‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

श्रीलंकाका नव निर्वाचित राष्ट्रपतिले गरे संसद भङ्ग, नोभेम्बर १४ मा निर्वाचन घोषणा

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकेले संसद विघटन गरेका छन् । राष्ट्रपति दिसानायकेले आगामी नोभेम्बर १४ मा आम निर्वाचन गर्ने गरि संसद विघटन गरेका हुन् । श्रीलंकामा पछिल्लो संसद अधिवेशन अगस्ट २०२० मा बोलाइएको थियो । संसद विघटन निर्धारित समयभन्दा ११ महिना अगाडि भएको छ ।

राष्ट्रपति चुनावको अभियानका क्रममा नै दिसानायकेले आफू विजयी भएमा तत्काल संसद विघटन गर्ने कुरा स्पष्ट पारेका थिए । गत शनिबार भएको निर्वाचनको नतिजापछि राष्ट्रपति बनेका ५६ वर्षीय दिसानायकेले संसद भङ्ग गरेर निर्वाचनको मिति तोकेका हुन् । श्रीलंकाको नवौं राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेपछि उनले लोकतन्त्रको रक्षा र नेताहरूको सम्मान पुनर्स्थापना गर्नको लागि सक्दो प्रयास गर्ने विश्वास दिलाएका थिए ।

साथै, उनले आफ्नो उद्देश्य देशलाई आर्थिक संकटबाट निकाल्ने भएको बताएका थिए । उनले भने, ‘म जादूगर होइन, म यो देशमा जन्मेको एक आम नागरिक हुँ । मसँग क्षमता र असक्षमता छ । मलाई केही कुरा थाहा छ र केही कुरा थाहा छैन । मेरो पहिलो काम भनेको जनताको प्रतिभालाई सदुपयोग गर्नु र यो देशको नेतृत्व गर्न राम्रो निर्णय गर्नु हो । सामूहिक जिम्मेवारीमा योगदानकर्ता बन्न चाहन्छु ।’

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ८ : ४९ बजे