विषय प्रवेश :
नेपालको सार्वजनिक मामिलामा सदाचार, नैतिकता, इमानदारिता, निष्ठा, मूल्यमा आधारित राजनीति, मूल्य र नैतिकतामा आधारित प्रशासन ओझेलमा परे भन्ने विषयमा सर्वथा चासो र चिन्ता व्यक्त भइरहेको पाइन्छ । समाजलाई ठिक र न्यायिक दिशामा निर्देशित गर्ने अदृश्य शक्ति नै मूल्य प्रणाली हो । शासकीय मूल्यमा क्षयीकरण भएमा त्यसले समग्र शासकीय व्यवस्थालाई समेत खलबल्याउँछ ।
हामी विदेशका राम्रा बानी, अनुशासन, सरसफाइ, समयको वास्ता र किताब पढ्ने, आफ्ना सांस्कृतिक महत्त्वका वस्तुहरूको वास्ता गर्ने, स्वस्थ खाना खाने आदिको चाहिँ वास्ता गर्दैनौँ । हाम्रो संस्कृति, रहन—सहन, औकातभन्दा बाहिरका कुराहरूको बढी सिको गरिराखेका हुन्छौँ । यसले हाम्रो मूल्य प्रणालीमा स्खलन आइरहेको छ । हामीले हाम्रो पूर्वीय दर्शनको आचार—विचारलाई चटक्कै बिर्सेजस्तो व्यवहार प्रदर्शन गरेका छौँ ।
राजनीतिक मूल्य प्रणाली
राजनीतिक प्रणालीमा मूल्य र निष्ठाको ह्रास हुँदै गएकोमा चिन्ता र चासो बढेको छ । नेपालका कतिपय ठुला राजनीतिक दलहरूको महाधिवेशनमा राजनैतिक मूल्य प्रणाली, नागरिकमा आशा जगाउने विषयहरूभन्दा अन्य विषयमा बढी छलफल भयो । देशलाई समृद्ध बनाउने रणनीतिका बारेमा छलफल हुन्छ कि भन्ने जिज्ञासा सहित सर्वसाधारण नागरिकहरूले निकै चासो, चिन्ता र चर्चा गरे ।
वरिष्ठ नेता एवं राजनीतिक हस्ती रामचन्द्र पौडेलले महाधिवेशनको सन्दर्भमा मन दुखाएको विषय मिडियामा बाहिरिएको थियो । महाधिवेशनको सेरोफेरोमा सर्वोच्च नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, प्रदीप गिरी, नीलाम्बर आचार्य, मनमोहन अधिकारी, बिपी कोइराला लगायतका नेताहरूले निष्ठाको राजनीति गरेका थिए भन्ने चर्चा पनि चलाए । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको बहिर्गमन र प्रदीप गिरीको पार्टी राजनीतिमा देखिएको निष्क्रियताको सन्दर्भ कोट्याउँदै मूल्यमा आधारित राजनीतिका सवालमा उनीहरूलाई उदाहरण दिएको सुनिन्छ ।
नेपालको शासकीय प्रणालीमा खर्चिलो निर्वाचन प्रणाली, भड्किलो प्रचार—प्रसार शैली, समानुपातिक निर्वाचनमा समेटिन तथा उम्मेदवारको टिकट पाउने बेलामा देखिएको क्रोनिक्यापिटालिजम, मतदातालाई प्रभाव पार्नको लागि प्रयोग गरिने आर्थिक प्रलोभन, नीति निर्माणमा प्रमुख भूमिका निर्वाह गर्ने सांसदहरूलाई होटल नै बुक गरेर सम्पर्क विहीन बनाउने लगायतका दृष्टान्तहरू मिडियामा बग्रेल्ती देख्न र सुन्न पाइन्छ ।
यी केही साङ्केतिक क्रियाकलाप मात्र हुन । अदृश्य रूपमा हुने अन्य चलखेलकोको पाटो बाँकी नै छ । यी सबै दृष्टान्तले के देखाउँछ मूल्य प्रणालीमा टेकेर र उभिएर राजनीति गर्न निकै चुनौतीयुक्त र सकसपूर्ण छ । पैसा खर्च नगरीकन सिद्धान्त, आदर्श र मूल्यमा आधारित आधारित राजनीति टिकाउ हुन गाह्रो देखिन्छ । मूल्य प्रणालीमा आधारित राजनीतिभन्दा पनि पैसामुखी राजनीति देखिएको छ । यो तितो सत्य हो ।
यसको मूल कारण समाजमा खस्कँदो मूल्य प्रणाली, खर्चिलो निर्वाचन प्रणाली, राजनीतिक दलहरूको स्रोत प्राप्ति र खर्च प्रणाली पारदर्शी नहुनु, छिटो धन कमाउन लालसा, राजनीतिलाई सेवाभन्दा पनि पेसाको रूपमा लिने बाध्यता रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
सार्वजनिक प्रशासनमा मूल्य प्रणाली
सार्वजनिक मूल्य प्रणालीका सन्दर्भमा मिति २०७८।०८।२९ गते सहसचिवको लागि सोधिएको प्रश्नमा यस्तो उल्लेख गरिएको छ, ‘सार्वजनिक सेवाका लागि पनि संविधान, कानुन, परम्परा र सङ्गठनात्मक मूल्य(Norms)ले सर्वमान्य मूल्यहरू निर्धारण गरिदिएको हुन्छ । नेपालमा पनि कर्मचारीहरूका लागि मूल्यहरू तोकिदिएको छ । संविधान, सुशासन ऐन, सेवा सर्त सम्बन्धी कानुन, शपथ आदिमा यी मूल्य निर्दिष्ट गरिएका छन् ।
यीमध्ये मुख्य मूल्यहरू भनेको निष्पक्षता, तटस्थता, वस्तुनिष्ठता, इमानदारिता, जबाफदेहिता, पारदर्शिता र विधिको शासन नै मुख्य हुन् । यी कुनै पनि मूल्यमा कर्मचारीहरू खरो उत्रन सकेका छैनन् । कर्मचारीहरूको निष्पक्षता आन्तरिक र बाह्य रूपमा प्रदर्शित हुनुपर्नेमा नातावाद, कृपावाद, दलगत झुकाव एवं मिलीभगतमा काम भएको भनेर आलोचना भइरहेको छ । न कर्मचारीतन्त्र राजनीतिक रूपमा निष्पक्ष छ, न त जनताप्रति जबाफदेही छ । अतिरिक्त आर्थिक लाभ दिलाएर सेवाग्राही सेवा लिन बाध्य छन् भनिन्छ । निर्णय तहमा रहेकाहरूले विवेकपूर्ण निर्णय त राम्रोसँग गर्न सकेका छैनन् भने नैतिक निर्णय गर्ने गरेको उदाहरण सुन्न कमै पाइन्छ । साहसिक निर्णय त अझ परको कुरा भएको छ ।
नैतिक निर्णय गर्न अन्तरात्माबाट प्रेरणा लिनुपर्ने हुन्छ । यी तथ्यहरूले नेपालको सार्वजनिक सेवाभित्र मूल्यप्रतिको सम्मान र अभ्यास कम हुँदै गएको स्थिति छ’ यो प्रश्नको भावले नेपालको सार्वजनिक प्रशासनमा नैतिक मूल्यहरूको स्खलनलाई दर्साउँछ ।
निजी क्षेत्रमा मूल्य प्रणाली :
नेपालको संविधानले निजी क्षेत्रलाई अर्थतन्त्रको मूल खम्बाको रूपमा लिएको छ । दिगो विकासका लक्ष्यहरूमा निजी क्षेत्रको लगानी ५५ प्रतिशतको हाराहारीमा अपेक्षा गरिएको छ । विकास र समृद्धिको ड्राइभर – सरकार, इन्जिन – निजी क्षेत्र र इन्धन – सीपमूलक जनशक्ति मानिन्छ ।
आर्थिक वृद्धिको संवाहकका रूपमा पहिचान र सम्बोधन गरिए पनि निजी क्षेत्रले अपेक्षित रूपमा दक्षता र व्यावसायिक कुशलता र स्वस्थ प्रतिस्पर्धात्मक क्षमता विकास गरिसकेको देखिँदैन । अनुभूतिजन्य तितो अनुभव धेरै छ । भ्याट, भन्सार, राजस्व छली, वस्तु तथा सेवाको न्यून गुणस्तर, मिसावट, कालोबजारी, छाया अर्थतन्त्रलाई प्रोत्साहित गरिएको लगायतका व्यावसायिक नैतिकता (बिजनेस इथिक्स) लाई ध्यान नदिइएको गुनासो बारम्बार आइरहेको पाइन्छ ।
सहकारी क्षेत्र र मूल्य प्रणाली
सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरूप देशका कृषक, कालीगढ, श्रमिक, न्यून आय समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्तामाझ छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्न, समुदायमा आधारित, सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्तता र स्वशासित सङ्गठनको रूपमा सहकारी संस्थाहरूको विकास गर्ने मनसाय रहेको छ ।
तथापि पछिल्लो समयमा ओरिएन्टल, गुण सहकारी, सिभिल सहकारीमा देखिएको सङ्कटले सहकारीको मूल्य प्रणाली कुन दिशातर्फ उन्मुख छ भन्ने विषय आफै प्रस्ट हुन्छ । बिबिसीका अनुसार ग्रामीण भेगका तुलनामा सहरी क्षेत्रमा खोलिएका सहकारीहरू बढी समस्याग्रस्त र जोखिमपूर्ण छन् ।
उजुरी परेकामध्ये प्रायः सबै काठमाडौँ र प्रमुख क्षेत्रका सहकारी विरुद्ध लक्षित छन् । सहरमा खोलिएका अधिकांश सहकारी परिवार नियन्त्रित हुनुका साथै सञ्चालक समितिहरूको आवधिक निर्वाचन नहुँदा समस्याग्रस्त छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार नेपाली अर्थतन्त्रमा देखिएका घरेलु खतरामध्ये समस्याग्रस्त सहकारीहरू प्रमुख रहेको छ । बेलैमा कडा कदम नचालिए यसबाट अर्थतन्त्रमा नै गम्भीर खतरा उत्पन्न हुन सक्ने भन्दै उसले सरकारलाई सचेत समेत गराइसकेको छ ।
अबको बाटो
यद्यपि, नैतिकता र मूल्य प्रणाली निर्माण गर्ने काम केवल कानुनले मात्र सम्भव छैन, तथापि कानुनको प्रभावकारी कार्यान्वयन र नैतिक मूल्य प्रणाली निर्माणका लागि गर्नुपर्ने सुधारका कामहरूमध्ये केही देहाय बमोजिम छन्:
क) विद्यमान प्रावधानहरूको प्रभावकारी कार्यान्वयन
- सदाचार पद्धति प्रवर्धन गर्न र स्वार्थको द्वन्द्वको अन्त्यका लागि विद्यमान संवैधानिक, कानुनी, नीतिगत, कार्यविधिगत प्रावधानहरूको प्रभावकारी कार्यान्वयन नै सुधारको प्रस्थान बिन्दु हो । यो कामको थालनीबाट नै थप कामको लागि बाटो खोलिने हुँदा यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ । भएका प्रावधानहरूको कार्यान्वयन नहुनु, कार्यान्वयनको पक्ष फितलो हुनु, देखावटी कार्यान्वयन गर्नु जस्ता समस्याहरू विद्यमान छन् ।
ख) सदाचार प्रवर्धनका लागि साझा अभियान सञ्चालन
- असल मूल्य प्रणाली निर्माण गर्नका लागि दृढ इच्छाशक्तिका साथ स्वच्छ छवि भएका र अरूलाई पनि सही दिशामा लैजानका लागि नेतृत्व तथा प्रेरणा प्रदान गर्न सक्ने व्यक्तिहरूको अगुवाइमा अभियान सञ्चालन गर्ने । समाजका सकारात्मक जीवनशैली भएका व्यक्तिहरूको पहिचान, सम्मान, पुरस्कार, प्रचार, सफलताका कथाहरूको प्रकाशन, प्रसारण, रेडियो कार्यक्रम, टिभी कार्यक्रम, पर्चा पोस्टर, पम्पलेट लगायतका विविध प्रक्रियाहरू अपनाइयो भने यसले सदाचार प्रणाली निर्माणमा टेवा पुर्याउन सक्दछ । यस्तो अभियानको एउटा उदाहरणका रूपमा बाग्मती सफाइ अभियानलाई लिन सकिन्छ । यसरी नै नैतिक मूल्य प्रणाली निर्माणको अभियान सञ्चालन गर्नुपर्दछ ।
ग) नीतिगत, संरचनागत र व्यवहारगत सुधार
- राष्ट्रिय सदाचार नीतिको मस्यौदा २०७४ लाई अद्यावधिक गरी लागू गर्ने । यो नीतिले राष्ट्रिय सदाचार पद्धति निर्माणका लागि विशेष भूमिका निर्वाह गर्न सक्दछ । निजी क्षेत्र, गैरसरकारी क्षेत्र, सहकारी क्षेत्र, नागरिक समाज तथा सामुदायिक सङ्घ—संस्थाहरूले आआफ्नो ठाउँबाट नीतिको परिपालना गर्ने र गर्न वातावरणको सिर्जना गराउनु पर्दछ । यसै सन्दर्भमा राष्ट्रिय सतर्कता केन्द्रलाई सदाचार पद्धति कार्यान्वयनको अवस्था अनुगमन र मूल्याङ्कन गर्ने गरी त्यसको पुनः संरचना गर्ने र थप जिम्मेवारी प्रदान गर्ने । सङ्घ, प्रदेश र स्थानीय तहका कार्यालयहरूले सदाचार पद्धतिको अभियानलाई सहजीकरण गर्नका लागि सदाचार अधिकृतको व्यवस्था पनि गर्ने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा अनुचित कार्य छैन । कानुन बनाएर अनुचित कार्य पनि हेर्न मिल्ने बनाउने । निजी क्षेत्र सहकारी क्षेत्र र सामाजिक क्षेत्रमा हुने भ्रष्टाचार हेर्ने अधिकार पनि उक्त आयोगलाई दिँदा सदाचार प्रवर्धनमा टेवा पुर्याउन सक्दछ ।
घ) नैतिक सङ्गठनहरूको निर्माण गर्ने
समाजमा नैतिकता प्रवर्धनका लागि नैतिक सङ्गठनहरूको निर्माण अपरिहार्य छ । सार्वजनिक र निजी दुवै क्षेत्रहरूमा नैतिक र मूल्यमा आधारित सङ्गठनहरू निर्माणको अभियान सञ्चालन गर्ने । नैतिक सङ्गठनका लागि आधारभूत मापदण्ड निर्माण गर्ने, नैतिकवान् व्यक्तिहरूको पहिचान गरी नेतृत्व सुम्पने, नैतिक काम गर्नेलाई पुरस्कार गर्ने, अनैतिक काम गर्नेहरूलाई सजाय दिने । सार्वजनिक सङ्गठनहरू बीचमा एक आपसमा स्वच्छ प्रतिस्पर्धा गराउने । नैतिक सङ्गठन निर्माण र प्रवर्धन सम्बन्धी थप कामहरू गर्दा यसले समाजमा एक प्रकारको हलचल पैदा गराउन सक्ने देखिन्छ ।
ङ) नागरिक दायित्वलाई विस्तृतीकरण गर्दै नैतिक शपथ
सदाचार पद्धति निर्माणको लागि नागरिकहरूको क्लष्टर बनाएर नैतिक शपथ खुवाउन सकिन्छ । सानो सानो घेराबाट सुरु गरी सबै नागरिकलाई राष्ट्रप्रतिको दायित्व निर्वाह गर्नको लागि प्रतिबद्धता बनाउने । नेपालको संविधानको धारा ४८ मा नागरिकको कर्तव्यमा उल्लेख गरिएको विषयलाई कानुनद्वारा विस्तृतीकरण गरेर जानु पर्दछ । संविधान र कानुनको पालना गर्नु, राज्यले चाहेको बेला अनिवार्य सेवा गर्नु, सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु लगायतका बुँदालाई कानुनैमा विस्तृतीकरण गरेर कार्यान्वयनमा ल्याउनु पर्दछ ताकि सदाचार र नैतिक मूल्यमा आधारित प्रणाली निर्माणमा कोशेढुंगाको रूपमा काम गरोस् ।
च) सङ्गठनका नैतिक मूल्य निर्धारण
स्थानीय तह तथा प्रदेश सरकारकाले सङ्गठनका मूल्यहरू निर्धारण गरी सार्वजनिक गर्ने । ताकि निर्धारित मूल्य, मान्यता र सिद्धान्तले निर्देशन गरे अनुसार सङ्गठनलाई चलायमान बनाउने । यसो गर्दा यसको प्रभाव अन्य पक्षहरूलाई परी नैतिकतामा आधारित मूल्य प्रणाली निर्माण गर्न गराउन सहयोग पुग्दछ ।
छ) राष्ट्रिय एजेण्डा र रणनैतिक हस्तक्षेपकारी नीति अवलम्बन
- सदाचार इमानदारिता र नैतिकता समाज रूपान्तरणको सबैभन्दा बलियो पाटो हो । यसमा सामान्य नीतिगत सुधारले मात्र यसलाई अगाडि बढाउन सकिँदैन । राजनैतिक सामाजिक एजेण्डाको रूपमा यसलाई अगाडि बढाउनु पर्दछ । राजनीतिक नेतृत्व, निजी क्षेत्र, सार्वजनिक प्रशासन, नागरिक समाज, सामाजिक क्षेत्र लगायत सबै क्षेत्रबाट यसलाई अवलम्बन गर्ने प्रतिबद्धता हुनुपर्ने । राजनैतिक दलहरूले राष्ट्रिय मूल्य निर्माणको लागि राजनैतिक एजेण्डा नै बनाउनु पर्दछ । राजनैतिक एजेण्डा बिना परिवर्तन निकै गाह्रो छ । चल्ते र चलाते शैलीले प्रणाली बसाउन चुनौतीपूर्ण रहेको छ
ज) राष्ट्रिय सङ्कल्प
सदाचार प्रणाली निर्माणका लागि संसद्बाट सङ्कल्प प्रस्ताव पारित गरी सबै राष्ट्रिय पार्टीहरू एकमतले सदाचार निर्माणको अभियानमा लाग्ने हो भने यसले पक्का पनि प्रणाली निर्माणमा सहयोग पुर्याउँछ ।
झ) पाठ्य पुस्तकमा परिवर्तन
सामाजिक रूपान्तरणमा शिक्षाको ठुलो महत्त्व र भूमिका हुन्छ । सदाचारयुक्त समाज निर्माणका लागि तदनुसारको पाठ्यक्रम विकास गर्नुपर्दछ । विद्यालय तहदेखि नै सदाचार शिक्षालाई रचनात्मक तरिकाले ठोस रूपमा कार्यान्वयनमा ल्याउनुपर्दछ । यसका अतिरिक्त अध्ययन—अनुसन्धान, तालिम, सभा, सम्मेलन, गोष्ठी, प्रचार—प्रसार लगायतका माध्यमबाट पनि नैतिक मूल्य प्रणाली विकास कार्यलाई अघि बढाउन सकिन्छ ।
निष्कर्ष
सदाचार र नैतिक निकै महँगो वस्तु भएको हुँदा यसलाई सर्वसुलभ बनाउनु नै पर्दछ । यसका लागि प्रविधि, कानुनको कठोर कार्यान्वयन नयाँ पुस्तामा जागरण ल्याउनु जरुरी छ । आर्थिक, राजनीतिक, सांस्कृतिक र वैचारिक हस्तक्षेपमार्फत नैतिक मूल्य प्रणालीको निर्माण गर्नुपर्दछ । नेपालको खस्कँदो नैतिक मूल्य प्रणाली साधारण कारोबारिया दृष्टिकोणबाट मात्र सम्भव देखिँदैन ।
(लेखक निजामती सेवामा हुनुहुन्छ ।)
प्रकाशित मिति : ७ पुस २०७८, बुधबार १२ : १२ बजे
प्रतिक्रिया