म्याग्दी (बेनी)। जिल्लाको मालिका गाउँपालिकाले पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ । विपन्न नागरिकको स्वास्थ्योपचारमा सहयोग गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा ‘विपन्न नागरिकको स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गर्न लागेको हो ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविकाका साथै विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजाले बताउनुभयो । उहाँका अनुसार पालिकाले विपन्न नागरिकका लागि रु ३० लाख र महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमाका लागि रु तीन लाख बजेट विनियोजन गरेको छ ।
यस वर्ष गाउँपालिकाले नौ सय परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य लिएको छ । विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रमबाट चार हजार पाँच सय जना लाभान्वित हुने पालिकाले जनाएको छ । वडा कार्यालयबाट अहिले विपन्न नागरिकको विवरण सङ्कलन भइरहेको छ ।
वडा कार्यालयमा प्राप्त हुन आउने निवेदनमा गाउँ कार्यपालिकाको बैठकबाट छनोट गरेर एक वर्षको लगानीमा स्वास्थ्य बीमा गरिने गाउँपालिकाले जनाएको छ । पाँच जनाको परिवारले वार्षिक रु तीन हजार पाँच सय तिरेपछि एक वर्षसम्मलाई रु एक लाखसम्मको उपचार सेवा पाउनेछन् । यस्तै पाँच जनाभन्दा बढीको परिवार भएमा प्रतिव्यक्ति रु सात सय थप हुनेछ भने उनीहरूले थप रु २० हजार बराबरको उपचार सेवा पाउनेछन् ।
प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार ७ : ३५ बजे
प्रतिक्रिया