आगलागीमा परी मृत्यु

रौतहट – फतुवा विजयपुर नगरपालिका-१ वरगेनिया बस्ने जोकु राय यादवको छोरी ३ वर्षीया आराध्या कुमारी यादवको आगलागीमा परी मंगलबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने मदन यादवको घर नजिकै छिमेकी रामविश्वास राय यादवले आफ्नै जग्गामा काटेर राखेको धान नजिकै केटाकेटीहरुले आगो सल्काई खेल्ने क्रममा धानमा आगो सल्कन गई मदनको घरमा समेत आगलागी हुँदा सोही आगलागीमा परी आराध्याको मृत्यु भएको हो । साथै उक्त आगलागीमा जलेर गम्भीर घाइते भएका सोही ठाउँ बस्ने संजिव साहको छोरा २ वर्षीय रोहित साहलाई उपचारको लागि वीरगंजतर्फ पठाइएको छ । आगलागीबाट मदनको घर पूर्ण रुपमा जलेर करिब २ लाख रुपैयाँ तथा रामविश्वासको १ विघा खेतमा काटेर थुपारी राखेको धान पूर्ण रुपमा जलेर करिब ९५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, स्थानीयबासिन्दा र दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १२ : ४८ बजे