साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सांस्कृतिक सम्पदाको पुनः निर्माण गर्ने प्रतिबद्धता

काठमाडौँ । नेपालको सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन तथा विकासमा सबै स्थानीय तहले उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

पर्य सम्पदा परियोजनाले बुधवार आयोजना गरेको कार्यक्रममा ललितपुर महानगरपालिका, महालक्ष्मी ठिमी, चन्द्रागिरि र गोदावरी नगरपालिकाका नगर प्रमुखले सो विषयमा प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

ललितपुर महानगरका नगरप्रमुख चिरीबाबु महर्जनले मूर्त तथा अमूर्त सम्पदा संरक्षणमा महानगरले मठ मन्दिर, स्तूपको निर्माण, जात्रा तथा पर्वको निरन्तरता दिएको बताउनुभयो ।

उहाँले सम्पदा पुनः निर्माणको गुणस्तर कायम गर्न रु १० करोड रकम बराबरको कार्यलाई टेण्डर प्रक्रियामा जानु नपर्ने निर्णयले सार्थकता पाएकोमा खुसी व्यक्त गर्दै सम्पदा तथा संस्कृति मानव सभ्यतासँग प्रत्यक्ष जोडिएको विषय रहेकाले यस अभियानमा सबै स्थानीय तहलाई हातेमालो गर्न आग्रहसमेत गर्नुभयो । 

युएन ह्याबिट्याटले सञ्चालन गरेको पर्य सम्पदा परियोजनाको सम्बन्धमा जानकारी गराउँदै आयोजना प्रमुख प्रज्ञा प्रधानले बुङ्मती र अन्य सम्पदा क्षेत्रका मूर्त तथा अमूर्त सम्पदाको निर्माण तथा संरक्षणमा परियोजनाले गरेको कामबारे प्रकाश पार्नुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले करिब दुई दशकको समयपश्चात् जनप्रतिनिधिको आगमन भएको र सम्पदाको निर्माण तथा विकास आफैँमा प्राविधिक विषय रहेकाले यसमा सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उक्त नगरपालिकाले हिटी, फल्चा, मन्दिर तथा गुठी संरक्षणलाई बजेट, नीति तथा कार्यक्रममार्फत महत्व दिएको र यसको निरन्तरतामा चासो राखेको छ ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले उक्त परियोजनाको अध्ययन, विधि र ढाँचा प्रभावकारी रहेको र सम्पदा क्षेत्र पहिले सम्बन्धित जातिको संस्कृति सभ्यतासँग जोडिएको र दोस्रो चरणमा पर्यटन क्षेत्रमार्फत आयआर्जनको सम्भावना रहेको बताउनुभयो ।

उपत्यका प्रवेशको मुख्य नाका रहेको चन्द्रागिरि नगरपालिकामा प्राकृतिक तथा सांस्कृतिक पर्यटनका थुप्रै स्थल रहेका छन् । 

नेपाल सरकारले छनोट गरेको उत्कृष्ट १०० पर्यटकीय स्थलमध्ये चन्द्रागिरिको डाँडासमेत परेको विषय स्मरण गर्दै नगर प्रमुख घनश्याम गिरीले आफ्नो नगरपालिकाले सम्पदा संरक्षणमा योगदान गरेको बताउनुभयो ।

ललितपुरको महालक्ष्मी नगरपालिका अमूर्त सम्पदाको संरक्षण गर्न नेवार सङ्ग्रहालय, अन्तर्राष्ट्रिय धार्मिक सङ्ग्रहालय र तामाङ सङ्ग्रहालय निर्माणमा जुटेको छ । 

विभिन्न जात्रा तथा पर्वमा युवा तथा महिलाको सहभागिता बढाउँदै धार्मिक पर्यटनको विस्तारमा नयाँ पुस्तालाई संलग्न गराएको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । उक्त परियोजनाले सिद्धिपुर र लुभुमा गरेको अध्ययनले सम्पदा क्षेत्रको व्यवस्थित विकासमा सहयोग पुगेको बताइएको छ ।

कीर्तिपुर नगरपालिकाका सम्पदा संरक्षण संयोजक रविनमान डङ्गोलले मूर्त तथा अमूर्त सम्पदाको संरक्षणमा अभियानकर्मी तथा नागरिकको सक्रिय सहभागिता र सहयोग आवश्यक रहेको, कीर्तिपुर क्षेत्रको मठ मन्दिर तथा पोखरीको पुनः निर्माणमा नगरपालिकाले चासो राखेको र फोहोर मैला व्यवस्थापन तथा हरित विकासको अवधारणमा सबैको चासो रहेको व्यक्त गर्नुभयो ।

सहरी विकास विज्ञ पद्यसुन्दर जोशीले दिगो विकासको अवधारणाअनुरूप सम्पदा संरक्षणमा भित्रिएका नवीनतम सिकाइ तथा अन्तर्राष्ट्रिय अभ्यासलाई सबै स्थानीय तहले मनन् गर्न आवश्यक रहेको र मूर्त तथा अमूर्त सम्पदाको संरक्षणमा प्राचीन महत्व तथा प्राविधिक ज्ञान भएका जनशक्तिको आवश्यकता रहेको बताउनुभयो ।

पर्य सम्पदा परियोजनाले विगत चार वर्षदेखि मूर्त सम्पदाको निर्माण एवं विस्तारमा सहयोग गर्दै स्थानीय नागरिकलाई उद्यम स्थापना तथा सञ्चालनमा सहयोग गर्दै आएको छ । रासस

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ७ : २३ बजे