सुनको मूल्यमा नयाँ कीर्तिमान

ओमिक्रोनको संक्रमण बढेसँगै क्रिसमस र नयाँ वर्षमा पार्टी गर्न रोक

काठमाडौं – भारतको दिल्लीमा क्रिसमस र नयाँ वर्षको अवसरमा कुनै पनि ठूला कार्यक्रम गर्न रोक लगाइएको छ। यस्तो रोकको निर्णय  दिल्ली डिजास्टर म्यानेजमेन्ट अथोरिटीले गरेको हो । कोरोना संक्रमणको बढ्दो दर र नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो अवस्थालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको अथोरिटीले जनाएको छ । 

भारतीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म ओमिक्रोन भेरियन्टका २१३ संक्रमित फेला परेको र त्यसमध्ये धेरै ५७ जना दिल्लीमा फेला परेको जनाएको थियो । 

दिल्ली सरकारको तर्फबाट बुधबार जारी तथ्यांक अनुसार दिल्लीमा कोरोना संक्रमणका १२५ नयाँ संक्रमित थपिएका छन् । अहिले ६२४ सक्रिय संक्रमित रहेका छन् । 

केही दिन पहिला मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली ओमिक्रोनसँग लड्न तयार रहेको बताएका थिए । 

अधिकारीहरुले दिल्लीमा क्रिसमस र नयाँ वर्षको अवसरमा उल्सासमय ठूला कार्यक्रमहरु गर्न रोक लगाएको जनाएका छन् । 

अथोरिटीले सबै जिल्लाका अधिकारीहरुलाई आफ्नो क्षेत्रमा संक्रमण रोक्नका लागि जरुरी कदम उठाउन आदेश ददिएको छ । कसैलाई पनि विना मास्क हिँड्न र कुनै पनि क्षेत्रमा जान नदिन निर्देशन जारी गरिएको छ । 

एजेन्सी

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ९ : ४५ बजे