इजरायलको आक्रमणमा लेबनानमा ४९२ जनाको मृत्यु

काठमाडौँ । लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली हवाई हमलाका कारण देशमा कम्तीमा ४९२ जनाको मृत्यु भएको र १६४५ जनाभन्दा बढी घाइते भएको जनाएको छ ।

लेबनानको जनस्वास्थ्य मन्त्रालयले देशको दक्षिणी भागमा रहेका सबै अस्पतालहरूलाई अत्यावश्यक शल्यक्रियाहरू रद्द गर्न आग्रह गरेको विज्ञप्ति जारी गरेको छ ।

घाइतेहरुलाई आकस्मिक विभागमा पुर्‍याउन चिकित्सकहरुलाई तयार रहन भनिएको छ । शिक्षा मन्त्रालयका अनुसार लेबनानको दक्षिणी र बेरुतको दक्षिणी उपनगरका विद्यालयहरूलाई पनि बन्द गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । इजरायली रक्षा बलहरूले लेबनानमा १६०० भन्दा बढी लक्ष्यहरूलाई लक्षित गरेको बताएको छ ।

आइडीएफ प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले इजरायली वायुसेनाले १६ सय भन्दा बढी लक्ष्यहरूलाई निशाना बनाएको बताएका हुन् । इजरायली सेनाले अब हिजबुल्लाहविरुद्धको आक्रमणको दायरा व्यवस्थित रूपमा बढाउँदै लैजाने बताएको छ ।

इजरायलले घर नजिकै हतियार राखिएको ठाउँ छाड्न सर्वसाधारणलाई आग्रह गरेको छ । इजरायलले हिजबुल्लाहले हतियारहरू इजरायलविरुद्ध प्रयोग गर्न चाहेको र त्यसको सुरक्षाका लागि लेबनानी जनतालाई मानव ढाल बनाएको आरोप लगाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ७ : १५ बजे