काठमाडौं । नेपालको राजनीतिमा लामो समयपछि फेरि गज्जबको समीकरण बनाउने कसरत भएको छ। बिशेष गरी एमाले र कांग्रेसबीच नयाँ समीकरण कायम भएपछि त्यसलाई भत्काउन कठिन हुने ठान्दै अनौठो समीकरण बनाउन माओवादीको नेतृत्वले अनेक प्रयास गरिरहेको छ।
कुनै बेला समाजवादी मोर्चा बनाएर कांग्रेस र एमालेलाई दबाबमा राख्न प्रयास गरेको माओवादीले यस बेला भने सरकार र यो समीकरणको विरोधमा नयाँ मोर्चा बनाउने प्रयास गरेको छ। यद्यपी यसले अहिले कुनै मूर्त रूप लिन पाएको छैन । तर सत्ताबाट प्रतिपक्षमा पुगेको माओवादीको छटपटीले भने त्यो सङ्केत दिइरहेको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कुनै बेला माओवादी बिचारका कम्युनिष्ट घटकको मोर्चा बनाउनु भएको थियो। तर पछि त्यो आफै तुहिएर गयो। त्यो मोर्चा एउटा विज्ञप्ति निकालेपछि अहिले ‘ लापता’ छ।
त्यो लापत्ता भएपछि उपेन्द्र यादव सहितलाई समेटेर बनाएको समाजवादी मोर्चाको अहिले अस्थिपञ्जर खोज्नु पर्ने भएको छ। त्यसैले यसका हाडखेर जोड्ने प्रयासमा पनि माओवादी लागेको छ।
यसरी विगतमा बनाएका मोर्चाहरू असफल हुँदै गएपछि अहिले माओवादीका अध्यक्ष प्रचण्ड सरकारविरुद्धको मोर्चा बनाउने प्रयासमा लाग्नु भएको स्रोतले बतायो। केही दिनदेखि बिभिन्न सार्बजनिक कार्यक्रममा प्रधानमन्त्री लगायतका नेताहरूमाथि केहीले नारा लगाउने प्रयासलाई पनि प्रचण्डको राजनीतिको ‘मार्केट ट्रायल’को रूपमा धेरैले बुझ्ने गरेका छन् । तर ती सबै असफल हुँदै आएका छन् ।
भदौ १ गते गौरापर्ब मनाउँदा शीर्ष नेताहरुविरुद्ध( माओवादी बाहेक)केही समूहले नारा लगाए। उनीहरूले काठमाडौं महानगर पालिकाका मेयर बालेन शाहको पक्षमा नारा लगाएका थिए। नारा लगाउनेहरूलाई केही समय पक्राउ गरिएको थियो । उनीहरूको उपस्थिति पनि गज्जबको थियो। कोही माओवादी निकट थिए, कोही बालेन शाह र कोही राजावादी । सार्बजनिक कार्यक्रममा यो पक्राउ सानो थियो र घटना पनि सानो । तर यसको खेलोमेलो भने अर्थपूर्ण रहेको बताइएको छ। सोही समूहले असोज ३ गते दरबार मार्गमा आयोजित कन्सर्टमा समेत कार्यक्रम भाँड्ने प्रयास गरेको थियो। त्यो घटना पनि अघिल्ला जस्तै मिल्दा जुल्दा समूहले गरेको सुरक्षा स्रोतको विश्लेषण छ।
त्यसै गरी प्रधानमन्त्री केपी शर्मा ओली न्यु योर्क भ्रमणका क्रममा केहीले असहिष्णु बन्दै कालो झन्डा समेत देखाउने धम्की दिएका थिए। प्रधानमन्त्री समय अभावले त्यो कार्यक्रममा जानु भएन। तर उनीहरूले कार्यक्रममा प्रधानमन्त्री नआउने भएपछि असहिष्णु नारा लगाएका थिए। स्रोतका अनुसार त्यसरी नारा लगाउनेमा रास्वपाका रवि लामिछानेका कार्यकर्ता, माओवादी र राजावादी समर्थकहरु रहेको स्रोतले बतायो।
यस बेला सरकारविरुद्ध माओवादी, रास्वपा, राजावादीहरूको एउटै स्वर भएको छ। यद्यपी यो तिनै पक्ष जनताको माझ लोकप्रिय छैनन् । उनीहरूले पटक पटक सस्तो लोकप्रियताका लागि झुटो लगाएका हुन् भन्ने कुरा जनताले बुझिसकेका छन् । त्यसै कारण यही नेतृत्वबाट सरकारविरुद्धको आन्दोलन बलियो नहुने उनीहरूले निष्कर्ष निकालेका छन् । सार्बजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नारा लगाउने केही युवाहरूको स्पष्ट पहिचान खुल्ने गरेको छैन। यसको एउटै कारण छ – माओवादी, रास्वपा र राजावादीहरूले लगाउने नारा जनताले पत्याउने वाला छैनन्। त्यसैले ती नारा लगाउन नचिनेका युवा परिचालन गर्न थालिएको बताइएको छ।
काठमाडौँमा लाग्ने नारा भने बालेन शाहका समर्थक अगाडि देखिएका छन् । यसको पछाडिका कारण भने माओवादी, रास्वपा र राजावादी नै हुन। उनीहरू अलोकप्रिय भएको र बालेन शाह अलोकप्रिय भई नसकेको कारणले बालेन को काँधमा माओवादीले अहिले सरकार विरोधी बन्दुक भिराई दिएको धेरैले थाहा पाएका छन् ।
यस बेला सरकारबाट बाहिरिएका र अघोषित मोर्चा बन्दीमा देखिएका माओवादी र रास्वपाले दुवैले सडक आन्दोलनसम्मका लागि पार्टी पङ्क्तिलाई उर्दी जारी गरेका छन् ।
राजावादीहरू त यसै अलोकप्रिय बनिसकेका छन् । तर जनताका माझमा खस्कँदै गएको माओवादी र कुन बेला कुन काण्डमा पर्ने हो भन्दै त्राहिमाम् बनेका रास्वपाको पनि लोकप्रियता ओरालो बाटोमा छ। उनीहरूबाट कुनै आन्दोलनले शिखर चढ्ने सम्भावना छैन।
यद्यपी आफू अलोकप्रिय भएको र जनताको साथ नपाउने थाहा पाएको माओवादीले कहिले रवि लामिछाने र कहिले बालेन शाहको काँधमा बन्दुक राखेर सरकारविरुद्ध पड्काउने प्रयास गरेका छन् । यसमा कुना पसेका राजावादीहरूलेसमेत बारुद भर्ने काम गरिरहेका छन् । त्यसैले माओवादी, रास्वपाका आन्दोलनमा उनीहरूको सहभागिता हुने गरेको छ।
।
प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार ११ : ४६ बजे
प्रतिक्रिया