरहरूलाई ग्रस्त पार्छ । आधुनिक उत्पादक शक्तिको वर्ग हैसियतले युगको नेता भए पनि चिन्तन र चरित्रका हिसाबले उनीहरूको स्थिति पतनशील र दूषित हुन्छ । हाम्रो देशको मजदुर क्षेत्रभित्र यस्ता प्रवृत्तिहरू गम्भीर अभिशापका रूपमा गाडिएर रहेका छन् । 

९. २००४ सालदेखि नै मजदुर आन्दोलनको सूत्रपात भएको भए पनि यसले अहिलेसम्म पनि संंघर्षको माध्यमबाट महत्त्वपूर्ण उपलब्धिहरू प्राप्त गर्न सकेको छैन । प्रतिक्रियावादीहरूलाई घुँडा टेकाउन र पराजित गर्न सकेको छैन । बेलाबेलामा  भएका सङ्घर्षले केही आर्थिक उपलब्धिहरू प्राप्त गरेको भए पनि आन्दोलनले बेहोर्नुपरेको क्षतिको तुलनामा त्यो ज्यादै थोरै छ । राजनीतिक उपलब्धिको  क्षेत्रमा हेर्ने हो भने त स्थिति झनै कमजोर छ । खास खास बेलामा स्वतन्त्र सङ्गठनहरू बनेका भए पनि तिनीहरूले निरन्तर आफ्नो अस्तित्वलाई जीवित राख्न सकेनन् । अघिल्ला सङ्घर्षका अनुभवहरूबाट शिक्षित हुँदै सङ्घर्षले माथिल्लो स्तरमा विकास गर्न सकेन । यहाँसम्म कि आम मजदुर समुदायमा राजनीतिक चेतना र वर्गीय चेतनाको क्रमिक विकाससम्म पनि भएको पाइँदैन ।

त्यसकारण तीन—चार दशकको यो कालभरि सङ्घर्ष, सङ्गठन , नेतृत्व र कार्यकर्ताहरूको कुनै गतिशील, एकीकृत र अविच्छिन्न परम्परा कायम भएको छैन ।

 (मदन भण्डारी सङ्कलित रचनाहरू भाग—२)  
 

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  १२ : ३२ बजे