‘एउटै नाउरको सिकार गर्न २३ लाख’

महिलावाद र समानता

नेकपा एमाले स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे प्रखर अधिकारीवादी, अथक अध्येता, भुईँ मान्छेहरूका विषयमा संवेदनशील, सङ्घर्षशील योद्धा हुनहुन्छ । गाउँ, वर्ग, श्रम, प्रवास, सङ्गठन, अन्तर्राष्ट्रिय अधिकारका क्षेत्र डा. बिन्दा पाण्डेको दृष्टिकोण पुगेका क्षेत्र हुन् । डा. पाण्डे पार्टी राजनीतिमा सक्रिय हुनहुन्छ र सँगै कलम चलाइरहनुहुन्छ । समतामुखी—समाजवादी महिलावादका विषयमा स्पष्ट हुनुहुन्छ र यस विषयमा स्पष्ट पार्न प्रयत्नशील हुनुहुन्छ । उहाँका कृतिहरूमा वर्ग बोलेको हुन्छ, आन्दोलन हुर्केको हुन्छ, भुईँ जगाइएको हुन्छ, क्रान्तिको ज्वाला दन्किरहेको हुन्छ । संविधान सभा र त्यसको विषयगत समितिको सभापति रहँदा होस् वा पार्टीको अन्य जिम्मेवारी निर्वाह गरिरहेको समयमा होस्, वहाँले लेख्न छोड्नु भएको छैन । यी सबै व्यस्तताका बीच वहाँका आधा दर्जन कृतिहरू बजारमा (पाठकका हातमा) पुगेका छन् । वहाँका सबै कृतिहरू सार्थक र उपयोगी छन् । 

अहिले वहाँको अत्यन्त महत्त्वपूर्ण पुस्तक प्रकाशित भएको छ । ‘धर्तीमाथिको दाबी ः अधिकारको लडाइँ’ पुस्तक सार्वजनिक भएको छ । ‘आधा आकाश थाम्ने’ भनिँदै आएका महिलाहरूका लागि ‘धर्तीमाथिको दाबी’ समानताका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण विषय हो, ‘धर्तीविनाको आकाश होइन, धर्तीसहितको आकाश खोज्नु’ समन्यायिक विषय हो । पुस्तकले भन्ने विषय सबै यहाँ बयान गर्नु वाञ्छनीय नहोला, तर समानता र अधिकारका विषयमा बोल्दै हिँड्नेहरूका लागि यो पुस्तक गतिलो—गहकिलो स्रोत हुनेछ । स्वतन्त्रता, अधिकार, राजनीति, नेतृत्वका कुरा गर्दै, भन्दै हिँड्नेहरूका लागि यी विषयभित्रको अर्को पाटो भेट्टाउन पुस्तकले सकारात्मक सहयोग पुर्‍याउने विषयमा कुनै दुबिधा रहनेछैन । स्वाभाविक छ— बोल्दै, गर्दै, लेख्दै गर्नेका विचार व्यावहारिक हुन्छ नै लेखक बिन्दा पाण्डे र वहाँका कृतिहरूका सम्बन्धमा यही कुरा लागू हुन्छ ।) 

पुस्तक सार्वजनिक कार्यक्रममा संविधान सभा सदस्य डा.लीला न्याइच्याईले प्रस्तुत गर्नुभएको विश्लेषणबाट पुस्तकको सन्दर्भ र महत्त्वका बारेमा थप स्पष्ट हुन सहयोग पुग्नेछ । वहाँको संक्षिप्त विश्लेषण यहाँ प्रस्तुत गरिएको छ ।

बिन्दाजीको निजी अनुभव र अनुभूतिलाई सार्वजनिक गरिएको यस पुस्तकको शीर्षक छनौट एकदम सटीक भएको छ । एक पुरुष माननीयजीले एक समय हाँसो गरेको कुरा थियो ‘महिलाहरू आधा आकाश हो, आधा धर्ती होइन । उनको यथार्थपरक अभिव्यक्ति थियो ।’ त्यसको गतिलो जवाफ लाग्यो, विन्दाजीको जीवन सङ्घर्षहरू । उहाँ हाँसो गर्नुहुने माननीयजीलाई यो पुस्तक आवश्यक उपहार हुनेछ । यो पुस्तक मेरा लागि पनि आवश्यक उपहार नै हो, जुन पाइसकेँ मैले । 

मैले पनि लेख्ने अनुभूतिहरू लेखकले लेखिसक्नु भयो । ‘तिमी महिलावादी नहुनू’ हाम्रा तर्कहरूका जवाफमा ‘तिमी महिलावादी भयौ’ आदि आदि मतर्फ लक्षित अभिव्यक्तिहरू हुन्थे । महिलावादलाई समाजवादी सिद्धान्तको विपरीत मान्नु नेपालको कम्युनिष्ट पार्टीका नेतृत्वकर्ताहरूको गल्ती हो । उहाँहरूले अध्ययनको दायरालाई बढाउनु हुन म आग्रह गर्छु ।  यस पुस्तकका लेखकले २०४१ सालमै महिलावादी नहुनु भन्ने आदेश मेरो पुस्ताका लागि २०६७ सालमा पनि त्यही तर्क दोहोरिनु विडम्बना नै हो । के राजनीतिक नेताहरूको चेतनाको विकास क्रम अवरुद्ध भएको थियो त ? या जानाजान चेतनाको ढोका बन्द गरिएको हो ? शङ्काकै विषय हो । मैले उत्तर दिनु प¥यो भने म दोस्रो अवस्था देख्छु ।  वास्तवमा भन्ने हो भने हरेक समानतावादी सोच महिलावादलाई नबोकी पूर्ण हुन्न । पृष्ठ ११६ तेस्रो अनुच्छेदमा लेखकको पनि यही निचोड छ । म उहाँको निचोडसँग सहमत छु । 

यो पुस्तकको मुख्य सार नै महिला समानताको लडाइँको इतिहास हो । बिन्दा जी यसको अटुट कार्यकर्ता हुनुहुन्छ । २०४१ सालमा महिलावादी नहुनु भन्ने निर्देशनलाई नाघेर  २०५४ सालमा ‘म महिलावादी हुँ’ भन्ने अवस्था सम्मको परिपक्वता हासिल गर्नु उहाँको अटुट कोशसहरूकै परिणाम मान्छु । अझ माझिएको कुरा त के छ भने उहाँले हरेक महिला राजनीतिकर्मी, कार्यकर्ता, श्रमिकहरू, सामाजिक संघर्षकर्मीहरूको नाम पनि उल्लेख गर्नुभएको छ, जसमा विभिन्न समुदायका महिलाहरू र विविध राजनीतिक दलका महिला पनि पर्नु हुन्छ । ती व्यक्तिहरूले इतिहास रचे तर इतिहास लेख्नेले याद नगरेका नामहरू हुन् ।  नेपालमा ज्ञान उत्पादन क्षेत्र एक अर्को पक्षपाती राजनीति हो । यस पुस्तकले त्यो अभावलाई पुर्ने काम गरेको छ । नेपालको सामाजिक र राजनीतिक आन्दोलनमा महिलाहरूको भूमिका विश्लेषण गर्नेका लागि यो एक भरपर्दो सन्दर्भ सामग्री र डाटा स्रोत पनि हुनेछ । 

नेपाली समाजका बेथिति बग्रेल्ती
​​​​​​​लेखकले आफ्नै घरका सन्दर्भहरू कोट्याउनु भएको छ । यो ठुलो आँट हो । एक औँला अरूतिर सोझ्याउँदा चार औँला आफैतिर पनि सोझिन्छ भन्ने कुरालाई पुस्तक लेखनका क्रममा एकदम मनन गर्नु भएको छ । यो पाटो एकदम रोचक र सन्तुलित प्रस्तुति छ । उहाँ एक जिम्मेवार परिवर्तनकामी छोरी भएको प्रमाण नै मान्न सकिन्छ, यो पुस्तकका अंशहरूलाई । अझ खतरनाक कुरा त महिलामाथि भएका विभेद र अन्यायको बहिखाता बताउँदै जाँदा आफ्नै पार्टी विरुद्धको दस्ताबेज पनि बनाउनु भएको छ । पृष्ठ ७७ मा भन्नुहुन्छ, सिङ्गो नेतृत्व नै अझै संवेदनशील छैन….. । गलतलाई गलत भन्ने खतरा मोल्नु विन्दाजीको स्वभावजन्य आँटको कुरा हो । पार्टीभित्र उहाँले खन्नु भएका जग बलियो नै भएको हुनु पर्दछ, अन्यथा त्यहाँ टिकिरहने अवस्था म देख्दिनँ । तर उहाँको स्वभावले अर्को सङ्केत गर्दछ— असहजतामा रुमलिनुभन्दा बिदा लिनु राम्रो पृष्ठ १०८ ।

नेपाली समाजमा रहेका धेरै थरी समुदायहरूमा थरथरीका मान्यता र चलनहरू छन् । ती जति थरीका भए तापनि महिलालाई तल्लो दर्जाको हौ भन्ने दर्शनबाट नै प्रेरित देखिन्छ । त्यस्ता चलनहरूमध्ये केहीका विरुद्ध आन्दोलन पनि छेडेको छ । यो आशाप्रद पाटो हो । छाउ गोठ, आत्महत्या, दाइजो, पार्टीभित्रको चलन, महिला राजनीतिकर्मी प्रतिको असहिष्णु व्यवहार, समान नागरिकता अधिकार, सम्पत्तिमाथिको अधिकार आदि, इत्यादि ।  यी हरेक आयामहरूमा बिन्दा जी लगायत अग्रणी महिलाहरूको सङ्घर्षले नयाँ पुस्तालाई सहज बनाइदिएको सत्य हो । त्यति मात्र होइन, हाम्रा बुझाइहरूमा समेत आलोचनात्मक चेतका लागि खुराक दिएको छ । यस्तै सङ्घर्षहरूका परिणाम हुनु पर्दछ २०७४ को निर्वाचन आयोगको तथ्याङ्कमा कूल जनप्रतिनिधि सङ्ख्यामा ४१.१ प्रतिशत महिलाहरू समाहित भएका, पुस्तकमा पृष्ठ ३०५ मा लेखिएको छ । यो एक उपलब्धिकै नमुना मान्न सकिन्छ । यद्यपि, महत्त्वपूर्ण निर्णायक पदहरूमा महिलाहरूको पहुँच र भूमिकामा अहिले पनि सन्तुष्टि मान्ने अवस्था छैन । पहिलो महिला राष्ट्रपति, सभामुख, न्यायाधीशले तृप्त हुने कुरा होइन । निरन्तर रूपमा त्यस्ता पदहरूमा नेपाली महिलाको पहुँच र भूमिका आवश्यक कुरा हो । सो कुरामा लेखकले जोड दिनु भएको छ ।

त्यस्तै, संसदभित्र महिला जनप्रतिनिधिहरूले गरेका कामहरूको तथ्याङ्कगत प्रस्तुतिबाट महिला जनप्रतिनिधिहरूमाथि उठाइएका प्रश्नको गतिलो जवाफ दिनु भएको छ । एक अर्को महत्त्वपूर्ण मुद्दाको उठान यसमा गरिएको छ । महिला जनप्रतिनिधिहरूको कमजोर भूमिकामा सवाल उठाइने गरेको छ, तर उनीहरूको गुणस्तर बढाउन चालिनुपर्ने तयारीहरूमा निष्क्रिय र मौन भएको अवस्था छ । धेरै सङ्ख्यामा उपस्थिति हुँदा विभिन्न किसिमका र स्तरका पनि आउने भए । तर निर्वाचित भइसकेपछि र विभिन्न पदमा भर्ना भइसकेपछि पनि कार्यक्षेत्रमा भूमिका राम्रो बनाउन सम्बन्धित पार्टी या संस्थाबाट तयारी गतिविधिहरूको अभाव एकदम छ । त्यसतर्फ लेखकले पुस्तकमा औँल्याउनुभएको छ । 

संविधान सभा र संसद् भित्रका गतिविधि
पहिलो संविधान सभामा उहाँ मौलिक हक—अधिकार तथा निर्देशित सिद्धान्त समितिका अध्यक्ष र म सदस्य थिएँ । एउटा फरक मत दर्ज गर्ने सदस्य म । ती फरक मत नेपाली नागरिकका लागि असमानता थिएन तर विदेशी महिलाका लागि असमान थियो । नेपालको राजनीतिक इतिहास  र वर्तमान केलाउने हो भने पनि नेपाली महिलाभन्दा विवाह गरी नेपाली बनेका महिलाहरूको क्षमता र पहुँच द्रुत तवरले विकास हुने गरेको पाउँछौँ, त्यसो त बहुसङ्ख्यक महिलाका लागि भन्दा पनि निश्चित तप्कामा रहेका परिवारलाई यस्तो सुविधा मिलेको छ । तर त्यही निश्चित परिवारका महिलाहरू नै बढी प्रभुत्व फैलाउन सक्षम छन् । त्यो संविधान निर्माणका कसरतहरूको बेलिबिस्तार पनि पठनीय कुरा हो यसमा । 

विन्दाजीको अध्यक्षता शैली र विविध विज्ञहरू मार्फत विषयवस्तुमा स्पष्टता दिने प्रयासहरू राम्रो लाग्छ मलाई । 

संसद्मा सार्वजनिक महत्त्वका प्रस्ताव दर्ताका क्रममा भएका रस्सा कस्सीहरूको नालीबेलीबारे लेख्नु भएको छ । म जस्ता कति सांसद थिए जसले आफ्नो अधिकारको विस्तृत प्रयोग गर्न पाएनन् वा गर्न जानेनन् । यसको लागि यो प्रस्तुत अनुभव एक मार्गदर्शक साबित हुनेछ । सांसदहरूलाई केवल भोट सङ्ख्याका रूपमा मात्र बुझ्ने र त्यसरी नै व्यवहार गर्ने गर्दा यसको गरिमाको खास अर्थ दिँदैन ।  प्रत्येक निर्वाचित सांसदहरूले यसबारे हेक्का राख्नु अत्यन्त जरुरी छ । 

यस प्रकार हरेक पल, हरेक पाटो र हरेक तहमा सङ्घर्ष नै जीवन हो भन्ने कुरालाई आफ्नै अनुभवहरूका किस्साहरूबाट लेखकले पुष्टि गर्नु भएको छ । जीवनको अर्थ आफैले निर्माण गर्ने व्यक्तित्व नै बिन्दा जी हुनुहुन्छ ।

कसैले उहाँको कुरा लेखिदेला भनेर भर नपरीकन आफैले आफ्नो कुरा भन्ने र अरू बिर्सिएका महिला राजनीतिकर्मीहरूका कुरा पनि उल्लेख गरिएको छ । जस जसका कुराहरू यसमा उल्लेख भए, उहाँहरूलाई पनि आ-आफ्नो यथार्थ खोल्ने आग्रह पुस्तकका लेखकले गरेको बुझिन्छ । अरू समय खण्डमा नेपाली पाठकहरूलाई त्यो अवसर पनि मिल्ला । 

पुस्तकका लेखक नलेखिने इतिहासका रचयिता मान्न सकिएला । एक दिन बसको सिटमा बसेर यो पुस्तकका पानाहरू पढिरहँदा एक अर्को यात्रीले मलाई सोधे ‘तपाई उपन्यास पढ्दै हो ?’ मैले ‘होइन’ भनेँ । अनि पुस्तकको शीर्षक पढे र भने ‘यो त उपन्यास नै हुन पर्ने ।’ किन हो कुन्नि, उनलाई यो यथार्थ कुरा होला भन्ने लागेन । तर यो काल्पनिक उपन्यास होइन, एक वास्तविक जीवनले देखेका र भोगेका आधा धर्तीका लडाइँका योद्धाको नालीबेली हो, जुन म लगायत सबै समानता प्रेमीहरूका लागि खुराक हो ।  

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ९ : ४२ बजे