बौद्ध दर्शन र पञ्चशील

पृष्ठभूमि
शान्तिका लागि शुद्धि अत्यावश्यक कुरा हो । शुद्धिका लागि शील महत्त्वपूर्ण हुन्छ । शील भन्नाले असल व्यवहार र अनुशासन भन्ने बुझिन्छ । सोचाइ, भनाइ र गराइ पवित्र भएमा जीवन शान्त हुन्छ, सुखी हुन्छ । पवित्रताका लागि नैतिक नियमको पालन गर्नु आवश्यक हुन्छ । बौद्ध दर्शनमा नैतिक नियमलाई शील भनिन्छ । तीमध्ये पाँच वटा आधारभूत शील नै पञ्चशील हुन् । 
१.प्राणी हत्या, 
२.चोरी, 
३.व्यभिचार, 
४.झूट, र 
५.मादक पदार्थबाट टाढा रहनु शुद्धिको पहिलो सोपान हो । 
​​​​​​​शीलवान् व्यक्तिले यी पाँच कुरा नगर्ने प्रतिज्ञा गर्दछ । यस बाहेक अष्टशील, दशशील पनि बौद्ध विनयमा प्रसिद्ध छन् । भिक्षु—भिक्षुणीका लागि अनेक शीलको व्यवस्था गरिएको हुन्छ । शरीरमा शिरको महत्व भए जस्तै बौद्ध परम्परामा शीलको महत्व रहेको छ ।

१.प्राणी–हिंसा नगर्नु
चेतनशील सत्त्वलाई प्राणी भनिन्छ । साना कीट—पतङ्गदेखि मानिससम्मका सबै प्राणी नै हुन् । कुनै पनि प्राणी कसैबाट मारिनु प्राणी–हिंसा हो । यसमा पाँच अङ्गहरू समावेश भएका हुन्छन्– 
१.जीवित प्राणी 
२.प्राणी हो भन्ने ज्ञान 
.मार्ने आशय 
४.मार्ने प्रयास र, 
५.प्राणीको मृत्यु । 
असल व्यक्तिले प्राणी हत्या नगर्ने अठोट गर्छ । उसले प्रण गर्छ कि पाणातिपाता वेरमणी–सिक्खापदं समादियामि अर्थात्, म प्राणी–हिंसा नगर्ने शिक्षालाई ग्रहण गर्छु । यो नै पहिलो शील हो । यसले मनमा करुणा जगाउँछ । अरूको बाँच्न पाउने अधिकार जोगाउन सघाउँछ । प्राणीको हत्या गर्दा १९ वटा खराब परिणाम प्राप्त हुने कुरा बौद्ध ग्रन्थहरूमा पाइन्छ ।

२.चोरी नगर्नु
अनुमति नलिई अर्काको वस्तु लिनु चोरी हो । जबरजस्ती लिनु, फिर्ता नगर्नु वा ढाँटेर लिनु पनि चोरीकै प्रकारहरू हुन् । यसलाई अदत्तादान पनि भनिन्छ । चोरीमा पनि पाँच अङ्गहरू समावेश भएका हुन्छन्– 
१.अरूको अधिकारको वस्तु 
२.अरूको हो भन्ने ज्ञान 
३.चोर्ने आशय 
४.प्रयास 
५.चोरी । 
असल व्यक्तिले चोरी नगर्ने अठोट गर्छ । उसले प्रण गर्छ– अदिन्नादाना वेरमणी– सिक्खापदं समादियामि  । अर्थात्, म चोरी नगर्ने शिक्षालाई ग्रहण गर्छु । यसले त्यागको भावनालाई जगाउँछ । व्यक्तिको सम्पत्तिको अधिकार रक्षा गर्न सघाउँछ । बुद्धले चोरी गर्दाका ७ वटा बेफाइदा बताउनुभएको छ ।

३.व्यभिचार नगर्नु
विवाहेतर यौन सम्बन्धलाई व्यभिचार भनिन्छ । यसले सम्बन्धमा अविश्वास पैदा गर्छ । दम्पतीमा प्रेम र विश्वास नभए घर अशान्त हुन्छ । बौद्ध शब्दावलीमा यसलाई काममिथ्याचार भनिन्छ । यसमा पनि पाँच अङ्गहरू समावेश भएका हुन्छन्– 
१.यौनका लागि असम्बन्धित व्यक्ति, 
२.असम्बन्धित पात्र हो भन्ने ज्ञान, 
३.व्यभिचारको आशय, 
४.व्यभिचारको प्रयास र, 
५.व्यभिचार । 
​​​​​​​शीलवान व्यक्तिले व्यभिचार नगर्ने अठोट गर्छ । उसले यस्तो प्रण गर्छ– कामेसु मिच्छाचारा वेरमणी– सिक्खापदं समादियामि । अर्थात्, म व्यभिचार नगर्ने शिक्षालाई ग्रहण गर्छु । यो शीलको पालनले घरभित्र विश्वास बढाउँछ । समाजमा बलात्कारजस्ता जघन्य अपराध कम गर्न सघाउँछ । बुद्धले व्यभिचार गर्दाका ७ वटा बेफाइदा बताउनुभएको छ ।

४.असत्य नबोल्नु
यथार्थको विपरीत बोल्नु असत्य भाषण हो । झूटो कुरा बोलेर अरूलाई ठग्नु ठुलो कुकर्म हो । बौद्ध शब्दावलीमा यसलाई मृषावाद भनिन्छ । पालिमा मुसावाद भनेको पनि त्यही हो । यसमा पनि पाँच अङ्गहरू समावेश भएका हुन्छन्– 
१.असत्य विषय, 
२.असत्य हो भन्ने ज्ञान, 
३.असत्य बोल्ने आशय, 
४.असत्य बोल्ने तयारी र, 
५.असत्य भाषण । 
यसबाट बच्न असल व्यक्तिले झूटो नबोल्ने अठोट गर्छ । उसले प्रण गर्छ– मुसावादा वेरमणी– सिक्खापदं समादियामि अर्थात्, म असत्य नबोल्ने शिक्षालाई ग्रहण गर्छु । सत्यले व्यक्तिको स्वाभिमान बढाउँछ । यसले समाजमा विवाद कम गर्न सघाउँछ । बुद्धले असत्य बोल्दाका ७ वटा बेफाइदाको चर्चा गर्नुभएको छ ।

५.नशालु पदार्थ सेवन नगर्नु
नशालु पदार्थले मन र शरीरलाई अनियन्त्रित पार्छ, उत्तेजित बनाउँछ । जाँडरक्सी, लागूपदार्थ र धूम्रपान जस्ता मादक पदार्थबाट सधैँ बच्नुपर्छ । यसमा पनि पाँच अङ्गहरू समाविष्ट हुन्छन् । ती हुन्– १.नशालु पदार्थ, 
२.नशालु पदार्थ हो भन्ने ज्ञान, 
३.नशालु पदार्थ सेवन गर्ने आशय, 
४.नशालु पदार्थ सेवन गर्ने तयारी र, 
५.नशालु पदार्थको सेवन । 
अनुशासित व्यक्ति यी कुराबाट सदैव टाढा रहन्छ । उसले प्रण गर्छ कि सुरा–मेरय–मज्ज–पमादठ्ठाना वेरमणी– सिक्खापदं समादयामि अर्थात्, म मद्यपान तथा अन्य मादक पदार्थ सेवन नगर्ने शिक्षालाई ग्रहण गर्छु । यो शीलको पालनले स्मृतिलाई जगाउँछ । यसले सफल व्यक्ति बन्न पनि सघाउँछ । बुद्धले सुरापान गर्दाका सात वटा बेफाइदाको बारेमा बताउनुभएको छ ।

निष्कर्ष
उल्लिखित शीलहरू शान्तिपूर्ण जीवनका लागि विशेष सूत्र हुन् । तिनको पालनले व्यक्तिको आचरण शुद्ध हुँदै जान्छ । व्यक्ति असल भएपछि समाज, देश र विश्व नै शान्त र सभ्य बन्छ । बौद्ध शिक्षाको आधार पनि शील नै हो । बुद्ध भन्नुहुन्थ्यो– संसारमा शीलको पालन गर्नेहरू रहेसम्म मेरो शिक्षा हराएर जानेछैन । अतः यस्ता शीलको पालन गरी समाजलाई सभ्य बनाउन सहयोग गर्नु सबैको दायित्व पनि हो ।

(लेखक अभियन्ता तथा अध्येता हुनुहुन्छ । पत्रकारिता गर्नुहुन्छ ।)

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ९ : १४ बजे