दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अब दसैंकालागि बसको अग्रिम टिकट अनलाइनबाटै, दैनिक ४० हजार सिट उपलब्ध

काठमाडौँ । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बस सेवा डटकमले दसैंका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ ।

अहिले काठमाडौँबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्यमा र पोखराबाट नेपालका सबै प्रमुख सहरहरूमा अग्रिम टिकट काट्न सकिने व्यवस्था भइसकेको जानकारी बस सेवाले दिएको छ । बस व्यवसायी र सरकारबीच टिकट बुकिङ खुलाउने सम्बन्धमा छलफल भइरहेको छ ।

विगतका वर्षमा पनि दसैंको समयमा यात्रुहरूलाई सहज रूपमा बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बस सेवाले अझ परिस्कृत रूपमा सजिलै टिकट काट्न सक्ने व्यवस्था गरेको हो । बस सेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालका अनुसार ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बस सेवाबाट टिकट काट्न सकिनेछ ।

प्रत्येक वर्ष दसैंमा बस सेवाले टिकटको संख्या बढाउँदै लगेको बताएका खनालले यस वर्ष पनि दैनिक टिकटको कोटा बढाउने तयारी भइरहेको जानकारी दिए । ‘बुकिङ खुलेपछि टिकटका लागि बसपार्क वा काउन्टरमा जानुपर्ने बाध्यता हटोस् भन्ने हाम्रो चाहना हो,’ खनालले भने, ‘अनलाइनबाट टिकट काट्दा बस र सिटसमेत छान्न पाउने भएपछि यात्रु र दोहोरो टिकटको विवाद आउनेछैन ।’

बस सेवाले आफ्नो प्लेटफर्ममार्फत् टिकट काट्ने यात्रुमध्ये हरेक दिन केही यात्रुलाई आकर्षक अफर दिने तयारी गरिरहेको र यस सम्बन्धमा छिट्टै औपचारिक घोषणा गरिने बस सेवाले जनाएको छ ।  बस सेवाले सडकमा सवारी चापको समस्यालाई ध्यानमा राखेर यात्रु व्यवस्थापनका लागि काठमाडौँको कलंकीमा प्यासेन्जर लाउन्ज सञ्चालनमा ल्याइसकेको छ । बस सेवाबाट टिकट काटेका यात्रुले कुनै पनि गन्तव्यमा जानका लागि सो लाउन्जबाट सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।

बस सेवामा ४५० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् । उल्लेखित समिति तथा कम्पनीहरूका हजारौँ संख्याका बसका लाखौँ टिकट अनलाइनमार्फत् खरिद गर्न सकिने बस सेवाले जनाएको छ । बस सेवाको वेबसाइट र मोबाइल एपबाट अग्रिम टिकट बुकिङ गर्नुका साथै बस सेवाको आधिकारिक फेसबुक पेजबाट नियमित अपडेट पाउन सकिने बताइएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ३ : ३० बजे