सुनको मूल्यमा नयाँ कीर्तिमान

हुलाकी मार्ग कालोपत्रे भएसँगै उद्योग तथा बजार विकासको बाटो खोल्यो

नवलपरासी । शताब्दीको इतिहास बोकेको हुलाकी राजमार्ग कालोपत्रे गर्ने कार्य सम्पन्न नहुँदै सो क्षेत्रमा बजार र उद्योग स्थापना हुने क्रम बढ्न थालेको छ । 

पञ्चायत कालमा पूर्व—पश्चिम राजमार्गको निर्माण भएदेखि राणाकालीन हुलाकी राजमार्ग ओझेल परेको भए पनि अहिले उक्त सडक कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेसँगै राजमार्ग वरिपरि उद्योगहरू र बजार विकास हुन थालेका हो ।

हुलाकी मार्ग कालोपत्रे हुनुले उद्योग तथा बजार विकासको मार्ग खोलेको छ । हुलाकी राजमार्गसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मधेसका सबै सदरमुकामलाई स्तरोन्नति गर्ने गरी योजना ल्याएकोको थियो । 

उद्योग वाणिज्य सङ्घ नवलपरासीका अध्यक्ष केशव भण्डारीले सदरमुकाम विकास कार्यक्रमले पनि हुलाकी राजमार्ग एक जिल्लाको सदरमुकामदेखि अर्को जिल्लाको सदरमुकाम जोड्ने हुलाकी मार्गको निर्माण पनि प्राथमिकतामा दिएर काम भएसँगै हुलाकी मार्ग वरिपरि बजार विकासले गति लिएको बताउनुभयो ।  

“अहिले पूर्व पश्चिम राजमार्गभन्दा बढी उद्योगी व्यवसायीको प्राथमिकतामा हुलाकी मार्ग पर्न थालेको छ ।”, उहाँले भन्नुभयो, “रामग्राम नगरपालिका भित्रै हुलाकी मार्ग वरिपरि दर्जनौँ उद्योग स्थापना भएका छन् । मार्गकै कारण पेप्सी जस्ता बहुराष्ट्रिय कम्पनी पनि खुलेका छन् ।” 

अहिले रामग्राम नगरपालिका भित्र अघोषित रूपमा औद्योगिक ग्राम नै बनिसकेको उहाँले बताउनुभयो ।  “पहिलो चरणमा हुलाकी मार्गलाई नै कायम गर्ने गरी भैरहवा भुमही मार्गको निर्माण भयो” उहाँले भन्नुभयो, “त्यसले यो मार्ग उद्योगी व्यवसायीका लागि स्वर्मिणम क्षेत्रको रूप लिएको छ ।” 

सदरमुकाम परासीदेखि त्रिवेणीसम्मको हुलाकी मार्ग पनि कालोपत्रे हुन सुरु भएसँगै सो क्षेत्रमा पनि अहिले आरती एग्रो कम्पनी, मारुती फुडपार्क लगायतका दर्जनौँ उद्योग खुलेको उहाँले बताउनुभयो  ।

उद्योग वाणिज्य सङ्घ नवलपरासीका पूर्व उपाध्यक्ष राधेश्याम अग्रहरीले उद्योगसँगै हुलाकी मार्गकै वरिपरि नयाँ नयाँ बजारहरू खुल्न थालेको बताउनुभयो । 

“हुलाकी मार्गले बजारको अवसर खोलेको छ । यसले जिल्लाकै जीवन स्तर उकास्ने छ ।” उहाँले भन्नुभयो, “हुलाकी मार्गले उद्योग खुल्नमा अवसर सिर्जना गरेको छ, उद्योगले बजार बढाएको छ, बजारमा किसानका उत्पादन पुग्न थालेको छ । यसले स्वरोजगार र रोजगारीको अवस्था पनि सिर्जना भएको छ ।” 

उहाँका अनुसार हुलाकी मार्गमै जिल्लाभित्र हकुई, सुक्रौली, नदवा, मन्झरिया, बैकुण्ठापुर, पटखौली, मनरी, भिमटाडीलगायत दर्जन स्थानमा नयाँ बजार विकास भएको छ, भने हुलाकी मार्ग  निर्माण हुँदादेखि नै बजारले गति लिन नसकेको भटवलिया, जमुनिया, परासी बजारले पनि गति लिन लागेको छ ।

सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले हुलाकी मार्गले जिल्लाको सुस्ता, प्रतापपुर, सरावल गाउँपालिका र बर्दघाट र रामग्राम नगरपालिकामा बजार र उद्योग स्थापना हुने अवसर सिर्जना गरेको बताउनुभयो । 

पूर्व पश्चिम राजमार्गमा दक्षिण तर्फबाट मात्र नागरिकको पहुँच पुग्ने भए पनि हुलाकी मार्गले दक्षिण र उत्तर तर्फका पनि नागरिकको पहुँच पुर्‍याउने भएको छ । हुलाकी मार्ग पूर्व पश्चिम राजमार्गदेखि चुरेसम्मको भू–भागको बीच भागमा पर्ने हुँदा बजारले तत्कालै तीव्रता पाउने छ । 

पूर्वपश्चिम महेन्द्र राजमार्ग चुरेसँग जोडिएको हुँदा उत्तर तर्फबाट आवागमन थिएन तर हुलाकी मार्ग भारत सीमादेखि उत्तर र चुरेदेखि दक्षिणतर्फ रहेको हुँदा तराई मधेसको जनजीवन जोड्ने मार्गको रूपमा विकास भएको देखिन्छ ।

“ढिलो भए पनि हुलाकी मार्गको तराई मधेसको विकासमा ठुलो योगदान पुर्‍याउने छ”, अध्यक्ष चौधरीले भन्नुभयो, “अझै सरावल गाउँपालिका चुरेदेखि भारतीय सीमा जोड्ने दशगजासम्म फैलिएको हुँदा बीच भागमा पर्ने हुलाकी मार्ग मध्य भागमा नमुना बजार हुनेछ ।”

हुलाकी मार्गले स्थानीय निकायका बजारलाई विकास गराउनमा ठुलो योगदान पुर्‍याएको रामग्राम नगरपालिकाका इन्जिनियर सतिस गुप्ताले बताउनुभयो । 

उहाँले अन्य पालिकाभन्दा रामग्राम नगरपालिकामा धेरै भाग पर्ने हुँदा नगरपालिकाको सडक सञ्जाल बिस्तारमा योगदान पुर्‍याएको बताउनुभयो । 

“पहिला सदरमुकाम विकास कार्यक्रमकै बजेट हालेर पनि बनाउने योजना थियो, तर हुलाकी मार्ग बीच गर्ने टेण्डर भएपछि सो सडकमा खर्च हुने बजेटले रामग्राम स्तुपा क्षेत्रमा लगानी गर्न सकियो ।” उहाँले भन्नुभयो । 

नयाँ मार्गमा पुराना पुलले समस्या
​​​​​​​नयाँ मार्गमा पुरानो पुलले समस्या हुने देखिएको छ । हुलाकी मार्ग बलियो र गुणस्तर भए पनि सो मार्गमा अहिले पनि आधा दर्जन पुलहरू पुरानै भएका कारण हुलाकी मार्गमा बढ्ने सवारी साधनको चाप थेग्न समस्या देखिएको छ । 

इन्जिनियर गुप्ताका अनुसार अझै पनि हुलाकी मार्गमा पटखौली गाउँ पूर्वको पुल, भिमटाडीको पूर्वको पुल, पिपरा गाउँको पूर्वको पुल , श्रीनगर गाउँ उत्तरको पुल र बर्दघाट नगरपालिका भटवलिया बजार देखी पूर्वको पुल मार्ग अनुसार नै स्तरोन्नति गर्नुपर्ने आवश्यकता छ । यसमा सरकार र सरोकारवालाले ध्यान दिनुपर्छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ११ : ५६ बजे