‘एउटै नाउरको सिकार गर्न २३ लाख’

खडगपुर आईआईटी र रूपान्तरणकाे कथा : यातना गृहबाट प्रौद्योगिकी केन्द्रमा रूपान्तरण !

नेपालका पूर्व प्रतिनिधिसभा सदस्य तथा मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु बरालको नेतृत्वमा त्यसै प्रतिष्ठानका कार्यकारी निर्देशक एवं इन्जिनियर विनोद अर्याललगायत अन्य २७ सदस्य प्रतिनिधिमण्डल नेपालबाट १५ जुन, २०१९ को दिन कोलकाता आइपुग्यो । तीन दिन पश्चिम बङ्गालको कोलकाताको भ्रमण सकेपछि १८ जुनको लागि खडगपुर आईआईटी भ्रमणको योजना बन्यो । 

कोलकातामा कार्यरत नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले महावाणिज्य दूतावासको तर्फबाट नेपाली प्रतिनिधिमण्डल त्यस क्याम्पसको निरीक्षण गर्न जाँदैछन्, त्यसमा सहयोग पुर्‍याइदिनु हुन भन्ने पत्र अन्तर्राष्ट्रिय सम्पर्क हेर्ने प्राध्यापकलाई मेलबाट प्रेषित गर्नुभएको थियो । उक्त प्रतिनिधिमण्डलसँग जानको लागि हाम्रा साथीहरू रामायण धमला लगायतका मित्रहरूले मलाई अनुरोध गर्नुभएको थियो, त्यसैले यस भ्रमणमा म पनि सामेल भएँ ।  

कोलकाताबाट १२० किलोमिटरको दूरी पार गर्दै हामी २८ जनाको नेपाली टोली १८ जुन, २०१९ को दिन बिहान ११ः०० बजे खडगपुर आईआईटी पुग्यौँ । अन्तर्राष्ट्रिय सम्पर्क हेर्ने प्राध्यापक छुट्टीमा गएकोले त्यही विभाग हेर्ने सहप्राध्यापकले हामीलाई स्वागत गरे । क्याम्पसको सम्पूर्ण निरीक्षण गर्ने, चिया, खाजा र भोजनको समेत व्यवस्था मिलाइदिए । हामी सबै अत्यन्त आनन्दले घुम्यौँ, हेर्‍यौँ र उक्त क्याम्पसको अवलोकन गर्‍यौँ ।

यो खडगपुर आईआईटी क्याम्पस ८.७ वर्ग किलोमिटर (२१५० एकड) सेरोफेरोमा फैलिएको, २२०० आवास र विभिन्न विषयहरू जस्तै: इन्जिनियरिङ, टेक्नोलोजी, अप्लाइड साइन्स र न्याचुरल साइन्स अध्ययनको लागि सन् १९५१ मा तत्कालीन भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको मन्त्रिपरिषद्ले स्वायत्तता प्रदान गरेको भारतको सर्वप्रथम प्राद्यौगिकी विश्वविद्यालय (Institute of Technological University)को रूपमा स्थापना गरिएको थियो ।  

हाल यस विश्वविद्यालयमा एरोस्पेस इन्जिनियरिङ, एग्रिकल्चर एण्ड फुड इन्जिनियरिङ, आर्किटेक्चर एण्ड रिजनल प्लानिङ, बायोटेक्नोलोजी, केमिकल इन्जिनियरिङ, केमेस्ट्री, सिभिल इन्जिनियरिङ, कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रिनिक्स् एण्ड इलेक्ट्रिकल कम्युनिकेसन इन्जिनियरिङ, जिओलजी एण्ड जिओ फिजिक्स, ह्युमनिटिस एण्ड सोसल साइन्स, इन्डस्ट्रियल एण्ड सिस्टम इन्जिनियरिङ र म्याथेमेटिक्स विभागहरू रहेका छन् । 

हाल पेटेन्ट राइटजस्ता कानुनी अधिकारलगायत विभिन्न व्यावसायिक विषयहरू पाठ्यक्रममा समावेश गरिएका छन् । त्यस्तै अध्ययनको लागि प्राध्यापक, उपप्राध्यापक र सहप्राध्यापक गरी ६५० छन् भने, अन्डर ग्राजुयट, ग्राजुयट र रिसर्च गरी ९००० विद्यार्थीहरूको लागि अध्ययनको व्यवस्था रहेको छ । यहाँ केवल भारतका मात्र विद्यार्थी नभएर विभिन्न अन्य देशहरूबाट पनि आउने गर्दछन् । भारतमा रहेका प्रौद्योगिकी विश्वविद्यालयमध्ये यो विशिष्ट स्थानमा पर्दछ ।  

जब मार्गदर्शक-सहजकर्ता (Guaide) ले त्यहाँको सबै कुराहरू हामीलाई सुनाउँदै, बुझाउँदै गए । बढो चासोलाग्दो त्यहाँको इतिहास सुन्न पाइयो । त्यहाँ रहेको “शहीद भवन” (ब्रिटिसको समयमा हिज्ली भवन) नामबाट प्रख्यात रहेछ । यो त्यस समयको राजनीतिक बन्दीहरूको लागि यातना दिने स्थानको रूपमा व्यवस्था गरिएको रहेछ । त्यसको अझ गहिरो इतिहास, भारत स्वतन्त्र हुनुअघि ब्रिटिस सरकारले पश्चिम बङ्गालको मेदिनीपुर जिल्लालाई विभाजन गरेर दुई वटा जिल्ला–पूर्व मेदिनीपुर र पश्चिम मेदिनीपुर बनाउने योजना तयार गरेछ । पश्चिमको जिल्लालाई साबिकको नै कायम गर्दै पूर्व मेदिनीपुर जिल्लाको कार्यालय यहाँ राख्ने निर्णयको साथ भवन निर्माण गरिएको रहेछ । त्यसपछि जिल्ला भाग गर्न पाइँदैन भनेर त्यहाँका जनताले ठुलो आन्दोलन चलाएछन्, अनि त्यो कार्य स्थगित हुन पुगेछ । त्यो ठुलो खर्च लगाएर निर्माण गरेको “हिज्ली भवन” बेकाममा परिणत भएछ । 

सन् १९४६–४७ मा ब्रिटिसको विरुद्ध “भारत–छोड” आन्दोलनले चरम अवस्था लिइरहेको थियो । पक्राउ गरिएका व्यक्तिहरूलाई कोलकातामा बन्दीगृहको अभाव हुन थाल्यो । ब्रिटिसले बुद्धि लगाएर कोलकाता वरिपरि समातिएका ठुला–बडा नेताहरूलाई नजिकै नराखी अलि दुर्गममा लगेर राखियो भने यिनीहरूसँग अरू कसैले सम्पर्क गर्न सक्तैनन् भन्ने सोचले यस हिल्जी भवनलाई बन्दीगृह (झ्यालखान)मा परिणत गरेछन् । 

भारतका संग्रामी नेताहरूलाई यसले अरू थप सुविधा पुर्‍यायो किन कि त्यो जङ्गलको भित्र स्वच्छ वातावरणमा बसेर राम्रो छलफलको साथ विषयवस्तु तय गर्न सजिलो थियो । यहाँ कोलकाताको जस्तो बाक्लो गुप्तचरहरूको सङ्ख्या नभएको, घाँस–दाउरा गर्न आउने मानिसहरूको माध्यमबाट आन्दोलनका धेरै योजना र गुप्त सूचनाहरू बाहिर प्रचार गर्दै अगाडि बढाउन झनै सहज भयो । विश्वासै नलाग्ने ठाउँबाट आन्दोलनका यस्ता योजनाहरू अघि बढ्छन् भन्ने कुरा ब्रिटिसहरूले सोच्न भ्याएनन् तर यो महत्त्वपूर्ण क्षेत्र तिनै व्यक्तिलाई मात्र जानकारी थियो जो आन्दोलनसँग भित्री रूपमा जोडिएका थिए ।

सन् १९४७ को १५ अगष्टबाट भारत पूर्ण स्वतन्त्र भयो । ती बन्दी बनाइएका नेताहरू अब भारतको नयाँ संरचना गर्दै विकासका प्रारूपहरू तयार गर्नतिर लागे । तिनै बन्दी बनाइएका नेताहरू जसले खड़गपुरको हिल्जी कारागार र त्यसको वरिपरिको क्षेत्रलाई राम्रोसँग अवलोकन गरिसकेका थिए । उनीहरूले नै यसलाई एउटा बौद्धिक संस्था निर्माण गर्ने सोचले सन् १९५० मे मा भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू समक्ष यस “हिल्जी डिटेन्सन क्याम्प”लाई राष्ट्रको प्रथम आईआईटी बनाउने प्रस्ताव पेस गरे । 

उक्त प्रस्तावले सन् १९५१ मा भारत सरकारको मन्त्रिमण्डलबाट स्वीकृति प्राप्त गर्‍यो । माथि उल्लेख गरिएका विषयवस्तुहरू यहाँ अध्ययनको लागि पाठ्यक्रममा समावेश गरिए । यसै आईआईटीको अनुभवमा अन्य क्षेत्रमा पनि भारत सरकारले मुम्बईमा १९५८ मा, चेन्नाई र कानपुरमा १९५९मा आईआईटीहरू स्थापना गर्‍यो तर प्रथम गुरुयोजना भने यही नै बन्यो ।

यस संस्थाबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट व्यक्तिहरू उत्पादन भए । उदाहरणको लागि भन्नु पर्दा दक्षिण भारतको चेन्नाईमा जन्मेका सुन्दर पिचाई (जो आज अमेरिकाको नागरिक बनेर बसेका छन्) उनले गुगलको सिइओ बनेर काम गरे र हाल अल्फाबिटा अन्तर्राष्ट्रिय कम्पनीको सिइओ छन् । उनले यसै खडगपुर आईआईटीबाट डिग्री हासिल गरेका थिए । त्यस्तै, हाल दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यसै संस्थाबाट आफ्नो अध्ययन पूरा गरेका थिए । यस्ता अनेकौँ हस्तीहरू यस प्रतिष्ठानबाट तयारी भएर देश र विदेशहरूमा प्रगति गरिरहेका छन् ।

मानवीय बुद्धि र चिन्तनले नर्कलाई पनि स्वर्ग बनाउन सक्दो रहेछ भन्ने यो एउटा ठुलो उदाहरण हो । ब्रिटिस शासनले कैदीहरूलाई व्यवस्थापन गरेको कारागारलाई भारतको आईआईटीमा परिणत गर्न सक्ने ती महान् विज्ञ—वेत्ताहरू यसै कारागारभित्र बसेर गद्गदे लेदोमा कमलको फूल फूलाउने सपना देखिरहेका थिए । त्यसै भएर होला हाम्रा पुर्खाले रचेको उखान “जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड ।”

(लेखक प्रवासी नेपाली सङ्घ भारतका उपाध्यक्ष हुनुहुन्छ ।) 

 

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  १० : ३२ बजे